काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । अध्यक्ष पदपूर्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनामध्येबाट ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको हो ।
बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाले आवेदन दिएका थिए । सिफारिस समितिले फागुन ४ गते आवेदकमध्येहरूबाट ५ जनाको नाम सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा परेका आवेदकमध्ये कमलप्रसाद रेग्मी र चिरञ्जीवी चापागाईं अन्तिम ३ को सूचीमा अटाउन सकेनन् ।
सर्टलिस्टमा परेका ५ जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि गत फागुन १० गते बोलाइएको थियो । सोही आधारमा शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम अन्तिम चरणको छनोटका लागि सिफारिस भएको हो ।
मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्दै छ । यही बैठकले यी ३ मध्ये १ जनालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सक्ने सम्भावना छ ।
FACEBOOK COMMENTS