काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तिखो बहसपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री कीर स्टार्मरसँग भेट गरेका छन् । बेलायती प्रधानमन्त्रीले जेलेन्स्कीलाई आत्मीय रूपमा अँगालो हालेर स्वागत गरे । स्टार्मरले जेलेन्स्कीलाई भने, ‘पूरा बेलायत तपाईँको साथमा छ । हाम्रो देश आज र सधैँ युक्रेनको समर्थनमा रहनेछ ।’
युक्रेनले २.८४ अर्ब डलर ऋण पाउने
यसैबीच, युक्रेन र बेलायतबीच २.२६ अर्ब पाउण्ड (२.८४ अर्ब डलर) ऋण सम्झौतामा सहमति भएको छ । बेलायतकी चान्सलर रेचेल रीभ्स र युक्रेनका अर्थमन्त्री सर्जियो मार्चेन्कोले उक्त सम्झौतामा हस्ताक्षर गरे । ऋणको पहिलो किस्ता अर्को हप्तासम्म युक्रेनलाई प्राप्त हुने अपेक्षा गरिएको छ ।
युक्रेनप्रति समर्थन दोहोर्याउन पाउनु सम्मानको कुरा : स्टार्मर
बेलायती प्रधानमन्त्री स्टार्मरले डाउनिङ स्ट्रीटमा जेलेन्स्कीलाई स्वागत गर्नु र युक्रेनप्रति आफ्नो अटल समर्थनलाई दोहोर्याउन पाउनु आफ्नो लागि सम्मानको कुरा भएको बताए ।
उनले रूसको अवैध युद्ध अन्त्य गर्न र युक्रेनको भविष्यको सार्वभौमिकता तथा सुरक्षा सुनिश्चित गर्न न्यायसङ्गत र स्थायी शान्ति स्थापना गर्ने मार्ग खोज्न आफू दृढ सङ्ककल्पित रहेको बताए ।
महत्त्वपूर्ण र आत्मीय छलफल भयो : जेलेन्स्की
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलायती प्रधानमन्त्री स्टार्मरसँग ‘महत्त्वपूर्ण र आत्मीय’ छलफल भएको बताए ।
युक्रेन र सम्पूर्ण युरोपले सामना गरिरहेका चुनौतीहरू, साझेदार राष्ट्रहरूसँग समन्वय, युक्रेनको स्थिति मजबुत बनाउनका लागि ठोस कदम चाल्ने र युद्धलाई न्यायपूर्ण तरिकाले अन्त्य गर्न विश्वसनीय सुरक्षा प्रत्याभूति सुनिश्चित गर्ने विषयमा गहन छलफल भएको उनले उल्लेख गरे ।
समर्थकले गरे जेलेन्स्कीलाई स्वागत
लण्डन पुगेपछि समर्थकहरूको भीडले नाराबाजी गर्दै जेलेन्स्कीलाई स्वागत गरे । स्टार्मरले भने, ‘मलाई लाग्छ तपाईँले सडकमा केही नारा सुन्नुभएको हुन सक्छ ।’
उनले अगाडि भने, ‘युनाइटेड अधिराज्यका नागरिकहरू तपाईँलाई कति समर्थन गर्छन् भन्ने देखाउन सडकमा आएका छन् । हामी तपाईँको साथमा छौँ । जबसम्म सम्भव छ, हामी तपाईँ युक्रेनको समर्थनमा उभिरहनेछौँ ।’
ट्रम्प र जेलेन्स्कीसँग म्याक्रोनले गरे कुराकानी
लण्डन शिखर सम्मेलनअघि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले जेलेन्स्की र ट्रम्पसँग कुराकानी गरेका छन् । उनले सबैलाई शान्त रहन आवश्यक रहेको बताए ।
म्याक्रोनले जेलेन्स्कीले आफूलाई उनी अमेरिकासँग पुनः वार्ता गर्न तयार रहेको बताएको जानकारी गराए ।
उनले बेलायती प्रधानमन्त्री कीर स्टार्मर, युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र नाटो प्रमुख मार्क रूटेसँग पनि कुराकानी गरेका छन् ।
FACEBOOK COMMENTS