काठमाडौँ । यस्तो लाग्छ कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेलायती सेनाप्रति बढी नै भरोसा छ । बेलायती सेनाका अधिकारीहरू वा पूर्वसैन्य अधिकारीहरू आफैँले पनि यति धेरै भरोसा गरेका छैनन् होला ।
डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री कीर स्टार्मरसँग संयुक्त पत्रकार सम्मेलन गर्दै गर्दा युक्रेनको सुरक्षामा अमेरिकाको ग्यारेन्टीसम्बन्धी प्रश्न उठाइयो ।
जसको जवाफमा उनले भने, ‘बेलायतसँग सक्षम सैनिकहरू छन् र अद्भुत सेना छ, उनीहरू आफ्नो सुरक्षा आफैँ गर्न सक्छन् ।’
तर, जब ‘के बेलायती सेना रूसको सामना गर्न तयार छ ?’ भन्ने प्रश्न सोधियो, उनले कुनै जवाफ दिएनन् ।
सार्वजनिक स्थानहरूमा अमेरिकी वरिष्ठ सैन्य अधिकारीहरू बेलायती सेनाको प्रशंसा गर्छन् । तर, निजी कुराकानीमा भने उनीहरू आलोचना गर्छन्, विशेषगरी तब जब कटौतीपछि बेलायती सेनामा मात्र ७० हजार नियमित सैनिक छन् ।
बेलायत भ्रमणका क्रममा एक वरिष्ठ सैन्य अधिकारीले निजी वार्तामा भने, ‘यो सङ्ख्या धेरै कम हो ।’
इन्टरनेशनल इन्स्टिट्युट अफ स्ट्राटेजिक स्टडिजका अनुसार रूसको सैन्य बजेट सम्पूर्ण युरोपको रक्षा खर्चभन्दा बढी छ । यसमा ४१ प्रतिशतको वद्धि भएको छ र यो पूरा जीडीपीको ६.७ प्रतिशत हो ।
तर, बेलायतले सन् २०२७ सम्म आफ्नो जीडीपीको केवल २.५ प्रतिशत मात्र सेनामा खर्च गर्नेछ ।
के अमेरिकाबिना सामना गर्न सक्छ बेलायत ?
ट्रम्पको भनाइले यो सन्देश दिन्छ कि उनी युक्रेनमा युद्धविरामका लागि अमेरिकी सेना परिचालन गर्ने पक्षमा छैनन् । अमेरिका आर्थिक कारणहरूले मात्र सामेल हुनेछ र तिनमा खनिज स्रोत जोडिएको हुनेछ ।
यो कदमले रूसलाई पुनः आक्रमण गर्नबाट रोक्ने उनको तर्क छ । तर, ट्रम्प प्रशासनकै केही अधिकारीहरूका अनुसार त्यहाँ बलियो शक्ति आवश्यक छ, जसले अर्को व्यवस्था गरोस् ।
र, यस्तो युरोपेली देशहरूले गर्नुपर्ने छ । तर प्रश्न युरोपले यो गर्ने वा नगर्ने भन्ने होइन, प्रश्न यो हो- के युरोपसँग त्यस्तो गर्न सक्ने क्षमता छ ? यसको जवाफ हो- छैन ।
त्यसैले कीर स्टार्मरले अतिरिक्त सुरक्षा प्रत्याभूतिका लागि संसारकै शक्तिशाली अमेरिकी सेनाको प्रशंसा गरे ।
बेलायत मात्रै एक्लो देश होइन जसले शीतयुद्ध समाप्तिपछि आफ्नो सैन्य शक्ति कटौती गर्यो । तर, अहिले युरोपका अन्य देशहरूमा यो प्रवृत्ति परिवर्तन हुँदै छ । केही देशहरू आफ्नो सैन्य खर्च बढाउँदै छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसलाई आक्रमण गर्नबाट रोक्नका लागि एक देखि दुई लाख अन्तर्राष्ट्रिय सैनिक आवश्यक पर्ने बताएका छन् । तर, युरोप आफ्नै दममा यति धेरै सैनिक उपलब्ध गराउन सक्षम छैन ।
पश्चिमा देशका अधिकारीहरू ३० हजार सैनिक पठाउने विषयमा विचार गरिरहेका छन् । युरोपका लडाकु विमान (फाइटर जेट) र युद्धपोतहरूले युक्रेनको हवाई क्षेत्र (एअर स्पेस) र समुद्री मार्गको निगरानी गर्नेछन् ।
यस सेनाको मुख्य लक्ष्य युक्रेनी शहरहरू, बन्दरगाह (पोर्ट) र परमाणु ऊर्जा केन्द्रहरूको सुरक्षा गर्ने हुनेछ । यी सैनिकहरू पूर्वी युक्रेनमा मोर्चामा तैनाथ हुने छैनन् ।
युरोपका लडाकु विमान र युद्धपोतले युक्रेनको हवाई तथा समुद्री मार्गको निगरानी गर्नेछन् । तर, पश्चिमा अधिकारीहरू यो पर्याप्त नरहेको बताउँछन् । त्यसैले उनीहरू अमेरिकासँग थप सहयोगको माग गरिरहेका छन् ।
कम्तीमा युुरोपियन फोर्सको मद्दतका लागि अमेरिकी लडाकु विमानहरू (एअर जेट्स) पोल्याण्ड र रोमानियामा तैनाथ गरिनु पर्ने अधिकारीहरूको मत छ, ताकि आवश्यक पर्दा जवाफी कारबाही गर्न सकियोस् ।
युरोप अमेरिकाको निगरानी र खुफिया जानकारी जुटाउने क्षमतासँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले युक्रेनलाई थप हतियार आपूर्ति गर्न पनि अमेरिका तयार हुन सक्छ ।
युरोपेली देशहरूसँग ठूलो सैन्य अभियान सञ्चालन गर्ने क्षमता छैन
अमेरिकाले युक्रेनलाई दिएका हतियारहरूभन्दा हालसालै युरोपले केही बढी हतियार दिएको छ । तर, अमेरिकाले युक्रेनलाई लामो दूरीसम्म मात दिने मिसाइल र हवाई रक्षा प्रणाली (एअर डिफेन्स सिस्टम) उपलब्ध गराएको बताइन्छ ।
युरोपेली देशहरूसँग आफ्नै दममा ठूलो सैन्य अभियान चलाउने क्षमता छैन । उनीहरूका हतियार आपूर्तिसमेत अमेरिकामा निर्भर छ ।
सन् २०११ मा नेटोले लिबियामा गरेको बमबारी अभियानले युरोपेली देशहरूका थुप्रै कमजोरीहरू उजागर गरिदिएको थियो ।
युरोपेली देशहरूको नेतृत्वका बाबजुद उनीहरू अमेरिकी सहयोगमा निर्भर रहनुपर्यो । यी देशहरू अमेरिकी ट्याङ्कर विमानहरूको भरमा थिए ।
तर, स्टार्मर कुनै सैन्य ग्यारेन्टीबिना नै अमेरिकाबाट फर्किए ।
बेलायतका स्वास्थ्यमन्त्री वेस भन्छन्, ‘ट्रम्प नेटोको आर्टिकल ५ मा प्रतिबद्ध छन्, जसअनुसार कुनै सदस्यमाथि भएको आक्रमणलाई सबै सदस्यमाथिको आक्रमण मानिन्छ ।’
तर, अमेरिकी रक्षामन्त्री पीट हेगसेले यसअघि नै स्पष्ट गरिसकेका छन् कि युक्रेनमा पठाइने कुनै पनि सैन्य टुकडी नेटो सन्धिअन्तर्गत हुनेछैन, न त नेटो जस्तो सुरक्षा ग्यारेन्टी दिइनेछ ।
यस्तोमा अब युरोपको शक्ति परीक्षण हुनेछ । साथै हेर्न बाँकी छ कि कीर स्टार्मर ट्रम्पका शब्दहरूलाई आधार बनाएर अरू देशहरूलाई आफ्नो पक्षमा ल्याउन सफल हुन्छन् वा हुँदैनन् ।
स्टार्मरलाई अहिले पनि आशा छ कि अमेरिकाले युरोपेली सेनालाई साथ दिनेछ ।
तर, प्रश्न फेरि पनि यही छ- के बेलायती सेना रूसको सामना गर्न सक्छ ?
भलै रूसको सेना कमजोर भएको छ, तर पनि यसको जवाफ ‘छैन’ नै हो ।
-बीबीसी हिन्दीबाट अनूदित
FACEBOOK COMMENTS