काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा ११ जना सदस्यसहितको वीमेन्स फोरमको गठन गर्यो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरु माथि छलफल गर्ने र समस्याहरू देखिएमा समाधान प्रदान गर्न आवश्यक भूमिका खेल्ने उद्देश्यले यो फोरम गठन गरिएको हो ।
यस फोरमले आज (फागुन २३ गते) कम्पनीको प्रधान कार्यालय, थापाथलीमा, हरेक वर्ष मार्च ८ गतेका दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी ‘रचनात्मक साहित्यिक प्रतियोगिता’ तथा अतिथि वक्ता दीपा दाहाल (उपकार्यकारी निर्देशक, नेपाल धितोपत्र बोर्ड) को सत्र राखी कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमकी अतिथि वक्ता दीपा दाहालले वित्तीय उद्योगमा महिलाहरूको भूमिकाको बारेमा आफ्नो अनुभव साझा गर्दै उनीहरूको योगदान, चुनौतीहरू र अगाडिको बाटोमा प्रकाश पारिन् । उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाइनमार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई केही तथ्याङ्कहरूमा प्रकाश पारी महिला सशक्तीकरणका लागि महिला आफैँले नै पहल गर्नुपर्ने र पुरुषले पनि साथ दिनुपर्ने कुरामा जोड दिई महिला सशक्तीकरणको लागि प्रोत्साहनसमेत गरिन् ।
सिटिजन विमेन्स फोरमले नारी दिवसको अवसरमा कम्पनीका सम्पूर्ण कर्मचारीहरूबीच रचनात्मक साहित्यिक प्रतियोगिता पनि आयोजना गरेको थियो । सो प्रतियोगितामा प्रतिस्पर्धा जनाएका सम्पूर्ण कर्मचारीहरूमध्येबाट उत्कृष्ट ५ जनालाई कार्यक्रममा आफ्नो रचना प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो । प्रस्तुतिपश्चात चुनिएका पहिलो, दोस्रो र तेस्रो कर्मचारीहरूलाई कम्पनीको व्यवस्थापन टिमले पुरस्कृत गरे ।
फोरमकी संयोजक रिता पाठकले आचारसंहिता तयार गरी महिलाहरूको भूमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउँदै फोरमले आउने समयहरुमा यस्तै शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वको अनुरुप विभिन्न कार्यहरु गर्ने भविष्यको सोच रहेको बताइन् ।
कार्यक्रममा कम्पनीका प्रमूख कार्यकारी अधिकृत पोषकराज पौडेलले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्रथमिकता रहेको जनांउदैं कार्यक्रम समापन भएको घोषणा गरे ।
यस वीमेन्स फोरमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई सशक्तीकरण गर्नुका साथै महिलालगायत सबैका लागि उत्कृष्ट कार्यस्थल र वातावरण बनाउन समान्वय गर्ने र सोको सहजतका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरी मद्दत गर्ने र कार्यालयमा लैङ्गिक सम्मानता कायम राख्न समान्वय गर्नु हो ।
FACEBOOK COMMENTS