क्वारेन्टाइनमा बस्नेको चाप र खर्च थेग्न नसक्ने अवस्था भएपछि स्थानीय तहहरूले कोरोनाको लक्षण नदेखिएकालाई परीक्षण नगरी धमाधम घर पठाइरहेका छन् ।
धनगढी — भारतबाट फर्किनेको संख्या अत्यधिक रहेको सुदूरपश्चिममा कोरोना परीक्षणको गति भने झन् सुस्त बनेको छ । यसले कोरोना पुष्टि भएका, स्वाब संकलन भएर रिपोर्ट पर्खिरहेका र परीक्षण हुन नसकेकाहरू एउटै क्वारेन्टाइनमा बसिरहँदा संक्रमणको अवस्था भयावह हुने जोखिम बढेको छ ।
लकडाउनयता मात्रै भारतबाट डेढ लाख फर्किए । अझै आउने क्रम जारी छ । तीन महिनामा (सोमबारसम्म) प्रदेशभर १७ हजार ६ सय ११ जनाको स्वाबको नमुना संकलन गरिएकामा ११ हजार ५ जनाको परीक्षण रिपोर्ट आएको छ । जसमध्ये १ हजार १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्यको रिपोर्ट आउन बाँकी छ ।
पछिल्लो चरणमा क्वारेन्टाइनमा बस्नेको चाप र खर्च थेग्न नसक्ने अवस्था भएपछि स्थानीय तहहरूले कोरोनाको लक्षण नदेखिएकालाई परीक्षण नगरी धमाधम घर पठाइरहेका छन् । यसले क्वारेन्टाइनमा रहेकाको संख्या घटे पनि समुदायमा जोखिम बढाएको छ । गत सातासम्म प्रदेशमा ६० हजारभन्दा बढी क्वारेन्टाइनमा रहेकामा सोमबार उक्त संख्या घटेर २९ हजार ९ सय २८ पुगेको छ । क्वारेन्टाइनमा दुई साता बढी बिताएकाको पनि परीक्षण हुन सकेको छैन ।
१२ सयभन्दा बढीको परीक्षण बाँकी
डडेलधुरामा क्वारेन्टाइनमा बसेका १२ सय जनाभन्दा बढीको परीक्षण हुन बाँकी छ । परीक्षण किट नहुँदा स्वाब संकलनको काम कहिलेकाहीँ मात्र हुने गरेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन हरिप्रसाद भट्टले बताए ।
भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकामध्ये धेरैजसोलाई आरडीटी र पीसीआर परीक्षणबिनै घर फर्काइयो । क्वारेन्टाइन अवधि पूरा गरी परीक्षण नभई घर फर्किनेको संख्या जिल्लाभरिमा ६ सयभन्दा बढी छ । फोकल पर्सन भट्टका अनुसार अहिलेसम्म ३ हजार २ सयभन्दा बढीको परीक्षण भएको छ । तीमध्ये १ सय ८१ जनामा संक्रमण देखिएको छ । जिल्लामा पहिलो संक्रमण देखिएका परशुराम नगरपालिका–८ का युवक निको भएर घर फर्किसकेका छन् । संक्रमण पुष्टि भएका अधिकांश अहिले पनि विभिन्न विद्यालयमा बनाइएका क्वारेन्टाइनमै छन् । केहीलाई होम क्वारेन्टाइनमा पठाइएको छ ।
घर पुगेपछि कोरोना पुष्टि, स्थानीय त्रासमा
स्वाब संकलन गरेको १० दिनसम्म पनि रिपोर्ट नआएपछि डोटीको शिखर नगरपालिका–३ का १४ जना जेठ ३० मा क्वारेन्टाइनबाट घर पठाइए । घर गएको तेस्रो दिन उनीहरूमा कोरोना पुष्टि भएको खबरले गाउँमा त्रास कायमै छ ।
किट अभाव देखाउँदै संक्रमण पुष्टि भएको चौथो दिन मात्र स्वास्थ्य कार्यालयले उनीहरूका सम्पर्कमा आएका एक जनाको मात्र स्वाब संकलन गर्यो । उनीहरूसँग सम्पर्कमा आएका झन्डै ३ सय परिवार साता दिनदेखि त्रासमा छन् । यस्तो त्रास डोटीका स्थानीय तहपिच्छे छ । ‘सबैको परीक्षण गर्नु त कल्पनाकै कुरा भइसक्यो,’ केआईसिंह गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले भने, ‘नमुना लिएकाको मात्र पनि नतिजा समयमै आइदिए राहत हुने थियो ।’
धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालाले परीक्षण नै ढिलो गरिदिँदा स्थानीयमा असन्तुष्टि बढ्दै गएको शिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिश शाह बताउँछन् ।
भारतका विभिन्न क्षेत्रबाट चैतयता मात्र डोटीमा १३ हजार ७ सय ७५ जना आएको स्वास्थ्य कार्यालयको तथ्यांक छ । जसमध्ये १ हजार ९ सय ९१ जनाको मात्र स्वाब परीक्षण भएको छ । बाँकी परीक्षणबिनै क्वारेन्टाइन र समुदायमा जोखिमसाथ बसेका छन् ।
डोटीमा मंगलबारसम्म १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब संकलन भएका १ हजार ४ जनाको रिपोर्ट मंगलबारसम्म नआएको स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासीले बताए । आइतबारसम्म १४ दिनभन्दा बढी क्वारेन्टानमा बसेका ११ हजार ४ सय २१ जनाको आरडीटी गरिएकामा १ हजार २ सय २५ जनामा पोजिटिभ देखिएको छ ।
व्यापारीबाटै बजार सिल
बजारमा उपभोक्ताको चहलपहलले संक्रमणको जोखिम बढेपछि दिपायल सिलगढी नगरपालिका–४ स्थित पिपल्ला बजार व्यापारी आफैंले सिल गरेका छन् । उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सको अगुवाइमा सोमबारबाट पिपल्ला बजार सिल गरिएको हो । उनीहरूले स्थानीय धनबहादुर शाहीको संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेका छन् ।
अत्यावश्यक सामग्री आवश्यक परेमा सोही समितिले सहजीकरण गरी उपलब्ध गराउने गरी सहमति भएको वडाध्यक्ष वीरेन्द्र शाहले बताए ।
स्वास्थ्य कार्यालय नै अलमलमा
कञ्चनपुरमा हालसम्म १ हजार ८ सय १० जनाको मात्रै स्वाब संकलन भएको छ । जसमध्ये १ हजार २ सयको मात्रै रिपोर्ट आएको छ । क्वारेन्टाइनमा बस्ने र घर जानेको संख्या १३ हजार बढी छ । कहिले भीटीएम अभाव र समयमा रिपोर्ट नआउने समस्याका कारण स्वाब संकलन नै हुन नसकेको हो ।
‘अहिले पनि ६ सय जनाभन्दा धेरैको रिपोर्ट आउन बाँकी छ, १५/२० दिनदेखि रिपोर्ट पर्खिरहेका छौं,’ स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले भने, ‘आरडीटी पोजिटिभ देखिएकाको समेत स्वाब संकलन गर्न सकेका छैनौं ।’ उनका अनुसार कञ्चनपुरमा १५ हजार ६ सय ११ जनाको आरडीटी परीक्षण गर्दा ९ सय ८ जनामा पोजिटिभ देखिएको छ । उनीहरूलाई २२ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणबिनै घर पठाउनुपरेको उनले बताए ।
धनगढीस्थित प्रादेशिक प्रयोगशालाबाट रिपोर्ट समयमै नआउंँदा क्वारेन्टाइनमा बसेकामा मानसिक तनाव पनि बढेको छ । ४५/५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएपछि निकै ढिलो गरी १ जनाको रिपोर्ट पोजिटिभ आउने र अरूको रिपोर्ट नआउँदा तनाव बढ्ने गरेको उनले सुनाए । ‘कम्तीमा सँगै संकलन गरिएका स्वाबको रिपोर्ट एकैपटक आए व्यवस्थापनमा सहजता हुन्थ्यो,’ उनले भने, ‘यसले समेत क्वारेन्टाइन व्यवस्थापनदेखि स्वाब संकलनमा अलमल भएको छ ।’
जिल्लाभर करिब २ सय क्वारेन्टाइनमा अहिले ३ हजार १ सय ६२ जना बसेका छन् । मंगलबारसम्म १० हजार ४ सय ३९ जना घर गएका छन् भने १ सय ८ जनामा संक्रमण देखिएको छ ।
बझाङका विभिन्न क्वारेन्टाइनमा रहेकामध्ये १ हजार ९ सय १३ जनाको अझै परीक्षण हुन बाँकी छ । स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण जोशीका अनुसार जिल्लामा हालसम्म ४ सय ३७ जनाको मात्र पीसीआर परीक्षण भएको छ । ६ सय ३१ जनाको स्वाब परीक्षणका लागि धनगढी पठाइएको छ ।
झन्डै ९ हजार नमुना काठमाडौं पठाइयो
सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा ३ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । ३ जनाको मृत्यु हुँदा ५४ जना निको भएर घर फर्किएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा ६ हजार १ सय १३ जनाको पीसीआर परीक्षण गरिएको छ । २६ हजार ८ सय ५ जनाको आरडीटी गरिएको थियो । आरडीटी नेगिटभ आएकामा पनि पीसीआरबाट पोजिटिभ देखिन थालेपछि पछिल्लो समय आरडीटी परीक्षण कम गरिएको छ ।
स्थानीय तहले भने क्वारेन्टाइनमा धेरै दिन राख्न नसकिने भन्दै आरडीटी गर्दै घर पठाउने गरेका छन् । कैलालीमा १ हजार २ सय ८२ जनामा आरडीटी पोजिटिभ देखिएको छ । जिल्लामा ४ सय ८३ क्वारेन्टाइनमा मंगलबारसम्म १ हजार ५ सय ६५ महिला र ६ हजार ४ सय ३५ पुरुष छन् ।
धनगढीस्थित सेती प्रयोगशालाको एकमात्र पीसीआर मेसिनबाट दैनिक २ सयदेखि २ सय ५० नमुनाको मात्रै परीक्षण हुँदै आएको छ । प्रदेशका ९ वटै जिल्लामा संकलित स्वाब धेरै दिनसम्म थन्किएपछि पछिल्लो साता टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासमेत पठाइएको थियो ।
अहिलेसम्म सेती प्रयोगशालामा ८ हजार ८१ नमुनाको पीसीआर परीक्षण गरिएको छ । राष्ट्रिय प्रयोगशालामा ८ हजार ७ सय ९४ जनाको स्वाब पठाइएको छ । तीमध्ये २ हजार ८ सय ९४ जनाको मात्रै रिपोर्ट आएको छ ।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS