भद्रपुर (झापा) । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार रुपैयाँबराबरका मालसामान आयात तथा २७ करोड ६८ लाख ५४ हजार रुपैयाँबराबरको सामग्री उक्त मुलुक निर्यात भएको छ ।
आयात–निर्यातको तुलाना गर्दा निर्यातभन्दा आयात दुई अर्ब ६९ करोड २२ लाख ९८ हजार रुपैयाँले बढी देखिएको हो ।
काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै एक अर्ब ६० करोड रुपैयाँबराबरको अप्रशोधित जुट आयात भएको छ । यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजका मालसामान छन् ।
काँकडभिट्टाबाट रु २३ करोड ६२ लाख ५८ हजारको खुदो निर्यात भएको छ । समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बङ्गलादेश निर्यात भएको छ । द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै प्रमुख पाण्डेयले बिजुली निर्यातबाट त्यो परिपूर्ति गर्न सकिने बताए ।
FACEBOOK COMMENTS