अहिले काठमाडौँको वायु प्रदूषण बढिरहेको छ । यसको मापन गर्ने इकाइलाई ‘पीएम’ भनिन्छ । पीएम भनेको ‘पार्टिकुलेट म्याटर’ हो । मानव स्वास्थ्यमा यसको मात्रा इक्वायल टू २.५ भन्दा कम भयो भने हानिकारक मानिन्छ । यो फोक्सोमा बस्ने भएकाले यसले अरू रोगहरू पनि बढाउँछ । खासगरी दीर्घरोगी, महिला र बालबालिकालाई बढी असर गर्छ ।
वातावरण प्रदूषणको मापक इकाइ विश्वव्यापी रूपमै ‘एक्यूआई’ हो । यो भनेको ‘एअर क्वालिटी इन्डेक्स’ हो । यसअनुसार अहिले काठमाडौँ एक नम्बरमा सम्म देखिएको छ । एक्यूआई २ सयभन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ । ५१ देखि १०० मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, ३०१ भन्दा माथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ ।
विश्वभरिको तथ्याङ्क हेर्ने हो भने दक्षिण एसिया, पूर्वी एसिया र उत्तर अफ्रिका वायु प्रदूषणका दृष्टिकोणले बढी प्रभावित मानिन्छन् । वायु प्रदूषणकै कारण वार्षिक ५० लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ । जुन निकै भयानक अवस्था हो । यसरी मृत्यु हुने ५० लाखमध्ये ८९ प्रतिशत मानिस गरिब देशका अर्थात् कमजोर अर्थतन्त्र भएका देशका हुने गरेको देखिन्छ ।
यसरी मानव स्वास्थ्यका लागि हानिकारक हुने गरी वायु प्रदूषण हुनुमा सवारी साधनबाट निस्कने धुँवा, औद्योगिक गतिविधिबाट निस्कने धुँवा–धुलो, वनमा लाग्ने डढेलो, दाउरा तथा घरायसी प्रयोजनमा स्टोभको प्रयोग र निर्माणजन्य कामका क्रममा निस्कने धुँवा–धुलो बढी कारक मान्छिन् । यस्ता गतिविधिबाट कार्बनमोनोअक्साइड, ओजोन र सल्फरडाइअक्साइड जस्ता मुख्य हानिकारक पदार्थ निस्कने भएकाले मानव स्वास्थ्यलाई असर गर्छ ।
वायु प्रदूषण हुँदा विभिन्न रोगहरू लाग्ने र लागिसकेकाको हकमा उच्च जोखिम हुन जान्छ । फोक्सोसम्बन्धी रोगमा दमको जोखिम बढाउँछ । विश्व स्वास्थ्य सङ्गठनको अध्ययनअनुसार यस्तो प्रदूषणले दमका रोगीहरूमा ‘प्री म्याचुअर्ड डेथ’ को जोखिम २३ प्रतिशतले बढाउँछ । अर्थात्, दमरोग लागे पनि अझै केही वर्ष मानिस बाँच्न सक्ने अवस्था हुँदाहुँदै पनि यस्तो प्रदूषणले त्यो सम्भावना कमजोर बनाउँछ र मानिसको मृत्यु हुन सक्छ ।
यस्तै, यस्तो प्रदूषणले धूमपान नगर्ने व्यक्तिहरूमा पनि फोक्सोको क्यान्सर हुने जोखिम बढाउँछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार धूमपान नगर्ने तर फोक्सोको क्यान्सर लागेकाहरूमध्ये यस्तो प्रदूषणले ६ प्रतिशतमा ‘प्री म्याचुअर्ड डेथ’ को जोखिम रहन्छ ।
यीबाहेक, आस्थमा, एलर्जी, आँखा–नाक–घाँटीमा समस्या आउने जस्ता कुरा पनि छन् । सँगै, मुटुमा पनि प्रभाव पर्छ । ‘हर्ट अट्याक’ को जोखिमसँगै रक्तनली साँघुरिने हुँदा ‘इस्केमिक हार्ट डिजिज’ को जोखिम बढाउँछ । मुटुसम्बन्धी रोगबाट हुने मृत्युदरमा यस्तो प्रदूषणले १२ प्रतिशत जोखिम बढाउने अध्ययनले देखाएको छ ।
यस्तै, पक्षघातको पनि जोखिम बढाउँछ । वायु प्रदूषणले पक्षघातको जोखिम २३ प्रतिशतले बढाउने र पक्षघातका बिरामीमा ‘प्रि–म्याचुअर्ड डेथ’ को जोखिम अन्यको तुलनामा १२ प्रतिशतले बढाउने विश्व स्वास्थ्य सङ्गठनको अध्ययनले देखाएको छ ।
श्वास नलीमा हुने इन्फेक्सनमा पनि यस्ता खालका वायु प्रदूषणले सामान्य अवस्थाको तुलानामा २१ प्रतिशतले जोखिम बढाउँछन् । यसकारण अहिलेको अवस्था भयावह छ, यसलाई ठूलो महत्त्व दिएर बच्ने उपायतर्फ केन्द्रित हुनु आवश्यक देखिन्छ ।
प्रदूषण कम गर्न के गर्न सकिन्छ ?
सबैभन्दा पहिला त नीति नै चाहिन्छ । अर्को कुरा, जति पनि धुँवा निस्कने गतिविधि हुन्छन्, तिनलाई कम गर्नुपर्छ । काठ, दाउरा नजलाउने, डिजेल, मट्टितेलको प्रयोग घटाउँदै लैजाने गर्नुपर्छ ।
साथै, सवारी साधनमा प्रदूषण मापदण्ड कडाइका साथ कार्यान्वयन गर्नु आवश्यक देखिन्छ । मापदण्डभन्दा बढी धुँवा फाल्ने सवारी साधनको प्रयोग हुन नदिने, व्यक्तिगत प्रयोगका स्टोभ जस्ता साधनहरूलाई समय–समयमा मर्मत गरेर कम धुँवा फाल्ने गरी प्रयोग गर्ने जस्ता विधिहरू अपनाएर प्रदूषण कम गर्न सकिन्छ ।
अर्को महत्वपूर्ण कुरा भनेको, ‘क्लिन इनर्जी’ को खपत बढाउने नै हो । सोलार, विद्युत जस्ता इन्धनका स्रोतहरूको उपयोगमा बढावा दिन सकियो भने पनि पर्यावरण दूषित हुन रोकिन्छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ वृक्षरोपण हो । रुखबिरुवा रोप्ने, हुर्काउने कुरा नै यस्ता प्रदूषण न्यूनीकरण गर्ने सबैभन्दा महत्त्वपूर्ण उपाय हो ।
अहिलेको वायु प्रदूषणबाट कसरी बच्ने ?
अहिले मानव स्वास्थ्यको प्रतिकूल हुने खालको पर्यावरण छ । वायु प्रदूषणका कारण मानिसहरूमा विभिन्न खालका माथि उल्लेखित समस्याहरू देखिन थालेका छन् । हस्पिटलहरूमा पनि बिरामी बढिरहेका छन् ।
यसकारण यस्तो अवस्थाबाट बच्नका लागि सकेसम्म घरबाहिर हिँडडुल गर्नु हुँदैन । अनावश्यक रूपमा सवारी साधन पनि चलाउन हुँदैन । बाहिर निस्कनै परे मास्क लगाएर निस्कने गर्नुपर्छ ।
डढेलो लाग्न नदिने, यससम्बन्धी सचेतना अपनाउने र इन्धन (डिजेल, मट्टितेल, दाउरा बाल्ने) को प्रयोग पनि अनावश्यक ठाउँमा नगर्ने । यतिमात्रै गर्न सकियो भने पनि अहिलेको वायु प्रदूषणबाट केही हदसम्म बच्न सकिन्छ ।
FACEBOOK COMMENTS