काठमाडौं । प्रविधिको उच्चतम विकासले आज मानव जीवन सहज बनेको छ । विगतमा हामीलाई घण्टा, दिन, हप्ता, महिना, वर्ष वा सोभन्दा बढी समय लाग्ने काम आज प्रविधिले पलभरमै गरिदिन्छ ।
आजभोलि हामीमध्ये थुप्रै आफ्ना साना–ठूला आर्थिक कारोबार डिजिटल माध्यमबाट गर्छौँ । नगदरहित कारोबारले भुक्तानी प्रणालीलाई अत्यन्त सहज बनाइदिएको छ । धेरै हदमा यो सुरक्षित पनि छ । एउटा क्यूआर कोड स्क्यान गरेकै भरमा एक व्यक्तिको खातामा रहेको पैसा अर्कोको खातामा पुग्छ । तर के तपाईंलाई थाहा छ, हाम्रो भुक्तानीलाई यति सहज बनाएको क्यूआर कोडको आविष्कार कसरी भयो ?
क्यूआर अर्थात् क्विक रेस्पोन्स कोडको आविष्कार जापानी इञ्जिनियर मासाहिरो हाराले सन् १९९४ मा गरेका हुन् । डेन्सो वेभ अटोमोटिभ प्रडक्ट कम्पनीमा यसको आविष्कार भएको हो ।
मासाहिरो हारालाई क्यूआर कोड आविष्कार गर्ने विचार ‘गो’ नामक बोर्ड गेम खेल्दैगर्दा आएको थियो, जसको गेम बोर्डमा ग्रिड बन्थ्यो । गेम बोर्डलाई राम्ररी नियाल्दा एउटा ग्रिडमा कैयौँ जानकारी राख्न सकिन्छ भन्ने विचार उनमा आयो ।
मासाहिरोले क्यूआर कोडको आविष्कारका दौरान सुरुमा एकीकृत वर्गाकार डिजाइन प्रस्तुत गरेका थिए । यो डिजाइन गो बोर्ड खेलमा प्रयोग हुने कालो र सेतो गोटीहरूबाट प्रभावित थियो । क्यूआर कोडमा पोजिशन डिटेक्शन मार्करहहरूको प्याटर्न निर्धारण गर्दा प्रिन्ट गरिएका सामग्रीहरूमा कालो–सेतो क्षेत्रहरूको सबैभन्दा कम प्रयोग हुने अनुक्रम पत्ता लगाइएको थियो ।
क्यूआर कोड प्रणालीको मुख्य उद्देश्य अटोमोबाइल पार्ट्सको प्रकार र सङ्ख्या ट्र्याक गर्न सजिलो बनाउनु थियो । प्रत्येक बक्समा अलग–अलग स्क्यान गरिने बारकोड लेबलहरूलाई प्रतिस्थापन गर्दै एउटै लेबलमा सबै डेटा समेट्ने गरी यसको डिजाइन गरिएको थियो । क्यूआर कोडको चतुर्भुज संरचनाले विभिन्न बारकोड लेबलहरूको डेटा एकीकृत गर्यो ।
क्यूआर कोडले सानो ठाउँमा धेरै डेटा राख्ने, छिटो स्क्यान हुने र एरर सहन सक्ने क्षमताले आज विश्वभर डिजिटल भुक्तानी, विज्ञापन र डाटा शेयरिङमा यसको प्रयोग व्यापक बनेको छ ।
FACEBOOK COMMENTS