मर्चवार । स्थानीय गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाकी बचतकर्ता हुन् मादिका लोनिया । उनकी छोरीको विवाह आगामी शुक्रबार (वैशाख ५ गते) हुँदैछ ।
छोरीको विवाह जुरेपछि खुसी हुनुपर्ने मादिका र उनको परिवार झन् तनाव र छटपटीमा गुज्रिरहेको छ । जसोतसो छोरीको विवाह तयारी गरिरहेकी ५५ वर्षीय मादिका लोनियासँग छोरीको विवाह गर्ने पैसा छैन । पैसा नभएपछि उनको परिवारमा तनाव र छटपटीले खुसी छोपिएको छ ।
छोरीको विवाह गर्नकै लागि भनेर उनले केही वर्षदेखि स्थानीय गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा थोरैथोरै रकम जम्मा गर्दै आएकी थिइन्, तर आफूलाई चाहिँदा रकम निकाल्न नसक्ने अवस्था बनेपछि उनको परिवार थप पीडा र चिन्तामा छ् ।
आफूले जोहो गरेर सहकारीमा सङ्कलन गरेको ६ लाख रुपैयाँ निकाल्न सकेको भए उनकी छोरीको विवाह सहजै हुनाका साथै परिवारमा खुसीको साम्राज्य खडा हुन्थ्यो । तर, उनको परिवारको खुसीमा गौतमबुद्ध सहकारी र उच्च अदालत तुलसीपुर तगारो बनेको छ ।
लोनियाको मात्रै होइन, सम्मरीमाई गाउँपालिका–६ का नन्दलाल चौहानको पनि यस्तै पीडा छ । छोरीको विवाह यही वैशाखमै जुरेको छ । तर, सहकारीमा राखेको पैसा फिर्ता नपाउँदा उनी पनि असहाय बनेका छन् । ‘आवश्यकताका लागि बचत गरेका थियौँ, तर आफ्नै पैसा निकाल्न सकिएको छैन,’ उनले भने ।
सोही वडामा नन्दलाल चौहानका पिता बुद्धु चौहानले आफ्नो पेन्सनको ५० हजार रुपैयाँ पनि सोही सहकारीमा राखेका थिए । नातिनीको विवाह खर्चका लागि त्यो रकम निकाल्ने उनले योजना बनाएका थिए । उनले भने, ‘अब त्यो योजना पनि अधूरो रहने देखिन्छ ।’
असुरैनाका बासिन्दा छोटेलाल लोहारको पनि छोरीको विवाह छ । छोरीको विवाहका लागि आफन्तकहाँ सहयोग माग्न गए, तर अधिकांश आफन्तको जवाफ एउटै छ, आफैँलाई अभाव छ । सहकारीमाथि विश्वास गरेर जम्मा गरेको पैसा नै यस्तो बेलामा फिर्ता नपाउँदा गहिरो चोटमा उनी छन् ।
फलफूल व्यवसायी विनोद बर्माले छोरीको विवाहका लागि भन्दै एक वर्षदेखि दैनिक पाँच सय रुपैयाँका दरले बचत गरेका थिए । अब विवाह नजिकिँदै गर्दा उनले राखेको पैसा पनि अनिश्चित बनेको छ । यस्तै राजकुमार केवटले नियमित औषधि खरिद गर्न बचतमा भर पर्थे । तर, अहिले एक लाख ५० हजार रुपैयाँ सहकारीमा अड्किएको छ । उनले भने, ‘यसले सहकारीमा मात्र होइन, स्वास्थ्यमा पनि जोखिम निम्त्याएको छ ।’
खास समस्या के हो ?
गत फागुन २६ गते उक्त सहकारी संस्थाका व्यवस्थापक र कार्यालय सहायकलाई सञ्चालक समितिले निलम्बन गरेपछि विवाद सुरू भयो । विवाद अदालतसम्म पुगेपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासले कारण देखाऊ र निलम्बनको निर्णय यथास्थितिमा राख्न अल्पकालीन आदेश दिएको छ । परिणामस्वरुप सो सहकारीको बचत फिर्ता पाउने, ऋण लिने र सावाँब्याज तिर्नेलगायत सबै सेवा ठप्प छन् ।
गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष दीपचन्द्र मुराउले भने, ‘मुद्दा अदालतमा विचाराधीन छ । जबसम्म अदालतको निर्णय हुँदैन, सेवाहरू पुनः सञ्चालन गर्न सकिने अवस्था छैन । सहकारीको सेवामा अवरोधले सयौँ बचतकर्तालाइ अप्ठ्यारोमा पारेको छ । यसले आर्थिक सङ्कटमात्र होइन, सामाजिक र मानसिक तनाव पनि बढाएको छ । सहकारी संस्थाको सेवा बन्द हुँदा गाउँको जनजीवन प्रभावित भएको छ । विवाह, उपचार र आपत्कालीन खर्चका लागि गरिएको बचत अहिले बन्द ढोकामै थुनिएको छ ।’
यस्तै, सम्मरीमाई–६ का वडाध्यक्ष तौलन केवटले सहकारीको सेवा प्रवाह पुनः सुरू भएन भने सहकारीप्रतिको जनविश्वास नै सधैँका लागि हराउन सक्ने बताए । बचतकर्ताको एउटै प्रश्न छ, ‘जब हामीले विश्वास गरेर बचत गरेका थियौँ, त्यसले आपतमा साथ नदिएपछि केही बाँकी रहँदैन । सहकारीको नियमन गर्ने निकाय, सम्बन्धित पालिका र अदालतसमेतले अब गम्भीरतापूर्वक हस्तक्षेप नगर्ने हो भने केवल आर्थिक सङ्कटमात्र होइन, सामाजिक सङ्कटको भय पनि बढ्दै जान्छ ।’
सो सहकारी संस्थाको कार्यालयमा ताला लागेको झन्डै एक महिना बढी पुग्न लाग्दा, साना व्यवसायी, किसान, वृद्धवृद्धाको घरायसी जीवनमा आर्थिक समस्या भएको छ । कसैको छोरीको विवाह खर्चको जोहो छैन, कसैको नियमित औषधि छाडिएको छ, त कसैको आपत्कालीन खर्च अन्योलमा परेको छ । तर, बचत रकम समयमै फिर्ता हुने छाँटकाँट छैन ।
FACEBOOK COMMENTS