काठमाडौँ । शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने प्रवृत्तिको अन्त्य गरिनुपर्ने धारणा सांसदहरूले राखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने क्रममा सांसदहरूले विकासको आवश्यकता र नागरिकको चाहनाको पहिचान गरी कुशलतापूर्वक बजेट विनियोजन गरिनुपर्ने धारणा राखेका हुन् ।
जनमत पार्टीका सांसद अब्दुल खानले जनताले भोगिरहेका समस्याप्रति लक्षित गरेर बजेट निर्माण गर्न आवश्यक रहेको बताए । उनले सकेसम्म देशभित्रकै कच्चापदार्थलाई प्रयोग गरी अर्थतन्त्रलाई अगाडि बढाउने नीति ल्याउनुपर्नेमा जोड दिए ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादवले चालु अधिवेशनबाट अत्यावश्यक विधेयकहरू पास गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । उनले भने, ‘चालु अधिवेशनले समस्या समाधान गरोस् । आशा पलाउने गरी र आवश्यकताको आधारमा बजेट आओस् ।’
सांसद सर्वेन्द्रनाथ शुक्लाले अर्थतन्त्र शिथिल हुँदै गएको विषम परिस्थितिमा आउने आगामी आर्थिक वर्षको बजेट अघिल्ला वर्षहरुभन्दा फरक हुनुपर्ने बताए । राजस्व सङ्कलन घटेको, तस्करी बढेको लगायतका विषयहरू उनले संसदमा उठाए । यस वर्ष किसानले मलको समस्या भोग्नु नपरोस भनेर सरकारले सतर्कता अपनाउन सुझाव उनले दिए ।
सांसद गङ्गाराम चौधरी डगौराले शक्ति र पहुँचका आधारमा बजेट बाँड्ने प्रवृत्ति रोकिनुपर्ने बताए । ‘मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित नहोस् । पहुँचका आधारमा बजेट नबाढियोस् । आफ्ना कार्यकर्ता पोस्ने बजेट नआओस्,’ उनले भने, ‘उत्पीडनमा परेका समदायलाई केन्द्रमा राखेर बेराजगारी घटाउने गरी बजेट आओस् ।’
बजेटमाथि नीतिगत निगरानी गर्न आवश्यक रहेको पनि उनले बताए । बजेट तर्जुमा, स्वीकृती, कार्यान्वयन, मूल्याङ्कनलगायतका प्रक्रियालाई गम्भीर रूपमा हेरिनुपर्ने सांसद चौधरीको भनाइ छ ।
सांसद प्रेम सुवालले शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा रोकिँदा विद्यार्थीहरूको भविष्यमाथि खेलबाड भइरहेको उल्लेख गरे । प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गरिनुलाई सरकारमाथि सरकारकै अविश्वासको उपजका रुपमा हेरिनुपर्ने सुवालको बुझाइ थियो । सार्वजनिक ऋण निरन्तर बढ्ने, युवाहरु विदेश पलायन हुने, आन्तरिक उत्पादन बढ्न नसक्नेजस्ता जटील समस्याको समाधान खोज्ने गरी बजेट केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
सांसद चित्रबहादुर केसीले लोकतन्त्रमाथि चौतर्फी रूपमा आक्रमण भइरहेको उल्लेख गर्दै जनताको आकाङ्क्षाअनुसार काम गर्न नसकेका कारण नै वितृष्णा बढेको बताए । ‘भ्रष्टाचार गर्नेलाई कारबाही नहुने र संरक्षण गर्ने प्रवृत्तिको लेखाजोखा जनताले राखिरहेका छन् । भ्रष्टाचारमा हामी आफै लिप्त छौँ भने जनतालाई कसरी सम्झाउनुहुन्छ ?,’ सांसद केसीले भने । लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै दल एकजुट हुनुपर्ने पनि उनको भनाइ थियो ।
सांसद डा अमरेशकुमार सिंहले चुनाव जित्नका लागि राजनीतिक दल र तिनका नेताहरूले व्यवसायीहरूसँग रकम उठाउने गरेको र सरकारमा गएपछि उनीहरूलाई फाइदा हुने गरी निर्णय गर्ने गरेको आरोप लगाए । उनले दलीय भागबण्डाका आधारमा नियुक्ति, सरुवा, बढुवा हुने प्रवृत्ति मौलाएको बताए । लोकतन्त्रलाई नेताहरूबाट सङ्कट रहेको सांसद सिंहको भनाइ थियो ।
सांसद योगेन्द्र मण्डलले सरकारको बोली एउटा र व्यवहार अर्को रहेको दाबी गरे । उनले शिक्षक आन्दोलन चाँडो टुङ्गाउन आवश्यक रहेको उल्लेख गरे ।
FACEBOOK COMMENTS