काठमाडौं । राष्ट्रियसभाका सांसद वामदेव गौतमले अहिलेका नेताहरूले गुण्डाहरूलाई पार्टीमा भित्र्याएर मन्त्री बनाएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय समाचार समिति (रासस) सँगको कुराकानीमा उनले आफू गृहमन्त्री हुँदा गुण्डाहरू लुकेर हिँड्ने गरेको भन्दै अहिले तिनैलाई नेता र मन्त्री बनाइएकाे बताएका हुन् ।
सांसद गौतमले देशको वर्तमान शान्तिसुरक्षामा कमजोरी देखा पर्नुको कारण राजनीतिक पार्टीहरू रहेको बताए ।
आफू गृहमन्त्री हुँदा तत्कालीन प्रधानमन्त्रीबाट काम गर्नमा कुनै अवरोध नरहेको स्मरण गर्दै उनले त्यसबेला विकृति–विसङ्गतिविरुद्ध कडा कदम उठाएर शान्तिसुरक्षा मजबुत पारेको बताए ।
सांसद गौतमको भनाइ जस्ताको तस्तै–
अहिले देशको शान्तिसुरक्षा यो अवस्थामा आउनुको मुख्य कमजोरी राजनीतिक पार्टीहरू नै हुन् । गृहमन्त्री भएर काम गर्दा मलाई सञ्चालन गर्ने कोही भएन । त्यसबेलाका प्रधानमन्त्रीले काम गर्ने सवालमा कुनै अवरोध गर्नुभएन । मैले मेरो निम्ति होइन, जनता र राष्ट्रको निम्ति तथा इज्जत र प्रतिष्ठाका निम्ति काम गरेँ ।
मैले विकृति जहाँ छ, त्यहाँ सिधै आक्रमण गर्ने गर्थें । गुण्डागर्दी जहाँ हुन्छ, त्यहाँ मेरो आक्रमण हुन्थ्यो । शान्तिसुरक्षा भङ्ग जहाँ भएको छ, त्यसलाई केन्द्रमा राखेर काम गरेको थिएँ ।
मैले गलत भएका हरेक ठाउँमा कारबाही गर्ने गर्थें । त्यतिबेला गुण्डाहरू लुकेर हिँड्ने गरेका थिए । तर, अहिलेका नेताले तिनै गुण्डालाई पार्टीभित्र ल्याएका छन् । तिनै गुण्डालाई मन्त्री बनाइएको छ ।
FACEBOOK COMMENTS