काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले सत्तारूढ नेकपा (एमाले) ले तुलसीलाल स्मृति प्रतिष्ठानलाई आफ्नो पार्टी कार्यालय बनाएकोमा आपत्ति जनाएका छन् ।
आजको संसद बैठकमा दलगत धारणा राख्दै सांसद साहले सामाजिक कार्यका लागि बनेको प्रतिष्ठानलाई एमालेले पार्टी कार्यालय बनाएकोमा आपत्ति जनाएका हुन् ।
हाल प्रतिष्ठानहरू नेताको लुट्ने भाँडो भएको भन्दै उनले नियमन गर्नुपर्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्री नै यसको मतियार बन्दा न्याय खोज्ने ठाउँ नरहेको बताए ।
‘आज प्रतिष्ठानहरू नेताको लुट्ने भाँडो भएका छन् । सरकारी बजेट खन्याउने अनि ती संस्थाका आम्दानीहरू नै यो स्वार्थमा प्रयोग गर्ने । आज सङ्घसंस्थाहरू लुटको अखडा बनेका छन्,’ उनले भने, ‘नेपाली जनताको खुन–पसिनाका लाखौँ–करोडौँ रकमहरू दुरुपयोग भइरहँदा यसलाई नियमन गर्नुपर्ने हैन र ? नियमन गर्नुपर्ने जिम्मेवारीमा रहेका हाम्रा सम्माननीय प्रधानमन्त्री आफैँ त्यसमा मतियार बनिदिएपछि अब न्याय कहाँ माग्ने भन्ने प्रश्न आउँछ ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मठमन्दिरमा मासु र रक्सीको व्यापार गरिरहेको आभास हुने गरेको बताए ।
हेर्नुहोस् भिडिओ–
‘नेपालमा सम्माननीय प्रधानमन्त्रीजी मठमन्दिरमा बसेर मासु र रक्सीको व्यापार गरिरहेको आभास हुन्छ । सामाजिक कार्यको लागि निर्मित तुलसीलाल स्मृति प्रतिष्ठानमा उहाँको पार्टीको केन्द्रीय कार्यालय छ,’ उनले भने, ‘म सोध्न चाहन्छु– तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक संस्था हो ? यदि सामाजिक संस्था हो भने जुसको लाइसेन्स लिएर मदिराको व्यापार गर्न मिल्छ कि मिल्दैन ?’
तुलसीलाल अमात्य सम्मानित र साझा व्यक्तित्व भएकले उनको मान–प्रतिष्ठामा आँच आउने गरी एमालेले गरेको गतिविधि स्वीकार्य नहुने चेतावनी दिए ।
‘तुलसीलाल अमात्य भनेको एउटा सम्मानित व्यक्ति हो । उहाँ हाम्रो गौरव हो । उहाँको सम्मानलाई कमजोर बनाउन र नजरअन्दाज गर्न मिल्दैन,’ सांसद साहले भने, ‘आज जसरी उहाँको मान–प्रतिष्ठामा आँच हुने गरी यो काम भइरहेको छ, त्यो हामीलाई स्वीकार्य छैन ।’
साथै, उनले तुलसीलाल स्मृति प्रतिष्ठान व्यापारिक संस्था भए आफ्नो पार्टीले पनि कार्यालयका लागि घर भाडामा खोजिरहेकाले प्रतिष्ठान आफ्नो पार्टीलाई दिन माग गरे । त्यसका लागि आफू एमालेको भन्दा बढी भाडा तिर्न तयार रहेको उनले बताए ।
‘यदि तुलसीलाल स्मृति प्रतिष्ठान व्यापारिक संस्था हो भने बराबर गर्न सक्नुपर्थ्यो,’ उनले भने, ‘हाम्रो आम जनता पार्टीले पनि घर भाडामा खोजिरहेको छ । म एमालेभन्दा बढी भाडा दिन तयार छु । हामीलाई दिनुपर्यो । होइन भने, सामाजिक संस्था हो भने त्यसको लिहाज गर्नुपर्यो । त्यो लिहाजलाई छोड्ने हैन ।’
उनले एमाले धनी पार्टी भएको र मदननगरमा पार्टीकै प्रशस्त जग्गा रहेकाले पार्टी कार्यालय त्यहीँ बनाउन सुझाव दिए ।
सांसद साहको भनाइ जस्ताको तस्तै–
नेपालमा सम्माननीय प्रधानमन्त्रीजी मठमन्दिरमा बसेर मासु र रक्सीको व्यापार गरिरहेको आभास हुन्छ । सामाजिक कार्यको लागि निर्मित तुलसीलाल स्मृति प्रतिष्ठानमा उहाँको पार्टीको केन्द्रीय कार्यालय छ । म सोध्न चाहन्छु– तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक संस्था हो ? यदि सामाजिक संस्था हो भने जुसको लाइसेन्स लिएर मदिराको व्यापार गर्न मिल्छ कि मिल्दैन ?
आज प्रतिष्ठानहरू नेताको लुट्ने भाँडो भएका छन् । सरकारी बजेट खन्याउने अनि ती संस्थाका आम्दानीहरू नै यो स्वार्थमा प्रयोग गर्ने । आज सङ्घसंस्थाहरू लुटको अखडा बनेका छन् । नेपाली जनताको खुन–पसिनाका लाखौँ–करोडौँ रकमहरू दुरुपयोग भइरहँदा यसलाई नियमन गर्नुपर्ने हैन र ? नियमन गर्नुपर्ने जिम्मेवारीमा रहेका हाम्रा सम्माननीय प्रधानमन्त्री आफैँ त्यसमा मतियार बनिदिएपछि अब न्याय कहाँ माग्ने भन्ने प्रश्न आउँछ ।
आज प्रतिष्ठानहरू, सङ्घसंस्थाहरू पथभ्रपष्ट भएर गलत बाटोमा हिँडिराख्दा त्यसलाई नियमन गर्नुपर्ने हो, सही बाटो डोर्याउनुपर्ने हो । आज हामी कानुनी शासनको कुरा गर्छौँ । कानुनी शासनको कुरा गर्दा प्रतिष्ठानको आफ्नो टार्गेट हुन्छ । प्रतिष्ठानको आफ्नो चरित्र हुन्छ ।
तुलसीलाल अमात्य भनेको एउटा सम्मानित व्यक्ति हो । उहाँ हाम्रो गौरव हो । उहाँको सम्मानलाई कमजोर बनाउन र नजरअन्दाज गर्न मिल्दैन । आज जसरी उहाँको मान–प्रतिष्ठामा आँच हुने गरी यो काम भइरहेको छ, त्यो हामीलाई स्वीकार्य छैन । यदि तुलसीलाल स्मृति प्रतिष्ठान व्यापारिक संस्था हो भने बराबर गर्न सक्नुपर्थ्यो । हाम्रो आम जनता पार्टीले पनि घर भाडामा खोजिरहेको छ । म एमालेभन्दा बढी भाडा दिन तयार छु । हामीलाई दिनुपर्यो । होइन भने, सामाजिक संस्था हो भने त्यसको लिहाज गर्नुपर्यो । त्यो लिहाजलाई छोड्ने हैन ।
मलाई थाहा छ, आजभन्दा १० वर्षअगाडि भूकम्पले एमाले कार्यालय ध्वस्त गर्यो, बिगार्यो । तर, १० वर्ष भइसक्यो सम्मानीय सभामुखज्यू । एमाले पार्टी भनेको धनी पार्टी हो । लाखौँ कार्यकर्ताहरूको लेबीबाट करोडौँ आम्दानी बर्सेनि आइरहेको एउटा अरबपति क्लबको साझेदार पार्टी हो भन्ने म बुझ्दछु । त्यो पार्टीको आफ्नो कार्यालय नहुने, कहिले पासाङल्हामु शेर्पाको अफिस क्याप्चर गर्ने त कहिले तुलसीलाल अमात्यको अफिस क्याप्चर गर्ने, कहिले व्यापारीको शरणमा पुग्नुभन्दा पनि आफ्नो पार्टी कार्यालय बनाउँदा आफ्नो पार्टीको गरिमा बचाउन सकिन्थ्यो । लाखौँ कार्यकर्ताहरूको भविष्यलाई कम्तीमा विचार गर्न म आग्रह गर्न चाहन्छु ।
सम्माननीय सभामुखमार्फत म प्रधानमन्त्रीलाई भन्न चाहन्छु– सबैलाई लागू गर्नुस्, कानुन सबैलाई लाग्छ । सामाजिक संस्थाहरूमा भइरहेको लुट र भ्रष्टाचार पनि नियन्त्रण गर्नुपर्ने होला । अख्तियार दुरुपयोग पनि छ । सरकारी बजेट त्यहाँ अनुदानको रूपमा लाने र मनोमानी र निजी स्वार्थ पूर्ति गर्ने काम कसैलाई छुट छैन । यसमा सबैको ध्यान आकर्षण होस् । एमालेको पार्टी कार्यालय तुरुन्तै त्यहाँबाट हटाउनुपर्यो । एमालेको आफ्नै ठाउँ मदननगरमा त्यत्रो जग्गा छ, त्यहीँ बनाए हुन्छ । एमालेको गौरवलाई अगाडि उठाउनुस् । प्रधानमन्त्रीको ‘एज’ पनि कट्न थाल्यो, युवाहरूको भविष्यलाई देखेर अगाडि बढ्नुस् ।
मलाई लाग्छ– मदन भण्डारी र पुष्पलालजी भएको भए यसरी गर्नुहुन्थेन । यो इमेजलाई माथि उठाउनुहुन्थ्यो । तसर्थ पनि तुलसीलाल अमात्य भनेको सबैको साझा व्यक्तित्व हो, कुनै एउटा समूहको व्यक्तित्व होइन । रौतहटले चिनेको व्यक्तित्व हो । हामीलाई पनि त्यत्तिकै हक लाग्छ । त्यो संस्था भनेको सामाजिक कार्यको लागि बनेको संस्था हो । राष्ट्रिय व्यक्तित्व हो । कोही एउटा व्यक्तिको, एउटा संस्थाको बनाउने कोसिस गरियो भने त्यो राम्रो हुँदैन । त्यस अर्थले पनि भन्न चाहन्छु– तुलसीलाल अमात्यका यी पदाधिकारीहरूलाई अलिकति कानुन थाहा छैन भने कानुन थाहा दिनुपर्यो । यसरी मनोमानी गर्न मिल्दैन, त्यस्तालाई खारेज गर्नुपर्छ ।’
FACEBOOK COMMENTS