काठमार्डौ । नेपाल कम्युनिष्ट पार्टी एमालेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको निष्कर्ष निकालेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेका पार्टीको संसदीय दलको बैठकले नीति तथा कार्यक्रमले देशमा व्याप्त रहेको निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गरेको निष्कर्ष निकालेको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकले नीति तथा कार्यक्रमका पक्षमा संसद्मा सकारात्मक ढङ्गले सक्रिय र प्रभावकारी भूमिका निभाउन सांसदहरूलाई निर्देशन दिइएको उनले बताए ।
देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान र देश तथा जनताको हितलाई केन्द्रमा राखी विकास, समृद्धि, सुशासन र सेवा प्रवाहलाई महत्त्व दिएर नीति तथा कार्यक्रम आएको निष्कर्ष निकालेको प्रमुख सचेतक बर्तौलाले बताए । उनले नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न तथा लोकतन्त्रको सुदृढीकरण गर्दै यसलाई जनताको जीवनसँग जोडी सामाजिक न्याय र समाजवादका आधार तयार गर्न, राष्ट्रिय एकता सुदृढ पार्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्ने उल्लेख गरे ।
“एमालेले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण र यसकाविरुद्ध हुने कुनै पनि प्रकारको अशान्ति फैलाउने गतिविधिको प्रतिवाद गर्ते सङ्कल्प नीति तथा कार्यक्रममार्फत गरिएको आजको बैठकको निष्कर्ष छ । नीति तथा कार्यक्रमले संविधानको समीक्षा गर्दै यसका सवल पक्षलाई थप सुदृढ गर्ने र कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउँदै सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने प्रतिबद्धता एमालेले गरेको छ”, प्रमुख सचेतक बर्तौलाले भने ।
FACEBOOK COMMENTS