असार २० — रौतहटमा कोरोनालाई जितेर घर फर्केनेहरुको संख्या बढेको छ । एक सातायता कोरोनाबाट निको भएर घर फर्केनेको संख्या ९ सय ९८ पुगेको छ ।
संक्रमतिहरु निको भएर घर फर्किएसँगै जिल्लाका क्वारेन्टाइन र आइसोलेसनहरु खाली हुँदै गएका छन् । भारतबाट फर्किएका झन्डै ४ हजार जनालाई राखिएको राजपुर क्वारेन्टाइन अहिले खाली छ ।
जिल्लामा शुक्रबारसम्म १ हजार १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये ९ सय ९८ जना निको भएर घर फर्किए । यस्तै, अहिले आइसोलेसनमा १ सय ९३ जना मात्र छन् । ती मध्ये १९ जना महिला छन् ।
भारतमा रोजगारी गुमेर घर फर्केकाहरुमा धमाधम कोरोना संक्रमण देखिन थाले पछि रौतहट कोरोना ‘हटस्पट’को रुपमा देखिएको थियो । संक्रमितको संख्या धेरै भएपछि जिल्लाका विभिन्न स्थानीय तहले २० वटा आइसोलेसन वार्ड निर्माण गरेर उनीहरुलाई राखिएको थियो । अहिले संक्रमितहरु निको भएर धमाधम घर फर्कन थाले पछि आइसोलेसन वार्ड पनि खाली हुँदै गएका हुन् ।
हाल जिल्लाका ११ वटा आइसोलेसनमा मात्रै संक्रमतिहरु रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले बताए ।समुदायमा स्तरमा पनि त्यति ठूलो संख्यामा संक्रमित नदेखिएकाले जिल्लामा विस्तारै संक्रमण नियन्त्रणतर्फ उन्मुख हुँदै गएको प्रजिअ घिमिरेको ठम्याइ छ ।
एक महिना अघिसम्म यहाँका १ सय ११ वटा क्वारेन्टाइनमा भारतबाट घर फर्केका ८ हजार ८ सयलाई राखिएको थियो । ती मध्ये अधिकांशको स्वाब रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका छन् ।
हाल जिल्लाका विभिन्न क्वारेन्टाइनहरुमा ६५ महिला र ३ सय ४९ जना पुरुष छन् ।
FACEBOOK COMMENTS