काठमाडौं । ‘सुझ न बुझ’ को अभिव्यक्ति दिएपछि कसैले कसैलाई व्यङ्ग्यवाण प्रहार गर्दै गरेको टिप्पणी सम्झन्छु– ‘मान्छे आफूले जानेको विषयमा बोल्यो भने गुरु हुन्छ, तर जान्दै नजानेको विषयमा बोल्यो भने गोरु हुन्छ ।’ कसैले मानोस् वा नमानोस्, तर जानेको विषयमा आफूले आफैँलाई विज्ञ स्वघोषणा गरे पनि उत्पातै फरक पर्ने विषय होइन । तर, यसको विपरीत जान्दै नजानेको विषयमा समेत आफूलाई विज्ञ देखाउने दुष्प्रयास गरियो भने त्यसको नतिजा आफ्नै लागि हानिकारक हुन्छ । बेलाबखत यस्तै नतिजाको शिकार भइरहने चर्चित पात्र हुन्– हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओली ।
यो नकार्न नसकिने कुरा हो कि प्रधानमन्त्री ओलीको भाषाशिल्प गजबको छ । उखान र टुक्काहरू जोडेर उनी आफ्ना अभिव्यक्तिलाई आकर्षक बनाउनमा माहिर छन् । तर, भाषामा विशेष दखल राख्ने र कतिपयले त ‘ज्ञानको भण्डार’ कै सङ्ज्ञा दिएका हाम्रा प्रधानमन्त्री बेलाबलखत ‘बेलगामको बोली’ बोलिरहन्छन् । र, त्यसपछि आफ्नो ‘हचुवा अभिव्यक्ति’ विरुद्ध अरूबाट आउने आलोचनात्मक टिप्पणीको प्रतिकारमा ‘निम्छरो’ रूपमा प्रकट हुन्छन् ।
जगजाहेर नै छ, नेपालले सङ्कटापन्न जनावर बाघको सङ्ख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता सन् २०२२ मा पूरा गर्यो । संरक्षण प्रयासका बाबजुद विश्वभर बाघको सङ्ख्या घट्दै गएपछि बाघको प्राकृतिक बासस्थान भएका १३ देशले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित बाघ सम्मेलनमा सन् २०२२ सम्म बाघको सङ्ख्या दोब्बर पुर्याउने संयुक्त निर्णय गरेका थिए । त्यतिखेर नेपालमा १२१ वटा बाघ थिए । १२ वर्षमा बाघको सङ्ख्या २५० पुर्याउने लक्ष्य लिएको नेपाल झण्डै तेब्बर पुर्याएर लक्ष्य हासिल गर्ने पहिलो देशसमेत बन्यो । बङ्गलादेश, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, मलेसिया, म्यानमार, रुस, लाओस, थाइल्याण्ड र भियतनामसहितले जनाएको यस्तो प्रतिबद्धता पूरा गर्ने नेपाल पहिलो मुलुक बनेको हो ।
पछिल्लो पटकको बाघ गणनाअनुसार नेपालमा अहिले ३५५ वटा बाघ छन् । ‘राष्ट्रिय बाघ तथा आहार प्रजाति सर्वेक्षण प्रतिवेदन, २०२२’ अनुसार पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा ४१, चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा १ सय २८, बाँके राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा २५, बर्दिया राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा १ सय २५ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा ३६ वटा बाघ छन् ।
एक शताब्दीअघि विश्वमा एक लाखको सङ्ख्यामा रहेका बाघ बासस्थान विनाश, चोरी–शिकार तथा अवैध व्यापारका कारण लोप हुने अवस्थामा पुगेको थियो । सन् २०१० मा विश्वमा बाघको सङ्ख्या तीन हजार दुई सयमा सीमित हुन पुगेपछि बाघको संरक्षण अभियान सुरु गरिएको थियो, जसपछि नेपालले हाल बाघको सङ्ख्या झण्डै तेब्बर पुर्याएको हो । अन्तर्राष्ट्रिय समुदायले बाघको सङ्ख्या वृद्धिमा अभूतपूर्व सफलता हासिल गरेको भन्दै नेपालको प्रशंसा गरेका थिए ।
तर, बिडम्बना ! नेपालमा बाघको सङ्ख्या बढेकोमा देशका प्रधानमन्त्री केपी शर्मा ओली भने खुसी छैनन् । उनलाई यो विषय ‘हर्रो नपाउनेलाई जाइफल’ जस्तो भएको छ । यसैको प्रकटीकरणस्वरूप उनी नेपालमा बाघको सङ्ख्या बढाउन नहुने अभिव्यक्ति दोहोर्याइरहेका छन् । गत वर्ष नै यस्तो अभिव्यक्ति दिएपछि आलोचित भएका उनले यसबीच फेरि आफ्नो भनाइ दोहोर्याएका छन् ।
हिजो शनिबार काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीमा बोल्दै उनले नेपालमा बाघको सङ्ख्या बढ्दै गए मान्छे भागे हुने अभिव्यक्ति पुनरावृत्ति गरे । साथै, बाघको सङ्ख्या बढाउन नहुने भन्दा बुझ्दै नबुझी आफ्नो आलोचना गरिएको पनि बताए ।
‘मैले अस्ति नै एउटा कार्यक्रममा बोलेँ– अब बाघको सङ्ख्या विस्तार हामीलाई पुुग्यो । बाघको सङ्ख्या अब बढाउँदै जाने हो भने मान्छे भागे हुन्छ, अब बाघको सङ्ख्या बढाउन सकिँदैन र मिल्दैन भनेको थिएँ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसमा धेरैवटा कुरा आयो, बा तपाईंका सबै कुरा मन पर्थे, यो बाघको सङ्ख्या बढाउनुु हुँदैन भनेको चाहिँ… त्यो बुुझ्दै नबुुझी केटाकेटीहरूले कमेण्ट लेख्दिए ।’
उनले बाघ तस्बिरमा सुन्दर देखिए पनि यथार्थमा त्यस्तो नहुने बताए । बाघ धेरै भएको खण्डमा उसलाई आफ्नो क्षेत्र नपुग्ने र आहारको खोजीमा आफ्नो क्षेत्रभन्दा बाहिर निस्कँदा नभेटिएपछि जे पायो त्यहीमाथि आक्रमण गर्ने प्रधानमन्त्री ओलीले बताए ।
‘बाघले कानुनको किताब पढेको हुँदैन । भ्रम राख्नुु हुँदैन, मान्छे मार्नुु हुँदैन, २० वर्ष जन्मकैद भन्ने बाघलाई थाहा छैन । बाघले पढेको त छैन नि !,’ प्रधानमन्त्री ओलीले भने, ‘नङ्ग्रा छन्, दाह्रा छन् र बल छ । यी तीनवटा कुरा उसँग छन्, अनि भोक लागेको छ, बस ! त्यसकारण बाघ कुनै खेलाँची गर्ने चिज होइन ।’
उनले आफूलाई प्रकतिविरोधी भनिएकोमा रोष प्रकट गर्दै अहिले गाउँ हिँड्दा बाघ भेटिएला कि भन्ने डर हुन थालेको बताए । साथै, वातावरण सन्तुलन मानव जातिका लागि मात्र चाहिने विषय भएको आशय दिने धारणा राखे ।
‘अहिले जङ्गलमा होइन, गाउँमा हिँड्दा बाघ भेटिएला भन्ने डर भइसक्यो । यो पीरमर्का वनका छेउमा बस्नेहरूलाई थाहा छ,’ उनले भने, ‘त्यसकारण यति सानो कुरामा पनि विरोध नै गर्नका लागि विरोध भनेर भावनात्मक कुरा गरेर प्रकृतिविरोधी कुरा गर्यो, वातावरणविरोधी कुरा गर्यो भन्ने ? वातावरणविरोधी कुरा होइन । वातावरणको सन्तुलन चाहिन्छ भने यो मानव जातिका लागि चाहिन्छ ।’
बाघ बढाउन नहुने ओलीको विचार कति जायज ?
मानव–वन्यजन्तु द्वन्द्व सदियौँदेखिको समस्या हो । यो न्यूनीकरण हुनुपर्छ/गरिनुपर्छ, यसमा दुईमतको कुरै रहँदैन । यसबारे प्रधानमन्त्री ओलीले व्यक्त गरेको चिन्तालाई पनि सही अर्थमा नै लिन सकिन्छ । तर, यसका लागि बाघको सङ्ख्या बढाउन नहुने वा घटाउनुपर्ने उनको विचारमा भने सहमत हुन सकिँदैन । बरु यसको संरक्षण र व्यवस्थापनमा देखिएको चुनौतीबारे चिन्तित भएर त्यसअनुसारका रणनीतिक कार्यक्रम गर्नुपर्ने आजको आवश्यकता हो ।
अर्कातिर, वातावरणको सन्तुलन मानव जातिका लागि मात्र चाहिने ओलीको भनाइ त झनै आपत्तिजनक छ । आफ्नो धारणालाई सही साबित गर्न प्रधानमन्त्री ओलीले व्यक्त गरेको विचार जस्ताको तस्तै यहाँ उल्लेख गरिएन भने अविश्वास हुन सक्छ, त्यसैले उनको भनाइ जस्तातस्तै–
‘वातावरण विनाश भइरहेको छ– मानवबाट, वातावरण संरक्षण गर्नुपर्ने छ– मानवले । यो सबै मानव जातिका लागि गर्नुपरेको छ । यस धर्तीको, यस सृष्टिको, यस सिर्जनाको, यस ब्रह्माण्डको सबैभन्दा उत्कृष्ट प्राणी मानव हो । यही एउटा प्लानेट छ, यही एउटा ग्रह छ– पृथ्वी, यही एउटा सौर्यमण्डल छ, जहाँ जीव छ र जीवको अस्तित्व छ । यस्ता सौर्यमण्डलहरू कति हो कति, सूूर्यहरू हजारौ–लाखौँ कति छन्, थाहा छैन । कति मिल्किए/छन्, थाहा छैन । तर, यही एउटा मात्रै सौर्यमण्डल हो, जहाँ यस्तो ग्रह छ– पृथ्वी, जहाँ जीवन छ । पृथ्वी मात्रै यस ब्रह्माण्डको यस्तो भाग्यमानी ग्रह हो, जहाँ जीवन छ । यसले मात्रै जीवन सिर्जना गरेको छ र मानवजस्तो श्रेष्ठ जीव सिर्जना गर्न सकेको छ । यो पृथ्वीले मात्रै गरेको छ ।’
प्रधानमन्त्री ओलीले राम्ररी बुझेका छन्– मानव सृष्टिकै सर्वश्रेष्ठ प्राणी हो । किनकि उनी पनि मानवमध्येकै एक हुन् । तर, उनले यो कुरा बुझेका रहेनछन् कि वातावरणको सन्तुलन मानव जातिका लागि मात्र चाहिने कुरा होइन । साथै, वातावरणमा सन्तुलनको काम मानवले भन्दा बढी पृथ्वीका अन्य जीवजन्तुले गरिरहेका छन् । मावनले त बरु सन्तुलन बिगार्ने काम गरिरहेका छन् । देशको प्रधानमन्त्रीजस्तो महत्त्वपूर्ण जिम्मेवारीमा रहेका ओलीजस्ता व्यक्तिले कम्तीमा यति ‘कमन सेन्स’ त राख्नुपर्ने हो कि बाघ पनि प्रकृति संरक्षक हो, त्यसैले पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानवले यसको संरक्षण गर्नुपर्छ । श्रेष्ठ प्राणीको नाताले यो मानवको दायित्व पनि त हो ।
तर, ओलीको भनाइले त प्रकृतिवादी विशेषज्ञहरूले अन्तर्राष्ट्रिय योजनाअनुसार बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य राख्नु नै मूर्खतापूर्ण प्रयास थियो भन्ने अर्थ दिन्छ । नेपालमा बाघ बढी भयो भन्ने ज्ञान ओलीलाई कसरी प्राप्त भयो त्यो उनैलाई थाहा होला, तर के स्पष्ट छ भने उनले यो कुरा कुनै पनि वन्यजन्तुविज्ञ, पारिस्थिकीविज्ञ, पर्यावरणविद्, प्रकृतिवादी वा संरक्षणकर्मीसँग सल्लाह गरेर राखेका होइनन् । अझ पछिल्लो पटक त उनले विगतको धारणालाई लिएर आफ्नो आलोचना गर्नेहरूमाथि रोष प्रकट गरेका हुन् ।
काश ! संरक्षित वन्यजन्तु बाघको सङ्ख्या घटाउने सट्टा बरु देशमा व्याप्त भ्रष्टाचार र कुशासन घटाउनेतर्फ प्रधानमन्त्रीको ध्यान गइदिएको भए ‘देश’ कति ‘वेश’ हुन्थ्यो होला ! प्रधानमन्त्रीकै नेतृत्वमा सुशासन आयोग गठित छ । सुशासनको नारा फलाक्ने प्रधानमन्त्रीले भ्रष्टाचारी र कुशासकविरुद्ध निर्मम ढङ्गले कारबाहीको डण्डा चलाए आज बहसको विषय बाघ घटाउने होइन, बढाएर संरक्षण र व्यवस्थापन गर्दैै देश विकासको गतिमा रफ्तार बढाउनेतर्फ केन्द्रित हुने थियो ।
किन आवश्यक छ बाघको संरक्षण ?
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण ऐन, २०२९ ले बाघलाई संरक्षित प्रजातिको सूचीमा समावेश गरी यसको संरक्षणलाई विशेष महत्त्व दिएको छ । बाघ नेपालको संरक्षित स्तनधारी वन्यजन्तु, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धि (साइटिस) को अनुसूची १ र विश्व संरक्षण सङ्घको खतरामा परेका वन्यजन्तुको सूचीमा सङ्कटापन्न प्रजातिको रूपमा सूचीकृत छ ।
स्वस्थ पारिस्थितिकीय प्रणालीका लागि बाघ जोगाउन आवश्यक छ । बाघको सङ्ख्या घट्दा साना प्रजातिका वन्यजन्तुको सङ्ख्या पनि घट्छ । बाघ प्रकृतिको खाद्य शृङ्खलामा ‘शीर्ष शिकारी’ को रूपमा रहने जनावर हो । यसले जङ्गलमा चराचुरुङ्गी, मृग, हुरिण, जङ्गली बँदेलजस्ता जनावरहरूको सङ्ख्या सन्तुलनमा राख्न सहयोग गर्छ ।
यदि, बाघजस्ता शिकारी लोप भ एभने शिकार हुने जनावरहरूको सङ्ख्या अत्यधिक बढ्न सक्छ, जसले वनस्पति र पारिस्थितिक सन्तुलनमा प्रतिकूल असर पुर्याउँछ । त्यसैले, बाघ संरक्षण गर्नु सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई संरक्षण गर्नु हो ।
बाघको उपस्थिति स्वस्थ जङ्गलको सूचक हो । २०औँ शताब्दीको सुरुमा एक लाखभन्दा बढी बाघ थिए, तर अवैध शिकार, बासस्थानको विनाश र मानिस–बाघ द्वन्द्वले यसको सङ्ख्या नाटकीय रूपमा घटेको छ । बाघ विलुप्त भएमा सम्पूर्ण पारिस्थितिक प्रणाली प्रभावित हुनेछ, जसले गर्दा अन्य प्रजातिहरू पनि सङ्कटमा पर्न सक्छन् ।
बाघ राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रहरूको प्रमुख आकर्षण हो । यसले पर्यटन प्रवर्द्धन र त्यसबाट स्थानीयको अथोपार्जनमा सहयोग गर्छ ।
कसरी गर्ने बाघको व्यवस्थापन ?
नेपालमा बाघको सङ्ख्या वृद्धिले मानवीय जोखिम बढाएको केही हदसम्म सत्य हो । त्यसैले यसको उचित व्यवस्थापन आवश्यक छ । तर, बाघविज्ञरूका अनुसार बाघले मानिसमाथि हत्तपत्त आक्रमण गरिहाल्दैन । मानवीय क्षतिका अधिकांश घटना जङ्गलभित्र हुने गरेको घटनाक्रमहरूले देखाएका छन् । सर्वसाधारण जानेर वा नजानेर घाँस–दाउराका लागि जङ्गलभित्र पस्दा बाघको आक्रमणमा पर्ने गरेका छन् । यसको न्यूनीकरणका लागि संरक्षित वा मध्यवर्ती क्षेत्र वरिपरिका मानिसको जङ्गलप्रतिको निर्भरता घटाउँदै लैजानुपर्ने जानकारहरू बताउँछन् ।
बाघ व्यवस्थापनको अर्को पाटो यसको बासस्थान हो । मानवीय क्षतिका केही घटना बाघ जङ्गलबाहिर आएर पनि भएका छन् । कतिपय अवस्थामा बाघ मानवबस्तीमा प्रवेश गर्ने गर्छ । यसपछिको कारण बाघका लागि पर्याप्त आहार र प्रशस्त विचरण क्षेत्र उपलब्ध नहुनु हो । यस्ता घटना नियन्त्रण गरी दीर्घकालिन व्यवस्थापन गर्न जङ्गलभित्र बाघको आहार प्रजातिका जनावरको सङ्ख्या घट्न दिनु हुँदैन । ठाँउ–ठाँउमा पानीको व्यवस्था पनि गरिदिनुपर्छ ।
निष्कर्षमा, हालको विश्व परिवेशमा बाघको सङ्ख्या घट्नु उपयुक्त होइन । बरु यसको संरक्षण, वृद्धि र व्यवस्थापन अत्यन्त आवश्यक छ । विश्वका केही बाघ प्रजातिहरू पूर्णतः लोप भइसकेका छन् र अरू धेरै सङ्कटमा छन् । समयमै संरक्षण नगरे बाँकी प्रजातिहरू पनि लोप हुने खतरा छ । बाघ लोप भएमा केवल एउटा जनावर मात्र लोप हुँदैन, सम्पूर्ण पारिस्थितिकी तन्त्र नै असन्तुलित हुन्छ । यसको संरक्षण गर्नु भनेको केवल जनावर बचाउनु मात्र होइन, हाम्रो आफ्नै भविष्य सुरक्षित गर्नु हो ।
एकाथरीले बाघ ठूलो कि मान्छे भन्ने प्रश्न उठाउन सक्छन् । दुवै ठूला हुन् । प्रकतिका लागि दुवै आवश्यक छन् । बाघको जीवनमा मान्छे र मान्छेको जीवनमा बाघ बाधक हुनु भएन । बाघले वनमा र मान्छेले घरमा स्वतन्त्र र सुरक्षित रहन पाउनु दुवैका बराबर अधिकार हुन् । पृथ्वीमा मानिसलाई जत्तिकै अधिकार अन्य जीवजन्तुलाई पनि छ ।
FACEBOOK COMMENTS