ललितपुर । जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको चौमासिक समीक्षामा धारणा राख्ने सरोकारवालाहरुले विनियोजित आर्थिक वर्षको अन्त्यमा वार्षिक बजेट खर्च गर्ने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिएका छन् ।
जिल्लास्थित कार्यालय र स्थानीय तहले आर्थिक वर्ष २०८१-८२ को दोस्रो चौमासिक समीक्षामा सहजीकरण गर्ने प्रतिबद्धतासहितको मन्तव्य राख्दै जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिदेव फुयाँलले हरेक समीक्षाले सबैलाई केही न केही सन्देश दिन्छ भन्दै नागरिकले अनुभूति गर्नेगरी विकासका काम अगाडि बढाउन आग्रह गरे ।
“वार्षिक बजेटको ४० प्रतिशत असारमा खर्च हुने प्रवृत्ति रोकिनुपर्छ, त्यसका लागि ध्यान दिन आग्रह छ, कार्यक्रम सम्पन्न गर्ने जिम्मेवारी र दायित्व पूरा गर्ने कार्यालयलाई यस्ता समीक्षाले थप जिम्मेवार बनाउँछ”, उनले भने ।
उपप्रमुख रामलाल थिङले जनअपेक्षाअनुरुप विकासका गतिविधि अगाडि बढाउन सबै कार्यालयबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । कोन्ज्योसोम गाउँपालिकाका उपप्रमुख राजनप्रसाद घिमिरेले ललितपुरका तीनवटा गाउँपालिका गत असोज ११ र १२ गतेको बाढिपहिरोबाट धेरै प्रभावित भएकाले क्षतिको मूल्याङ्कनका आधारमा समस्या समाधान गर्नेगरी जिल्लास्थित विषयगत कार्यालयलाई आग्रह गरे ।
“हामी निर्वाचित भएको तीन वर्ष भयो, जिल्लाका विषयगत कार्यालयले गरेका कतिपय काम र कार्यक्रम हामीलाई नै थाहा हुँदैन, यो समस्या छ, स्थानीय सरकारलाई त्यहाँ सञ्चालन भएको कार्यक्रम जानकारी हुनुपर्छ । सङ्घ र प्रदेशका नियन्त्रणमा रहेका सबै कार्यालय स्थानीय सरकारप्रति पनि उत्तरदायी हुनुपर्छ”, उनले भने ।
ललितपुरका जिल्ला समन्वय अधिकारी हरिनारायण बेलवासेले आर्थिक वर्षमा विकास निर्माणमा देखिएका समस्या समाधानका लागि समन्वय, सहकार्य र सहजीकरणको काम जिल्ला समन्वय समितिको भएकाले समाधानका उपाय ल्याउन आग्रह गरे ।
“स्थानीयस्तरका समस्याहरु तपाईंले ल्याउने हो, हामीले तपाईंहरुलाई सहजीकरण गर्ने हो, काम देखाउनका लागि प्रस्तुतीकरण मात्रै लिएर नआउनूस्, अलि रचनात्मक र जनजीविका सुधार गर्नेखाका कार्यक्रमहरु पनि बनाउनूस्, सहजीकरणका लागि भएका समस्यामा हामी तयार छौँ”, उनले भने ।
सडक डिभिजन कार्यालय ललितपुरका इन्जिनियर आशिष महर्जनले जिल्लामा रहेका ४२ वटा सडकहरुमा ३७.४ प्रतिशत वित्तीय प्रगति रहेको बताए । उनले जिल्लामा ३९ वटा सडकमा निर्माणका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी गराए।
कान्तिलोकपथ आयोजनाका इन्जिनियर उपेन्द्र महरानले कान्तिलोकपथको ललितपुर खण्डमा पहिरोको मुख्य समस्या रहेको बताए । उनले सडकलाई नियमित सञ्चालन गर्नका लागि मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती खोलामा १० चक्के गाडी गुड्न मिल्ने बेलिब्रिज निर्माण गर्नेगरी काम भइरहेको जानकारी गराए ।
पूर्वाधार विकास कार्यालय ललितपुरका इन्जिनियर रबिन खातीले प्रदेशअन्तर्गत जिल्लामा सञ्चालनमा रहेका योजनामा ६ प्रतिशत वित्तीय प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको जानकारी गराए ।
FACEBOOK COMMENTS