बेलायत । नेपालमा जन्मिएका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारूमगर बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित भएका छन् ।
आज ननिटनको काउन्सिल हलमा सम्पन्न बार्षिक बैठकमा भएको निर्वाचनमा सत्तापक्ष लेबर पार्टीका काउन्सिलर क्याप्टेन सारू मेयर पदमा निर्वाचित भएका हुन् ।
लेबरका १९, कन्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जना काउन्सिलर रहेको बरोमा सारुले २० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी विल मार्कमले १५ मत प्राप्त गरे ।
अन्य चार जना काउन्सिलर निर्वाचन प्रक्रियामा अनुपस्थित थिए । मेयरमा निर्वाचित भएका सारूले आजै काउन्सिलको पूर्ण बैठकमा पद तथा गोपनीयताको शपथ लिए । उनलाई निवर्तमान मेयर विल ह्यानकक्सले पद हस्तान्तरण गरेका थिए ।
शपथ ग्रहणपछि मेयर सारूले नेपालको ग्रामीण भेगमा जन्मेर बुवाको पाइला पछ्याउँदै बेलायती फौजमा भर्ती भएको सामान्य मानिसलाई बेलायतमा मेयरको रूपमा सेवा गर्ने अवसर दिएकामा काउन्सिल तथा बरोका सम्पूर्ण जनतालाई धन्यवाद दिए ।
सो अवसरमा उनले बरोमा रहेका सबै वर्ग र समुदायलाई समेटेर काउन्सिलको सेवा प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने बताए । शपथ ग्रहणपछि कार्यभार सम्हालेलगत्तै रासससँग कुरा गर्दै मेयर सारूले नेपालमा जन्मिएर बेलायतमा मेयर बन्न पाएकामा खुसी व्यक्त गरे ।
विश्वका विभिन्न ठाउँमा नेपालीले पनि नेतृत्व तहमा बसेर काम गर्न पाउनु समग्र नेपालकै गर्व भएकाले उनले आफूले सिकेका कुरा नेपालमा साटासाट गर्न तयार रहेको बताए ।
‘सबैभन्दा पहिले त मेयरको रूपमा आफूले काम गर्ने जिम्मेवारी पाएको बरोकै हित समग्र विकासका लागि मेरा योजनाहरू कार्यान्वयन गर्ने हो । त्यसका लागि यहाँको समुदायका विषयहरू मेरा प्राथमिकताहरू हुन्,’ उनले भने, ‘यहाँ पनि ठूलो सङ्ख्यामा नेपाली समुदाय हुनुहुन्छ, पक्कै उहाँहरूलाई केही सहज हुनेछ । मेयरका रूपमा मेरो अनुभव नेपालका लागि पनि फलदायी हुन सक्छ । म मेयरहरूसँग सहकार्य गर्न सकारात्मक छु ।’
बेलायतमा गोर्खा भर्तीको दुई सय वर्षभन्दा लामो इतिहासमा पूर्वगोर्खाको तर्फबाट नेपालमा जन्मिएका व्यक्ति पहिलो पटक मेयरको रूपमा निर्वाचित हुन पाउँदा खुसी लागेको उनले बताए ।
को हुन् सारू ?
पाल्पाको चिदिपानी चन्द्रवन, हालको माथागढी गाउँपालिका–१ मा जन्मिएका सारूले सौभाग्य माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका हुन् । त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक पढ्दै गर्दा सन् १९९३ मा बेलायती सेनामा भर्ती भएका हुन् ।
झण्डै तीन दशक ब्रिटिश सेनामा सेवा गर्नुभएका सारू हाल ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएशनका अध्यक्षसमेत हुन् । सारू रोयल इन्जिनियर्सको ग्यारिजन इन्जिनियरको रूपमा सेवानिवृत्त भएका हुन् । बेलायतमा सन् २०१७ देखि ‘सारू इम्ब्रोइडरी’ व्यवसाय चलाइरहेका सारू बेलायतमा सफल व्यवसायी मात्रै नभएर समाजसेवीसमेत हुन् । उनी विगत चार वर्षदेखि बेलायती राजनीतिमा सक्रिय छन् ।
FACEBOOK COMMENTS