काठमाडौं । नियामक निकाय नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यको पुनरागमनसँगै नेपालमा ‘अघोषित लोडसेडिङ’ सुरू भएको छ । प्राधिकरणमा शाक्य दोस्रोपल्ट कार्यकारी निर्देशक नियुक्त भएको केही दिनपछि नै सङ्घीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिन थालेको थियो र यो समस्या हाल पनि जारी छ ।
देशलाई लोडसेडिङमुक्त गर्न महत्त्वपूर्ण भूमिका खेलेका प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्दै सरकारले उनको ठाउँमा शाक्यलाई ल्याएको हो । मन्त्रिपरिषद्को गत चैत ११ गतेको बैठकले घिसिङलाई पदमुक्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो ।
शाक्यले यसअघि पनि विद्युत् प्राधिकरणको नेतृत्व गरिसकेका थिए भने घिसिङ पनि दुईपल्ट यो जिम्मेवारीमा रहे । घिसिङको पहिलो कार्यकालमा नेपाल लोडसेडिङमुक्त देश घोषणा भएको थियो ।
स्मरणीय छ, शाक्यले पहिलो कार्यकाल सम्हाल्दै गर्दा बीचमा उनलाई अन्यत्र सरुवा गरेर घिसिङलाई दोस्रोपल्ट नियुक्त गरिएको थियो । त्यसविरुद्ध शाक्य सर्वोच्च अदालत गएका थिए । तर, लामो समयसम्म उनले दर्ता गरेको रिटमा आदेश आएन भने घिसिङ जिम्मेवारीमा रहिरहे ।
पछिल्लो समय घिसिङले उद्योगी–व्यवसायीहरूले उपभोग गरेको ‘डेडिकेटेड र ट्रङ्कलाइन फिडर’ को विद्युतको महसुल हरहालतमा असुल गरेरै छाड्ने अडान लिएपछि सरकारले उनलाई बर्खास्त गरेको हो । ऊर्जामन्त्री दीपक खड्काको आँखाको कसिङ्गर बनेपछि घिसिङलाई कार्यकाल नसिकिँदै सरकारले पदच्युत गरेको हो ।
यता, पुनः जिम्मेवारीमा फर्किएपछि कार्यभार सम्हाल्दै गर्दा हालका कार्यकारी निर्देशक शाक्यले विद्युत् आपूर्तिमा समस्या नहुने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, यसको विपरीत उनले जिम्मेवारी सम्हालेको छोटो समयमै बिनासूचना झ्याप–झ्याप्प विद्युत् कटौती हुन थालेको छ । र, उपभोक्ताहरूले यसलाई लोडसेडिङको सङ्केतका रूपमा हेरिरहेका छन् । कतिपय उपभोक्ताहरूले प्राधिकरणको नेतृत्वमा शाक्यको फिर्तीसँगै ‘दिउँसै रात पर्न थालेको’ आक्रोशमिश्रित टिप्पणी र विद्युत् कटौती हुँदा ‘हितेन्द्र गयो’ भन्दै व्यङ्ग्य गर्न थालेका छन् ।
यसका साथै, कतिपयले त ऊर्जामन्त्री दीपक खड्कालाई नै जिम्मेवारीबाट हटाउनुपर्ने समेत भन्न थालेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले विद्युत् आपूर्तिमा समस्या देखिन थालेपछि मन्त्री खड्कालाई बर्खास्त गर्नुपर्ने बताएका हुन् ।
लोडसेडिङको तालिकाबिनै पटक–पटक बिजुली काटिएको र आफ्ना कामहरू सबै प्रभावित बनेको भन्दै उनले ऊर्जामन्त्री खड्काप्रति आक्रोश पोखेका हुन् । मन्त्री खड्कालाई संयुक्त बृहत् जनआन्दोलन गरेर हटाउनुको विकल्प नभएको उनको भनाइ छ ।
उनले ऊर्जामन्त्री खड्कालाई ‘पापी’ र ‘दुष्ट’ शब्दले आरोपित गर्दै पदबाट तत्काल हटाउनुपर्ने बताएका छन् । ‘ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत् जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ,’ सामाजिक सञ्चाल फेसबुकमा उनले लेखेका छन्, ‘त्यस्तो दुष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो । तर, उनीहरूले हटाउने छाँटकाँट देखिएन । बृहत् जनआन्दोलन अन्तिम उपाय देखियो ।’
वीरगञ्ज कृषि औजार कारखाना र कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा बारम्बार बत्ती गइरहेपछि पुनले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘वीरगञ्ज कृषि औचार कारखानामा र राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुरमा झ्याप–झ्याप बत्ती गइरहन्छ । भाइबहिनीहरूले काम गर्न पाउँदैनन्,’ उनले भनेका छन्, ‘१५ र ३० केभीएको डिजेल जेनेरेटर चलाएर काम गर्नु परिरहेको छ । त्यसो हुँदा रिस नउठेर के माया लाग्छ त मन्त्रीको ?’
तर यता, कार्यकारी निर्देशक शाक्यले भने प्राधिकरणमा नेतृत्व परिवर्तनकै कारण विद्युत् आपूर्तिमा समस्या नभएको दाबी गरेका छन् । केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा उनले आफू प्राधिकरणको नेतृत्वमा आएकै कारण विद्युत् आपूर्तिमा समस्या भएको कुरा सत्य नरहेको बताएका थिए ।
उनले विद्युत् आपूर्तिमा समस्या देखिनुमा प्राविधिक र मौसमको कारण देखाएका थिए । विगतका वर्षहरूमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको भन्दै उनले केही दिन हावाहुरी र वर्षाका कारण समस्या आए पनि अन्य समयमा सामान्य हुने बताए ।
बत्ती जानुमा अहिले अन्य कारण केही नभएको दाबी गर्दै उनले समस्या आइसकेपछि कराउनेतिर नभई समयमै सुधार्नेतर्फ लाग्नुपर्ने बताए । समस्याको पहिचान भइसकेको र त्यसलाई समाधान गर्नेतर्फ आफू लागिपरेको उनको भनाइ थियो ।
FACEBOOK COMMENTS