काठमाडौं । साताको पहिलो कारोकार दिन आज आइतबार नेप्सेले सकारात्मक माहोल दिन सकेकाे छैन ।
यो समयमा बजार सकारात्मक वा नकारात्मक के होला भन्ने उत्सुकता लगानीकतार्मा हुँदा साताको पहिलो दिनको बजारले भने उत्साह जगाउन नसकेकाे देखिएको छ ।
नेप्से परिसूचक आज ८ दशमलव ५७ अङ्क अर्थात् ० दशमलव ३३ प्रतिशतले घटेर दुई हजार ६७ दशमलव ४१ विन्दुमा रोकिएको छ ।
आजको कारोबारमा विभिन्न ३१४ कम्पनीका १ करोड ८५ लाख ५ हजार ७१२ कित्ता शेयर ७ अर्ब ६० करोड ९५ लाख १४ हजार २२ रुपैयाँमा किनबेच भएका छन् । माइक्रोफाइनान्स समूहमा भने सामान्य उत्साह देखिएको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको तेसो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यस्तै, नयाँ बजेट सार्वजनिक हुने दिन पनि नजिकिएको छ । तर पनि बजारले सकरात्मक लए लिन सकेको छैन । लगानीकर्ता पर्ख र हेर को अवस्थामा रहेको देखिन्छ ।
लगानीकर्ताको मनोबल उच्च हुन नसकेको तथा क्रेताहरुको खरिद क्षमता वृद्धि हुन सक्दा बजारमा प्रभाव परिरहेको जानकारहरु बताउँछन् ।
अहिले सस्तो ब्याजदरमा सेयर धितो कर्जा पाएपनि बैंक–वित्तीय संस्थाबाट सेयर धितो कर्जा लिनेक्रम पनि १ वर्षको बीचमा ह्वात्तै बढेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । तर यति हुँदा पनि त्यसको सेयर बजारमा सकारात्मक प्रभाव खासै देखिन सकेको छैन ।
आज लघुवित्त समूह दुई दशमलव ३२ र व्यापार समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ ने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव ६६, विकास बैंक एक दशमलव ४६, वित्त शून्य दशमलव ९९, होटल तथा पर्यटन एक दशमलव ७५ र जलविद्युत् शून्य दशमलव ३६ प्रतिशतले घटेको छ ।
त्यस्तै, लगानी समूह एक दशमलव शून्य तीन, जीवन बिमा शून्य दशमलव ३३, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य तीन, म्युचुअल फण्ड दुई दशमलव ९६, निर्जीवन बिमा शून्य दशमलव १० र अन्य समूह शून्य दशमलव ४५ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर मूल्य आठ दशमलव २८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ७१ करोड ४९ लाख २८ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु सेलेक्ट फण्डको १४ लाख ९० हजार छ सय ४९ कित्ता शेयर किनबेच भएको छ ।
FACEBOOK COMMENTS