काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरू भएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमहरूबारे छलफल गर्न यी दुई पार्टीको महत्वपूर्ण बैठक आज बसिरहेको हो भने सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक भोलि सोमबार बस्ने तयारी छ ।
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा जेठ १५ गते आउन लागेको बजेट, जेठ १५ गते नै काठमाडौँमा राजावादीहरुले गर्न लागेको आन्दोलन लगायतका विषयमा समेत छलफल हुने बताइएको छ ।
यस्तै, केन्द्रीय कार्यालय वनस्थलीमा शुरु भएको रास्वपाको बैठकमा सर्वोच्च अदालतले सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश सदर गरेपछिको अवस्था बारेको छलफलमा केन्द्रित हुने बताइएको छ ।
त्यस्तै बैठकमा भिजिट भिसा प्रकरण र गृहमन्त्रीको संलग्नता, पार्टीको आगामी कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डर तथा पार्टीको तेस्रो स्थापना दिवस (असार ७) को कार्यक्रमबारे छलफल हुने बताइएको छ ।
FACEBOOK COMMENTS