काठमाडौं । राजसंस्था फर्काउने भन्दै राजावदी दल तथा विभिन्न संघसंस्थाहरूले जनआन्दोलन चलाइरहेका बेला हिमानी ट्रष्टले नारायणहिटी दरबारभित्रै दीप प्रज्ज्वलनको कार्यक्रम तय गरेको छ ।
दरबार हत्याकाण्डमा निधन भएका राजपरिवारहरूको सम्झनामा ट्रस्टले भोलि १९ गते दीप प्रज्ज्वलनको कार्यक्रम राखेको हो ।
‘स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव एवम् स्वर्गीय श्री ५ बडामहारानी ऐश्वर्य राज्य लक्ष्मीदेवी शाहलगायत सम्पूर्ण दिवङ्गत शाही परिवारका सदस्यहरूको आत्माको चिर शान्तिको कामना हेतु श्रद्धाञ्जली टक्र्याउन सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ,’ हिमानी ट्रष्टद्वारा जारी सूचनामा उल्लेख छ ।
सूचना अनुसार श्री चतुर्व्यूह नारायण धाम परिसरमा भोलि साँझ ६ः३० बजेट दीप प्रज्वलन गरिने कार्यक्रम छ । उक्त कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित हुने/नहुनेबारे भने सूचनामा खुलाइएको छैन ।
वि.स. २०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र एक रात्रीभोजका क्रममा गोली चल्दा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको वंश विनाश भएको थियो । उनीहरूको सम्झानामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम स्वाभाविक भए पनि राजावादीहरूले जनआन्दोलन चलाइरहेका बेला भने अर्थपूर्णरूपमा हेरिएको छ ।
FACEBOOK COMMENTS