काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा वकालत गर्दै आएका दुई प्रमुख दल राप्रपा र राप्रपा नेपालका शीर्ष नेताबीच नै खटपट सुरू भएको घटनाक्रमहरूले देखाएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सम्बन्धमा दरार देखिएको हो ।
आज मात्रै विकसित घटनाले पनि यसलाई थप पुष्टि गरेको छ । आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्न भन्दै आज बुधबार बोलाइएको राजसंस्था पक्षधरहरूको बैठकमै अध्यक्ष लिङ्देन उपस्थित भएनन् । उनको अनुपस्थितिपछि बैठकमा सहभागी कमल थापाले सम्बोधन गर्न खोज्दा हल्लाखल्ला भएको छ । त्यसपछि बैठक अनिर्णीत बन्दै स्थगित हुन पुगेको छ ।
राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष लिङ्देन नै बैठकमा अनुपस्थित भएपछि कार्यकर्ताले उनको खोजी गर्दै हो–हल्ला गरेका थिए । हो–हल्ला भएपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले बैठक स्थगित गरे ।
बैठकमा लिङ्देन संसदमा व्यस्त रहेकाले अनुपस्थित भएको जानकारी गराइएको थियो । तर, असन्तुष्ट पक्षहरूले भने ‘संसद चाहिने भए आन्दोलन केका ?’ लागि भन्दै हल्लाखल्ला गरेका थिए ।
पछिल्लो समय राजावादी दल र समूह नै विभाजित बन्दै गएको परिदृश्यमा आजको घटनाले ‘आगोमा घिउ’ थप्ने काम गरेको छ । केही राजावादी युवाहरूले आन्दोलनका नेतृत्वकर्ताप्रति असन्तुष्टि जनाउँदै आजै छुट्टै बैठकसमेत गरेका छन् । ‘बूढाहरूबाट आन्दोलनको नेतृत्व हुन नसक्ने’ भन्दै करिब ५० जना युवाहरूको समूहले संयुक्त बैठकपछि छुट्टै बैठक गरेको समाचार छ ।
यसअघि, जेठ १८ गते नक्सालस्थित नारायणचौरमा भएको आन्दोलनका क्रममा कमल थापा पक्राउ परेका थिए । उनी पक्राउ परेपछि प्रदर्शनकारीलाई सम्बोधन गर्दै राजेन्द्र लिङ्देनले थापालाई तत्काल सम्माजनक रिहा नगरिए आन्दोलनले नयाँ रूप लिने चेतावनी दिएका थिए ।
उता, सोही दिन संयुक्त जनआन्दोलन समितिले थापासहितका राजावादी नेता–कार्यकर्ता पक्राउको विरोधमा जेठ १९ गतेलाई काठमाडौं उपत्यका बन्दसहितको आन्दोलन घोषणा गरेको थियो । तर, जेठ १८ गते साँझ नै प्रहरीले कमल थापासहितका राजावादी नेता–कार्यकर्तालाई रिहा गर्यो । त्यसपछि सामाजिक सञ्जालमा लेख्दै राजेन्द्र लिङ्देनले १९ गतेको उपत्यका बन्दको कार्यक्रममा आफू नेतृत्वको राप्रपा सहभागी नहुने जानकारी गराए ।
उक्त घटनाले नै राजावादीहरूबीच आपसमा मतैक्यता नरहेको देखाएको थियो । एकातिर बन्द घोषणासहित सशक्त आन्दोलन गर्ने तयारी संयुक्त जनआन्दोलन समितिले गरेकामा अर्कातिर राजावादी मोर्चाको प्रमुख घटक राप्रपा नै त्यसमा सहभागी नहुने भन्नुले पनि आपसमा मतभेद रहेको बुझिन्थ्यो । राप्रपा सहभागी नहुने भएपछि संयुक्त जनआन्दोलन समितिले १८ गते साँझ नै विज्ञप्ति जारी गर्दै उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको थियो ।
वर्तमान व्यवस्थाकै आडमा संसदीय राजनीतितमा सहभागी राप्रपाले राजावादी आन्दोलनलाई ‘आफ्नो रोटी सेक्ने’ अस्त्रका रूपमा प्रयोग गरिरहेको जस्तो देखिन थालेको छ । यसबीच अध्यक्ष राजेन्द्र लिङ्देनका केही गतिविधले पनि यसमा शङ्काको प्रशस्त सुविधा दिएको छ ।
स्मरणीय छ, जेठ १८ गते राजावादी आन्दोलनलाई अझ सशक्त बनाउने हेतुले कमल थापा पक्राउ पर्नसम्म तयार भएका थिए । त्यसैका लागि उनले राजावादीको भीडलाई निषेधित क्षेत्र तोडेर बालुवाटारतर्फ अघि बढ्न प्रोत्साहित गरेका थिए । त्यहीबेला थापासहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यसैको बलमा आन्दोलनलाई नयाँ मोड दिन सकिन्छ भन्ने ठानेर थापाले भीडलाई उक्साएको बुझ्न गाह्रो पर्दैन । आफू पक्राउ परे पनि राप्रपासहितले आन्दोलनलाई सशक्त बनाउने उनको बुझाइ थिया नै । कमल थापा लामो समय राप्रपामै अध्यक्षता गरेर पटक–पटक सत्ता र शासनको अनुभव गरेर खारिएका नेता हुनाले पनि उनले सित्तैमा भिडलाई निषेधित क्षेत्रतर्फ प्रवेश गर्नका लागि उक्साएका होइनन् भन्न धेरै सोचिरहनु पर्दैन ।
तर, लिङ्देनले भने थापाले सोचेभन्दा विपरीत चरित्र देखाइदिए । आन्दोलन थप सशक्त होला भन्ने सोचेका कमल थापाको विचारले ‘फेल’ खायो । लिङ्देनको गतिविधिबाट उनले आन्दोलनलाई ‘आफ्नो दुनो सोझ्याउने’ हतियारका रूपमा मात्र प्रयोग गरिरहेको पुष्टि हुँदै गएको छ ।
अघिल्लो महाधिवेशनबाट राप्रपाको अध्यक्षमा लिङ्देन निर्वाचित भएसँगै राप्रपाबाट छुट्टिएर राप्रपा नेपाल ब्युँताएका कमल थापा केही समय राजसंस्थात्मक विचार त्यागेर बसे । तर, बीचमा आत्मालोचना गर्दै पुनः पुरानै एजेण्डामा फर्किएका उनी जेठ १५ गतेयता मात्रै हाल भइरहेको राजावादी आन्दोलनमा मिसिन आएका हुन् । त्यसअघि भएका आन्दोलनमा राप्रपा नेपालको सहभागिता थिएन । आफ्नो पार्टीसमेतको बलमा राजसंस्था र हिन्दुराष्ट्र फर्काउने आन्दोलनले सार्थक रूप लिने आशासहित यसमा सामेल हुन आएका थापा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको द्वैध चरित्रको गतिविधिबाट हच्किएका छन् ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS