काठमाडौं । भारतको बैंगलुरुको एम चिन्नास्वामी स्टेडियममा भएको भागदौडमा ११ जनाको मृत्यु भएपछि आईपीएल बिजेता रोयल च्यालेञ्जर्स बैंगलोरु (आरसीबी) का मार्केटिङ प्रमुख निखिल सोसालेसहित चार जना पक्राउ परेका छन् ।
मुम्बई जान लागेका सोसालेलाई बैंगलोरु विमानस्थलबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यहाँका मुख्यमन्त्रीले उनीमाथि उच्चस्तरीय छानविन गर्न निर्देशनसमेत दिएको बताइएको छ ।
यसैबीच आरसीबीका प्रभावशाली क्रिकेटर विराट कोहलीलाई पनि पक्राउ गर्न भारतीय जनताले तीव्र माग गरिरहेका छन् । रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) लाई यस सिजनको आईपीएल जिताउन महत्वपूर्ण भूमिका निभाएका विराटविरुद्ध सामाजिक सञ्जाल एक्समा ‘ह्यासट्याग एरेष्टकोहली’ ट्रेन्ड गरिरहेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विराट जस्ता सिनियर खेलाडीले फ्यानको संवेदनशीलतालाई नबुझेको, स्टेडियमबाहिर फ्यानहरु मरिरहँदा स्टेडियमभित्र जितको खुसी मनाइरहेको भन्दै आलोचना गरिरहेका छन् ।
विराट भागदौडको एक दिनपछि बिहीबार मुम्बई विमानस्थलमा श्रीमती अनुष्का शर्मासँग देखिएका थिए । यसपछि विराटको अनलाइनमा तीव्र आलोचनाको सामना गर्नुपरेको छ । घटना भएको एक दिनपछि विराट यति चाँडै निस्कनु असंवेदनशील भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो आक्रोश व्यक्त गरेका छन् ।
यसअघि विराटले घटनापछि सामाजिक सञ्जालमार्फत आफू स्तब्ध भएको उल्लेख गरेका थिए ।
FACEBOOK COMMENTS