काठमाडौं । करिब पाँच लाख बाथरोगी बिरामीलाई सेवा पुर्याइसकेको रातोपुल, काठमाडौंस्थित नेशनल बाथरोग सेन्टरले स्थापनाको १२औँ वार्षिकोत्सव मनाएको छ ।
होटेल रामदा, धुम्बाराहीमा आयोजित वार्षिकोत्सव समारोहमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल प्रमुख अतिथिको रुपमा रहेका थिए । समारोहमा सेन्टरका संस्थाका बोर्ड सदस्य, चिकित्सक, कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले नेशनल बाथरोग सेन्टरले रोगीहरुका लागि आवश्यक औषधि प्रयोगको अनुमतिका बारेमा समन्वय गर्न विभाग सदैव तयार रहेको बताए ।
महानिर्देशक ढकालले नेपालमा भिटामिन डिको अभावको बारेमा विभिन्न टिका–टिप्पणी भैरहेको अवस्थामा बाथरोग विशेषज्ञहरुले गहिरो अनुसन्धान गर्नु पर्ने आवश्यकता औल्याए । यसका साथै उनले सेन्टरले तयार पारिरहेको सुविधाजनक एपलाई नेपाली भाषामा समेत तयार पार्न सुझाव दिए ।
कार्यक्रममा नेशनल बाथ रोग सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा. बिनित वैद्यले नेशनल बाथरोथ सेन्टरको नयाँ मोबाइल एपबारे जानकारी दिँदै सेवा प्रवाहलाई देशका पूर्वदेखि पश्चिमसम्म फैलाउन सफल भएको उल्लेख गरे ।
समारोहमा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले आगामी दिनमा नेशनल बाथरोग सेन्टरबाट अझ सुलभ, गुणस्तरीय र देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रबन्ध निर्देशक कक्षपतिका अनुसार वर्तमान परिपेक्षमा बाथरोगको पहिचार गरी उपचार गर्ने, अनुसन्धान एवं जनचेतना अभिवृद्धि गरी गुणस्तरीय उपचार देशभरी पुर्याउने उदेश्यका साथ स्थापना भई काठमाडौंको रातोपुल, ललितपुरको पुल्चोक, भक्तपुरको टेखापुखु, पोखराको मुस्ताङ चौक, बिर्तामोडको शनिश्चरे रोड रोड, बुटवलको सुख्खानगर, दाङको तुलसीपुर तथा चितवनको भरतपुरबाट समेत नेशनल बाथरोग सेन्टरले विगत १२ वर्षदेखि सेवा दिइरहेको छ ।
१२ वर्षअघिको स्थापना कालदेखि नै सेन्टरको उद्देश्य गुणस्तरीय बाथरोग उपचार सेवा नेपालमै उपलब्ध गराउने रहेको छ ।
हालसम्म करिब ५ लाख बिरामीले सेवा लिइसकेको जनाइएको छ । सेन्टरले बाथरोगको प्रभावकारी परामर्श, उपचार, जोर्नी संरक्षण र जीवनशैली सुधारमा उल्लेखनीय योगदान दिँदै आएको छ ।
बाथरोग उपचारमा दक्ष जनशक्ति उत्पादनका लागि सेन्टरले विभिन्न तालिम र स्किल डेभलपमेन्ट कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । साथै, विगत दुई वर्षदेखि भारतको लेडी हार्डवर्ड मेडिकल कलेज र मेदान्ता अस्पतालसँगको सहकार्यमा पोस्ट डक्टरेट फेलोसिप इन क्लिनिकल र्युम्याटोलोजी कार्यक्रम सञ्चालन भइरहेको छ ।
नेशनल बाथरोग सेन्टरले सन् २०१३ मै नेपालमा पहिलोपटक १८ वटा इएनए प्यानल एन्टिजेन परीक्षण सुरु गरेको थियो । हाल संस्थाले नेल फोल्ड क्यापिलेरोस्कोपी, मस्कुलोस्केलेटल अल्ट्रासाउन्ड र थर्मोग्राफी जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग गरिरहेको छ, जसले निदान प्रक्रियालाई अझ सटीक बनाएको छ।
बाथरोगको प्रारम्भिक परीक्षण खर्च १५ हजार रुपैयाँ सम्ममा सीमित गरिएको छ, जुन विगतमा २० हजार रुपैयाँसम्म थियो। यस्ता सेवा विदेशको तुलनामा निकै सस्तो रहेको संस्थाले जनाएको छ । तर, स्वास्थ्य बीमा प्रणालीमा इम्युनोलोजिकल परीक्षणहरू समावेश गरिनुपर्ने आवश्यकता औंल्याइएको छ ।
हाल सेन्टरमा ११ जना विशेषज्ञ चिकित्सकसहित १०८ जनाको टीम कार्यरत छ। सेन्टरले हालसम्म ८ शाखामार्फत सेवा दिइरहेको छ र यसै वर्ष धनगढी र सुर्खेतमा शाखा विस्तार गर्ने योजना अघि बढाइएको छ।
नेशनल बाथरोग सेन्टरको १२ वर्षे यात्रा सेवा, प्रविधि, दक्षता र जनचेतनाको समन्वयमा आधारित छ । निजी क्षेत्रबाट अगाडि बढेको संस्थाले बाथरोग उपचारको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै, आम नागरिकको जीवनस्तर सुधारमा योगदान पुर्याइरहेको छ । आगामी वर्षहरूमा अझ व्यापक, गुणस्तरीय र सुलभ सेवा प्रदान गर्ने लक्ष्यका साथ संस्था प्रतिबद्ध रहेको प्रवन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिए ।
बाथरोगको उपचार नगरे के हुन्छ ?
बाथरोगको समयमै उपचार गरिएन भने यसले शारीरिक अंगभंग हुनुका साथै ज्यानै जान सक्ने बाथरोग विशेषज्ञहरुको भनाइ छ । यद्यपि, अझै पनि यो रोगका बारेमा धेरैलाई जानकारी हुन सकेको छैन । हाल नेपालमा करिव दुई दर्जन बाथ रोग विशेषज्ञहरु कार्यरत छन्, जसले गर्दा उपचारमा नआएका विरामी सबै उपचारमा आउने हो भने पनि ती सबैलाई हेर्न सक्ने जनशत्ति प्रयाप्त नभएकाले यसप्रति सरकार गम्भीर हुन जरुरी रहेको नेशनल बाथरोग सेन्टरको भनाइ छ ।
FACEBOOK COMMENTS