काठमाडौँ । कोलम्बियाको बोगोटामा एक चुनावी कार्यक्रमको क्रममा कोलम्बियाली राष्ट्रपति पदका उम्मेदवार मिगुएल उरिबे टर्बेमाथि गोली प्रहार भएको छ ।
मिगुएलमाथि तीन गोली प्रहार गरिएको र दुई गोली उनको टाउकोमा लागेको बताइएको छ । ३९ वर्षीय मिगुएल उरिबे टर्बे शनिबार बोगोटाको एक पार्कमा मानिसहरूलाई सम्बोधन गरिरहेका बेला उनीमाथि आक्रमण भएको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले घटनास्थलबाट एक १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।
फोनमा रेकर्ड गरिएको फुटेजमा उनलाई भाषण दिइरहेका बेला गोली प्रहार गरिएको देखिएको छ । यसपछि त्यहाँ अराजकताको अवस्था सिर्जना भएको थियो ।
समाचार एजेन्सी एएफपीले प्यारामेडिक्सलाई उद्धृत गर्दै मिगुएलको टाउकोमा दुई र घुँडामा एक गोली लागेको बताएको छ ।
उनको पार्टी सेन्ट्रो डेमोक्र्याटिकोले आक्रमणको निन्दा गर्दै यो राजनीतिज्ञ, कोलम्बियाको लोकतन्त्र र स्वतन्त्रताको लागि ठूलो खतरा भएको बताएको छ । कोलम्बियाली सरकारले आक्रमणको निन्दा गर्दै यो आक्रमण केवल एक व्यक्तिमाथि मात्र नभई लोकतन्त्रमाथिको आक्रमण भएको बताएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि यो आक्रमणलाई लोकतन्त्रमाथिको प्रत्यक्ष आक्रमण भनेका छन् ।
FACEBOOK COMMENTS