काठमाडौं । भारतको कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले बैङलुरुको चिन्नास्वामी स्टेडियमबाहिर भएको भागदौडमा मृत्यु भएकाहरूका लागि क्षतिपूर्ति रकम बढाउने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाला एक पोष्टमा उनले लेखेका छन्, ‘मैले चिन्नास्वामी स्टेडियममा भएको भागदौडमा मृत्यु भएकाहरूको परिवारलाई घोषणा गरिएको क्षतिपूर्ति १० लाखबाट बढाएर २५ लाख पुर्याउन आदेश दिएको छु ।’
यससँगै उनले यस दुर्घटनामा आफ्ना आफन्त गुमाएकाहरूले आर्थिक कठिनाइका कारणले पीडित हुनु नपर्ने उल्लेख गरेका छन् ।
गएको बुधबार रोयल च्यालेन्जर्स बैङलुरुले जितेको पहिलो आईपीएल उपाधिको विजय उत्सवका क्रममा चिन्नास्वामी स्टेडियमबाहिर भएको भागदौडमा कम्तीमा ११ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।
१८ वर्षपछि रोयल च्यालेन्जर्स बैङलुरुले आईपीएल ट्रफी जितेपछिको विजय उत्सवमा एक लाखभन्दा बढी प्रशंसकहरू रङ्गशालाबाहिर भेला भएपछि भागदौड मच्चिएको थियो ।
रोयल च्यालेन्जर्स बैङलुरुले पनि मृतकका परिवारका लागि १०–१० लाख दिने घोषणा गरेको थियो ।
FACEBOOK COMMENTS