काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशनमा नियुक्तिका लागि सिफारिस भएका तीन जना र न्याय परिषद सदस्यमा नियुक्तिका लागि सिफारिस भएका एक जनाविरुद्ध उजुरी आह्वान गरेको छ ।
समितिले सार्वजनिक सूचना निकाल्दै १० दिनभित्र समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालय वा ई–मेलमार्फत उजुरी दिन आग्रह गरेको छ ।
यसअघि शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि तीन जना र न्याय परिषदको सदस्यमा नियुक्तिका लागि सिफारिस भएका एक जनाको संसदीय सुनुवाइ प्रारम्भ भएको थियो ।
समितिले संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिहरूका सन्दर्भमा सर्वसाधारणलाई जानकारी दिन तथा कुनै सूचना वा उजुरी भए समितिसमक्ष बुझाउन सूचनालाई सरकारी सञ्चारमाध्यम तथा विद्युतीय सञ्चारमाध्यममार्फत सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
न्याय परिषदको जेठ २६ गतेको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

त्यस्तै, गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषदको सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका थिए ।

हेर्नुहोस् उजुरी आह्वानको सूचना–

