जति संक्रमित भेटिन्छन्, गाउँलेले सुरुमा संक्रमण पुष्टि भएकी स्वास्थ्यकर्मीलाई दोष दिन्छन् ।
काठमाडौँ — मास्क लगाएकी युवती दुई तलामाथिबाट भुइँमा ओर्लिइन् । त्यहाँ उनका भाउजू, काका र अरू आफन्त थिए । सबैलाई देख्नेबित्तिकै उनले पिलपिल आँसु झारिन् । आफन्तले उनलाई सम्झाए । उनको सुक्कसुक्क रोकिएन । यो आइतबार दिउँसोको कुरा हो ।
ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुकी ती युवती कोरोनामुक्त भएर काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालबाट एम्बुलेन्समा असार २५ गते अपराह्न ५ बजे घर आइपुगेकी थिइन् । नुहाएर खाजा खाइन् । परिवारका सदस्यहरू भेला भएर खुसियाली साटे । बेलुकाको खाना खाने बेला हुँदै थियो, दाइको मोबाइलमा प्रहरी र पाटन अस्पतालबाट फोन आयो । त्यसले उनीहरूको ओठतालु सुकायो । दुई घरमा रहेका ९ जनामा कोरोना संक्रमण भएको खबर प्रहरी र अस्पतालले सुनाएका थिए ।
महालक्ष्मी क्याम्पस नजिकै दाजुभाइका दुई घर सँगै जोडिएका छन् । अघिल्लो दिन २४ गते ती युवतीकी काकी र लुभुकै क्लिनिकका एक चिकित्सकलाई संक्रमण पुष्टि भएको थियो । सँगै स्वाब दिएका युवतीका आमा–बुबालगायत परिवारको रिपोर्टबारे सोधखोज गर्दा सबैको नेगेटिभ रहेको भनिएको थियो ।
९ जनामा एकैपटक संक्रमण पुष्टि भएको खबर आएको दिन उनीहरूलाई आइसोलेसनमा लगिएन । भोलिपल्ट दिउँसो १२ बजेतिर मात्रै उनीहरूलाई लिन एम्बुलेन्स आइपुग्यो । उनीहरू अहिले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् । कोरोनामुक्त भएकी ती युवती भने तनावमै छिन् । ‘मेरो कारणले सबैलाई सर्यो भनेर आफन्तले समेत अनेकखाले म्यासेज पठाउँछन्,’ उनले भनिन्, ‘के मैले सारूँ भनेर सारेको हो र रु मेरो बोलचाल र भेटसमेत नहुने काकाको घरमा बस्नेलाई पनि पोजिटिभ देखिएको छ । उहाँहरूलाई कसले सार्यो रु’
काठमाडौं बल्खुको वयोधा अस्पतालकी ल्याब टेक्निसियन उनी र रिसेप्सनमा बस्ने दुई जनालाई कोरोना पोजिटिभ देखिएको थियो । अस्पतालमा उपचाररत एक बिरामीमा संक्रमण पुष्टि भएपछि अस्पतालले तीन सय जना कर्मचारीको पीसीआर गराउँदा तीन जनामा पोजिटिभ देखिएको ती युवतीले बताइन् । ‘मसँगै काम गर्ने ल्याबको साथीलाई देखिएन । बिरामीको उपचारमा संलग्न चिकित्सकलाई देखिएन तर बिरामीको सम्पर्कमै नभएको म र रिसेप्सनका साथीलाई संक्रमण देखियो,’ उनले भनिन् ।
उनलाई कोरोना पोजिटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परिवारका सदस्य, आमाको उपचार गराउन गएका लुभुकै क्लिनिकका सञ्चालक दुई दाजुभाइको पनि स्वाब निकालिएको थियो । क्लिनिकका दुई जना, उनको परिवारका ६ जना, भाडामा बस्ने ३ जना र उनीसहित १२ जनामा कोरोना देखिएको हो । उनीहरूको घरसँगैको सुन्दर बस्तीमा एक जना, लुभुकै शंखादेवीमा एक, टाउन प्लानिङका एक जनामा पनि पछिल्लो साता कोरोना देखिएको छ ।
महालक्ष्मी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक टेकराज ओझाका अनुसार लुभुमा मात्रै १५ जना संक्रमित रहेकामा आठ पुरुष र सात महिला छन् । नगर क्षेत्रभरिमा २३ जना संक्रमित छन् । ‘ती युवतीको ट्रेसिङबाट चाहिँ १२ जना मात्रै संक्रमित देखिएका छन्,’ उनले भने, ‘थप ट्ेरसिङ गरेर शनिबार २ सय १३ जनाको स्वाब संकलन गरेका छौं । सबैको रिपोर्ट आएपछि मात्रै कोरोना समुदायमा छ वा छैन रु भन्ने थाहा हुन्छ ।’
नगरमा एकैचोटि धेरै संक्रमित देखिएपछि नगरपालिकाले लुभु क्षेत्रमा २५ गतेदेखि लकडाउन गरेको मेयर रामेश्वर श्रेष्ठले बताए । लुभुमा एकै घरमा १० जना संक्रमित भेटिएपछि स्थानीय त्रासमा छन् । लुभु क्षेत्रका पसल र कार्यालय बन्द छन् । सर्वसाधारण घर बाहिरसमेत निस्कँदैनन् । सवारीसाधन फाट्टफुट्ट मात्रै चलेका छन् । एकै पटक ९ जनालाई पोजिटिभ देखिएपछि परिवारका अन्य सदस्यको पनि पीसीआर गरिएको थियो । सबैको नतिजा नेगेटिभ आएपछि प्रहरीले उक्त घरमा लगाएको सिल खोलेको छ । मूल सडकबाट करिब २० मिटरको दूरीको गल्लीमा रहेको यो घरका सदस्य भने आइतबारदेखि आँगनमा निस्कन थालेका छन् । ‘बाहिर जाऔं भने सबैको छिस्छिस् दुरदुर छ,’ परिवारका एक सदस्यले भने, ‘घर बाहिर निस्कँदा पनि अरू भाग्छन् ।’
‘जति संक्रमित थपिए, उति मलाई दोष दिन्छन्’
वयोधा अस्पतालमा काम सुरु गरेको १२ दिन मात्रै भएको थियो । अस्पतालमा एक जना बिरामीलाई कोरोना पुष्टि भयो । अस्पतालले १४ गते तीन सयको स्वाब निकालेको थियो । १७ गते रिपोर्ट आउँदा मसहित तीन जनाको पोजिटिभ देखियो । त्यही दिन नै अस्पतालबाट हामीलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा राखियो । ९ दिनको बसाइमा दुई पटक पीसीआर गर्दा पनि रिपोर्ट नेगेटिभ आयो । ममा कोरोनाको कुनै लक्षण थिएन ।
अस्पताल लगेको तीन दिनपछि गाउँमा हल्ला चलेछ । त्यसपछि मलाई राति भेन्टिलेटरमा छस् कि आईसीयूमा छस्, कहिले मर्दैछस् भनेर फोन र म्यासेस आउँथ्यो । किन दुस्ख देखाउनु भनेर हाँसीहाँसी कुरा गर्दा पनि यसलाई त त्यहाँ खुब मोज रहेछ, त्यहाँ त खाएर बसिरहेकी रहेछ भन्थे । यसलाई टेन्सन नै छैन भन्थे । टेन्सन छ कि छैन, मलाई थाहा थियो । घर सिल गरेको थियो । मेरो घरका मान्छेले खान पाए कि पाएनन्, कति चिन्ता थियो । भाउजू बिरामी हुँदा एम्बुलेन्स त परको कुरा, औषधि ल्याइदिने पनि कोही भएन । यहाँका मान्छेले मेरो र परिवारको कुरा काटिरहे । आइसोलेसनमा बस्दा यहाँका मान्छेका कुरा सुनेर फर्केर आउन मन पनि थिएन । मलाई कोरोनाभन्दा पनि मान्छेको डर हो । मेरा घरका मान्छेलाई त मैले सारें, ल म मान्छु । तर मैले सार्छु भनेर सारेको त होइन । काकाको घरमा भाडामा बस्नेसँग मैले बोलेको पनि थिइनँ । उहाँहरूको पोजिटिभ आएको छ ।
म हेल्थ वर्कर हो । फ्रन्टलाइनमा काम गर्नुपर्छ भनेर सबैले प्रोत्साहन दिनुपर्नेमा उल्टै हतोत्साही बनाइरहेका छन् । सबैले मैले रोग सारेको भन्छन् । मेरो कुरा सुन्दिने कोही भएनन् । मेरो कुरा नबुझी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट गर्छन् । अस्पतालले टेस्ट गराइदियो । त्यसमा मेरो पोजिटिभ आयो । मेरो गल्ती छ रु
अस्पताल बस्दा धेरैको फोन आउँथ्यो । १०र१५ दिन अगाडि मैले भेटेकाले पनि मेरो पीसीआर गराइदे भन्थे । पीसीआर गरेर किन हिँडडुल गराएको पनि भन्थे । नेगेटिभ आउनेमा म ढुक्क थिएँ । तर १७ गते पोजिटिभ आयो । अस्पतालमा पनि बिरामी पोजिटिभ देखिएको थियो । तर मैले त्यो मान्छे भेटेको दुई दिन मात्रै भएको थियो । ल्याबमा काम गर्दा सुरक्षाका उपाय अपनाएकै थिएँ ।
जति धेरै संक्रमित भेटिन्छन्, त्यति नै मलाई दोष दिने गरेका छन् । हिजो २ सय १३ जनाको पीसीआर गर्न स्वाब निकालिएको छ । उनीहरूमा पोजिटिभ आयो भने पनि मलाई दोष दिने होला भनेर चिन्ता लाग्छ । आमा, बुबा, दाइलाई आइसोलेसनमा राखेकामा मलाई चिन्ता छँदै छ । समुदायबाट मलाई सरेको पनि हुन सक्छ । मेरो कारणले हो भने वयोधामा ३ सय जनाको पीसीआर गर्दा पेसेन्टसँगको कन्ट्याक्टमा भएकाको नेगेटिभ आएको छ । हाम्रो पोजिटिभ आयो । जबकि मसँगै ल्याबमा काम गर्नेको टेकुमा परीक्षण गराउँदा नेगेटिभ आयो ।
मकर श्रेष्ठ कान्तिपुर दैनिक
FACEBOOK COMMENTS