काठमाडौं । वर्षा सुरू भएपछि पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार बिहीबार ९ बजेसम्मको अपडेटअनुसार सङ्खुवासभाको बरुणखोलास्थित कोशी राजमार्ग, नवलपरासी (पूर्व) बिनयी त्रिवेणीस्थित पूर्व–पश्चिम राजमार्ग र रुकुम पश्चिमको रिजिगार खोला, जाजरकोट–डोल्पा–भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
अवरुद्ध भएका सडक
–जिल्ला सङ्खुवासभा भोटखोला–४ बरुणखोलास्थित कोशी राजमार्ग अअवरुद्ध रहेको छ । असार ६ गते सङ्खुवासभाको भोटखोला–४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ ।
– बीपी राजमार्गको सिन्धुली–खुर्कोटबाट काठमाडौं जाने सडक रातिको समयमा १५ (प्रन्ध) दिन बन्द रहेको छ । हाल देशमा मनसुन सक्रिय भएकोले वर्षातका कारण विपदको घटना हुन नदिनको लागी असार ६ गतेदेखि २० गतेसम्म बेलुका ६:३० देखि बिहान ५ बजेसम्म बीपी राजमार्गको सिन्धुली–खुर्कोटबाट काठमाडौं जाने आउने दुबैतर्फका सार्वजानिक–निजी सवारीसाधनलार्ई आवागमनमा रोक लगाइएकोले उक्त अवधिभर राजमार्ग पूर्ण रूपमा बन्द रहेको छ ।
– नवलपरासी (पूर्व) विनयी त्रिवेणी गापामा पूर्व–पश्चिम राजमार्ग बन्द रहेको छ । निर्माणाधीन नारायणघाट–बुटवल सडकको दुम्कीवासस्थित विनयी खोला पुलको डाइभर्सन सडक वर्षाले बारम्बार बगाईरहेकोले सो स्थानमा बनेको नयाँ पुल सन्चालनमा नआउन्जेल र दाउन्ने खण्डको केही स्थानहरूमा ग्राभेल राखेर सडक मर्मत गर्ने काम भइरहेकोले सो मर्मत कार्य सम्पन्न गरी सहज यातायात सन्चालनको लागि तयार नहुन्जेलसम्मका लागि असार ७ गतेदेखि अर्को सूचना प्रकाशित नगरुन्जेलसम्मका लागि उक्त सडक खण्डमा ठूला र भारी मालवाहक सवारी सन्चालनमा रोक लगाइएको छ ।
प्रत्येक साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा समेत रोक लगाइएको हुँदा सो दौरान सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ । त्यस्तै, असार १० गतेदेखि उक्त स्थानमा सवारीसाधनहरूको चाप भई सडकको विभिन्न स्थानहरू बिग्रिएको कारण सडक मर्मत गर्ने ग्यारेन्टी नभएसम्म विनयी त्रिवेणी गाउँपालिकाले सोही रुट हुँदै पूर्व–पश्चिम आवातजावात गर्ने एम्बुलेन्स र मोटरसाइकलबाहेकका सम्पूर्ण सवारीसाधनहरूलार्ई चल्न रोक लगाएको छ । त्यस्तै, असार १० मा अपराह्न यात्रुवाहक सवारीसाधनलार्ई मात्र सम्बन्धित निकायसँग समन्वय गरी खुलेको अन्य मालवाहक सवारीसाधनहरू यथास्थानमा एक लेनमा रोकिएको छ ।
– रुकुम पश्चिम आठबीसकोट–६ रिजिगार खोला, जाजरकोट–डोल्पा–भेरी करिडोर सडक खण्ड अवरुद्ध रहेको छ । असार ९ गते रिजिगार खोलामा पानीको बहाव बढेको हुनाले जाजरकोट–डोल्पा–भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा अवरोध रहेको छ भने पानीको बहाव घटेपश्चात् सडक सञ्चालन हुनेछ ।
– ललितपुरमा असार १० गतेदेखि अर्को सूचना नआएसम्मको लागि हाल भइरहेको वर्षातको समयलाई मध्यनजर गरी आम नागरिकको जिउधनको सुरक्षालार्ई ध्यानमा राखी बेलुका ७ बजेदेखी बिहान ६ बजेसम्मका लागि कान्ति लोकपथको बाटोमा सम्पूर्ण सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।
– ललितपुरको कान्तिलोकपथ अवरुद्ध छ । असार ११ गते बागमती–३ भट्टेडाँडा छपेलीमा माथिबाट पहिरो आई कान्ति लोकपथ पूर्ण रूपमा अवरोध भएको छ ।
– मकवानपुरको त्रिभुवन लोकपथ सडक अवरुद्ध छ । असार ११ गते मकवानपुरको भीमफेदी–१ त्रिभुवन लोकपथ सडक खण्डअन्तर्गत बादँरे भीर र बाघझोरामा वर्षातको कारण बाटोमाथिबाट पहिरो खसी बाटो पूर्ण रूपमा अवरोध भएको बिहीबार बिहान ६:४० बजेबाट एकतर्फी सुचारू भएको छ ।
FACEBOOK COMMENTS