काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त र पूर्वसभामुख ओनसरी घर्तीले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणलाई भेटेर उनको स्वास्थ्यलाभको कामना गरेका छन् ।
पुन र घर्ती दम्पतीले बिहीबार काठमाडौंको टोखाहाइटस्थित वैद्य निवास पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।
वैद्य लामो समयदेखि दमको समस्याबाट पीडित छन् । पछिल्लो समय दम बढ्नुका साथै छातीमा संक्रमण देखिएपछि ७९ वर्षीय वैद्य गत १५ जेठमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । उनलाई १० दिनसम्म त्रिवि शिक्षण अस्पतालको सघन (आईसियूमा) राखिएको थियो ।
लामो समय उपचार गराएर वैद्य २ असारमा अस्पतालबाट डिस्चार्ज भएका थिए ।
नेता पुनका अनुसार वैद्यको स्वास्थ्य अवस्थामा चामत्कारिक सुधार देखिएको छ । ‘स्वास्थ्य अवस्था धेरै राम्रो भएको रहेछ । पहिला नियमित अक्सिजन लगाउनुपर्नेमा अहिले अक्सिजन नलगाई बस्न सक्ने हुनुभएछ’, पुनले भने, ‘बिहान–बेलुका हल्का हिँड्न पनि थालेको छु भन्नुहुन्थ्यो ।’

पुन दम्पपी आफ्नो स्वास्थ्य अवस्था बुझ्न आएकोमा वैद्यले खुसी व्यक्त गरे । आफूहरूबीच राजनीतिकभन्दा स्वास्थ्य र पारिवारिक सम्बन्धबारे कुराकानी भएको पुनले उल्लेख गरे ।

वैद्य तत्कालीन नेकपा (माओवादी) को पूर्वीकेन्द्रीय कमाण्डको इन्चार्ज हुँदा पुन सोही कमाण्डको दोस्रो वरीयताको नेतासहित सैन्य फाँटको इन्चार्ज थिए । ०६१ सालमा पुन दम्पतीको दोस्रो सन्तानका रूपमा छोरा जन्मिँदा उनीहरू सँगै थिए ।

‘हाम्रो बीचमा धेरै गहिरो भावनात्मक सम्बन्ध छ । हाम्रो छोराको नाम उत्सव उहाँले नै राखिदिनुभएको थियो । करिब ६ महिना सुष्मा भाउजू (वैद्य पत्नी) ले हाम्रो बाबुको स्याहार र संरक्षण गर्नुभएको थियो । हामीले ती कुराहरू पनि सम्झियौँ,’ पुनले भने ।