काठमाडौं । एलन मस्कले फेरि एक पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बिग ब्युटिफुल विधेयक’ को आलोचना गरेका छन् ।
मस्कले कर र खर्च कटौती गर्ने यो विधेयकलाई पागलपनले भरिएको बताएका छन् । मस्कले ट्रम्पको विधेयकले अमेरिकामा लाखौं रोजगारी समाप्त गर्ने र उदीयमान उद्योगहरूलाई ठूलो नोक्सान पुर्याउने बताएका छन् ।
मस्कले भनेका छन्, ‘सिनेटको नयाँ मस्यौदाले लाखौं रोजगारी समाप्त गर्नेछ र हाम्रो देशलाई रणनीतिक रूपमा हानि पुर्याउनेछ । यो कानुनले पुराना उद्योगहरूलाई रियायत दिन्छ, तर भविष्यका उद्योगहरूलाई नष्ट गर्नेछ ।’
उनले यस विधेयक रिपब्लिकन पार्टीका लागि राजनीतिक आत्महत्या हुने टिप्पणी गरेका छन् । मस्कले गत महिना यस विधेयकमाथि आफ्नो असन्तुष्टि व्यक्त गर्दै ट्रम्पसँग आमनेसामने भएका थिए ।
यस विधेयकमा सिनेटबाट ५१–४९ मतले पारितसमेत भएको छ । मतदानसँगै यो विधेयक छलफलका लागि अनुमोदन गरिएको छ । यसलाई जुलाई ४ सम्म सिनेटले पारित गर्नुपर्ने छ ।
यो विधेयक २२ मे मा तल्लो सदनमा केवल एक मतको अन्तरले पारित भएको थियो ।
‘बिग ब्युटिफुल बिल’ को विषयमा ट्रम्प र मस्क आमनेसामने भएका थिए । ट्रम्पले यो ‘देशभक्तिपूर्ण’ कानुन भएको दाबी गर्दै आएका छन् । यसको पारितले अमेरिकामा लगानी बढाउने र चीनमाथिको निर्भरता कम गर्ने उनको दाबी छ । जबकि मस्कले यसलाई सुँगुरको मासुले भरिएको विधेयक अर्थात् बेकार खर्चले भरिएको विधेयक मानेका छन् ।
बिग ब्युटिफुल बिलको विषयमा ट्रम्प र मस्कबीचको बहस जुन ५ मा सुरू भएको थियो, जब ट्रम्पले मिडियासँग कुरा गर्दै मस्कप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए ।
FACEBOOK COMMENTS