राजस्व चुहावटको कसुरमा विभिन्न फर्म विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ । राजश्व अनुसन्धान विभागले भन्सार, मूल्य अभिवृद्धि कर तथा आयकर छली गरि राजस्व चुहावट गरेको आरोपमा विभिन्न चार कंपनी विरुद्ध मुद्धा दायर गरेको हो । जसमा सोह्रखुट्टेमा संचालनमा रहेको हाईटेक ईन्टरनेशनल प्रा लि, सानेपामा संचालनमा रहेका जेएसएस मोबाईल एण्ड सर्भिसेज प्रा लि, श्री श्याम इम्पेक्स र श्री श्याम बाबा इन्टरप्राइजेज रहेका छन् । उक्त फर्महरुका संचालक, प्रोप्राईटर तथा मुख्य अभियुक्तहरुबाट ३ अर्व ८२ करोड विगोअसुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई मुद्दा दर्ता गरिएको छ।
सोह्रखुट्टेमा संचालनमा रहेको हाईटेक ईन्टरनेशनल प्रालिका संचालक समेत २ जनालाई राजस्व चुहावट गरेको अभियोगमा २ अर्व ४२ करोड ९८ लाख विगो कायम गरी उक्त विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी गरिएको छ। हाईटेक ईन्टरनेशनलले भन्सार विन्दुबाट मालबस्तु पैठारी गर्दा कतिपय मालवस्तु घोषणा नै नगरी लुकाई छिपाई चोरी पैठारी गरी नेपाल ल्याई आफ्नो कारोबार स्थलमा राखेको, कारोबार स्थलबाट केही मालवस्तुको मात्र आधिकारिक विल वीजक जारी गरी धेरै जस्तो मालवस्तुको लुज विल जारी गरी वा न्यून विजकीकरण गरी यथार्थ कारोबारको छुट्टै लेजर खडा गरी अभिलेख राखी कारोबार लुकाई छिपाई यथार्थ कारोवार नदेखाई नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने भन्सार, मू।अ।कर तथा आयकर छली गरेको देखिँएको विभागले दाबी पेश गरेको छ ।
त्यसैगरि ललितपुर महानगरपालिका वडा नं २ सानेपामा संचालनमा रहेका जे।एस।एस।मोबाईल एण्ड सर्भिसेज प्रालि, श्री श्याम इम्पेक्स र श्री श्याम बाबा इन्टरप्राइजेजका संचालकरप्रोप्राईटर तथा मुख्य कारोबारी समेत ४ जनालाई राजस्व चुहावट गरेको अभियोगमा १ अर्व ३९ करोड ७ लाख विगो कायम गरी उक्त विगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी गरिएको छ। उक्त कंपनीहरुले पटक पटक भन्सार नतिरी अवैध रुपमा मेमोरी कार्ड, पेन ड्राइभ लगायतका इलेक्ट्रोनिक्स सामान ल्याई बिल बीजक जारी नगरी बिक्री गर्ने गरेको साथै उक्त फर्महरुको कारोबार सम्बन्धी खातावही, लेजरहरु, नगदी रसिद ल्यापटप, हार्ड डिस्क लगायतका अन्य कागजात एवं प्राप्त सबुत प्रमाणहरुको छानबिनबाट उल्लिखित फर्महरुले कारोबार लुकाउने छिपाउने उद्देश्यले कर प्रयोजनमा पेश गर्ने बाहेक अलग्गै किसिमको आन्तरिक लेखा तथा खाता राख्ने गरेको, सबै बिक्री आम्दानी कर प्रयोजनमा समावेश नगरी आंशिक कारोबारमात्र देखाई नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने भन्सार, मूअकर तथा आयकर छली गरेको देखिँएको विभागको दाबी छ ।
FACEBOOK COMMENTS