काठमाडौं । नेपाल मलेसियालाई हराउदै एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको फाइनलमा पुगेको छ ।
बिहीबार सम्पन्न सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
मलेसियाले दिएको ९१ रनको लक्ष्य पछाएको नेपालले ११ दशमलव ४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा परिमार्जन यादवले अविजित ५९ रन बनाए भने शिवांश बजगाईले अविजित २३ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले ४३ दशमलव १ ओभरमा अल आउट हुदै ९० रन बनाएको थियो । मलेसियाका लागि मुहमद फाथुल मुइनले सर्बाधिक ३८ रन बनाए भने कप्तान डीआज पात्रोले १० रन बनाएका थिए । मलेसियाक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसैगरी मलेसियाको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा नेपाली बलर अभय यादवले सर्बाधिक ४ विकेट लिए भने शुभम खनालले ३ विकेट लिए । त्यस्तै कप्तान विपिन शर्मा र सचिन भट्टले एक एक विकेट लिएका थिए ।
अब नेपालले फाइनलमा हङकङ चाइना र सिंगापुरबीचको विजेतासँग शनिबार खेल्ने छ । त्यस्तै पराजित भएको मलेसियाले हङकङ चाइना र सिंगापुरबीच पराजित हुने टिमसँग तेस्रो स्थानका लागि शनिबार नै खेल्ने तालिका रहेको छ ।
FACEBOOK COMMENTS