काठमाडौं । ओखलढुङ्गाबाट सङ्घीय संसदमा निर्वाचित सांसद रामहरि खतिवडा उमेरले ५६ वर्ष पुगे पनि अझै अविवाहित छन् ।
नेपाली काङ्ग्रेसका युवा नेताका रूपमा चिनाइने सांसद खतिवडा प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पनि हुन् । संसदीय समितिमा प्राप्त यो भूमिकाले उनको राजनीतिक र व्यक्तिगत ओज उच्च छ ।
नेपालको राजनीतिक वृत्तमा सांसद खतिवडा ऊर्जा र जोशले भरिपूर्ण नेताका रूपमा गनिन्छिन् । संसदमा उनले उठाउने विभिन्न समसामयिक र प्रासङ्गिक विषयवस्तुहरू निकै गहकिला, ओजिला र तर्कसङ्गत हुने गरेका छन् । ती प्रस्तुतिहरूले संसदमा उनको व्यक्तित्वका साथै नेपाली काङ्ग्रेसको राजनीतिलाई पनि सशक्त बनाउने काममा टेवा पुग्दै आएको देखिन्छ ।
तर, पछिल्लो समय उनी एकपछि अर्को विवादमा मुछिदै गएका छन् । उनी मुछिएको पछिल्लो काण्ड हो सङ्घीय निजामती सेवा विधेयकमा व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’ मा भएको चलखेल ।
उनी सभापति रहेको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतरूपमा पारित भएको विधेयकमा निजामती कर्मचारीले सेवानिवृत्त भएको वा स्वेच्छिक अवकाश लिएको मितिले दुई वर्षसम्म कुनै पनि कूटनीतिक तथा संवैधानिक निकायमा नियुक्ति लिन नपाउने व्यवस्था गरिएको थियो । तर, प्रतिनिधि सभामा पेस भइ पारित हुँदासम्म नयाँ उपदफा थपेर विधेयकबाट ‘कुलिङ अफ पिरियड’ गायब बनाइयो ।
खतिवडा नेतृत्वको समितिले गत जेठ २ गते सर्वसम्मत पारित गरेको विधेयकको दफा ८२ को उपदफा ४ मा ‘अवकाश भएको वा राजीनामा दिएको कर्मचारीले दुई वर्षसम्म अन्यत्र नियुक्ति लिन नमिल्ने’ व्यवस्था गरिएको थियो । तर, संसदमा पुग्दा उपदफा ५ थपेर संवैधानिक, कूटनीतिक र नेपाल सरकारले गर्ने नियुक्ति‘बाहेक’का पदमा मात्रै कुलिङ अफ पिरियड राख्ने भनी व्याख्या गरिएको छ ।
सरकारी सेवामा दशकौँ बिताएका कर्मचारीहरूलाई अवकाशपछि आराम गर्ने, परिवारसँग बस्ने तथा घुमफिर गर्ने र सरकारी सेवामा रहँदा पूरा गर्न नसकिएका कतिपय व्यक्तिगत इच्छा र कामहरू पूरा गर्न समय उपलब्ध गराउने पवित्र उद्देश्यका साथ दुईवर्षे कुलिङ पिरियडको व्यवस्था सर्वसम्मतिका आधारमा राखिएको थियो । तर, उक्त व्यवस्थाको मर्म नै बाझिनेगरी अर्को उपदफा थप गरी ‘बाहेक’ शब्द राखेर बहुचर्चित व्यवस्था गायब बनाउने प्रपञ्च बाहिरिएपछि सम्पूर्ण दोषको सुई सांसद खतिवडातर्फ सोझिएको छ ।
समितिका सभापतिका हिसाबले सांसद खतिवडामाथि यो गम्भीर र सङ्गीन आरोप लागेको हो । तर, उनी नै दोषी हुन् भन्ने नैतिक आधारबाहेक अन्य कुनै प्रमाण पत्ता लागिसकेको छैन । त्यसो त सांसद खतिवडाले पनि विधेयकमा गरिएको फेरबदलको घटना गम्भीर अपराध भएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । उनले बुधबार राज्य व्यवस्था समितिको बैठक नै बोलाएर यसबारे छलफल गरी छानबिन समिति बनाउन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई अनुरोध गर्ने निर्णयसमेत गराइसकेका छन् ।
विधेयकको व्यवस्था हेरफेरमा आफ्नो सचिवालय दोषी रहेको हुनसक्ने आशङ्का भने उनले व्यक्त गरेका छन् ।
आफू निर्दोष रहेको बताइरहँदा पनि उनीमाथि आरोप लाग्न छोडेको छैन । विपक्षी दलका मात्रै होइनन् सत्तापक्षकै सांसदहरूले पनि यो घटनाको नैतिक जिम्मेवारी लिँदै समितिको सभापतिबाट राजीनामा दिन माग गरिरहेका छन् । उनको आफ्नो दल नेपाली कांग्रेसका सांसदहरूले समेत खतिवडामाथि आशङ्का गर्दै घटनाको तीव्र आलोचना गरिरहेका छन् ।
अरु कहाँ–कहाँ मुछिए खतिवडा ?
निजामती विधेयकको पछिल्लो काण्डबाहेक उनी यसअघि घडी चोरी काण्ड, एनजीओको खाजा विवाद काण्ड र मानव तस्करीलगायत अन्य काण्डहरूमा समेत मुछिएका थिए । उनीमाथि लागेको सबैभन्दा ठूलो र कसैले नबिर्सिने आरोप ‘रोलेक्स घडी चोरी काण्ड’ हो । २०७३ सालमा खतिवडामाथि रोलेक्स घडी चोरेको आरोप लागेको थियो । पूर्वसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलमानसिंह गुरुङको करिब १५ लाख रुपैयाँ मूल्य पर्ने घडी सांसद खतिवडाको गोजीमा भेटिएको थियो । उनले ‘झुक्किएर पकेटमा परेको’ स्पष्टीकरण दिए पनि उक्त काण्ड अहिलेसम्म पनि उनलाई खुइल्याउने विषय बन्दै आएको छ ।
काठमाडौंको लाजिम्पाटस्थित होटेल र्याडिसनको क्लबमा गएका बेला आफ्नो ट्र्याकको खल्तीमा कसैले घडी राखिदिएर आफ्नो बेइज्जत गरेको खतिवडाले त्यसबेला बताएका थिए । चिनेजानेकै मान्छेले आफूसँग बदला लिन उक्त घडी आफ्नो कपडाको खल्तीमा राखिदिएको दाबी उनको थियो ।
यस्तै, उनीमाथि एनजीओको खाजा काण्डको आरोप पनि लागेको थियो । २०८१ असार २ गते सङ्घीय निजामती सेवा विधेयकमाथि छलफल गर्न बोलाइएको समितिको बैठकमा ‘नेसनल फोरम अफ पार्लियामेन्टेरियन अन पपुलेसन एन्ड डेभलपमेन्ट’ नामक एनजीओले खाजाको व्यवस्था गरेको खुलासा भएपछि उनी विवादमा तानिएका थिए । तत्कालीन गृहमन्त्री रवि लामिछाने बैठक नै छोडेर बाहिरिएपछि बैठक स्थगित भएको थियो । खतिवडाले सङ्घीय मामिला मन्त्रालयले खाजा उपलब्ध गराएको दाबी गरे पनि समितिको स्वायत्तता र पारदर्शितामाथि प्रश्न उठेको भन्दै व्यापक आलोचना भएको थियो ।
यसैगरी, खतिवडामाथि मानव तस्करीको आरोप पनि लागेको छ । तत्कालीन श्रममन्त्री बलबहादुर राईको पीए हुँदा उनले नक्कली दस्तखत गरेर पाँच जनालाई जापान पठाएको आरोप लाग्ने गरेको छ । तर, उक्त आरोप भने औपचारिक पुष्टि भएको छैन । खतिवडाले भने आफू अदालतबाटै निर्दोष साबित भइसकेको दाबी गर्दै आएका छन् ।
यस्तै, जाजरकोट–रुकुम भ्रमणका क्रममा समितिको बजेटबाहिर सांसदहरूको हवाई टिकट व्यवस्था गरिएको विषय पनि आलोचित बन्यो । खतिवडाले यसलाई मानवीय विषय भन्दै बचाउ गरेका थिए, तर पारदर्शिता नहुँदा त्यो कदमसमेत विवादित बनेको थियो ।
समिति सभापति खतिवडाको नेतृत्वमा बारम्बार उठेका विवादहरूले राज्य व्यवस्था तथा सुशासन समितिको निष्पक्षता, प्रभावकारिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेका छन् । व्यक्तिगत आचरणदेखि निर्णय प्रक्रियासम्म फैलिएका यी विवादले उनको राजनीतिक भविष्यलाई पछिल्ला दिनहरूमा चुनौतीपूर्ण बनाइरहेको छ ।
FACEBOOK COMMENTS