काठमाडौं । नेपाल स्कूल खेलकुद महासङ्घ (एनएसएसएफ), निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) र अन्तर्राष्ट्रिय स्कूल खेल महासङ्घ (आईएसएफ) बीच सहकार्यका लागि समझदारी भएको छ ।
एक समारोहका बीच एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ, प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र आईएसएफका प्रतिनिधि राजकुमार कार्कीले समझदारपत्रमा हस्ताक्षर गरेका हुन् ।
निजी तथा आवासीय विद्यालयहरूमा खेलकुद कार्यक्रमहरूको विकास, प्रवर्द्धन र समन्वयका लागि संयुक्त कार्यसंरचना स्थापना गर्ने उद्देश्यले यो समझदारी गरिएको सम्बन्धित पक्षले जनाएका छन् । यसअन्तर्गत विद्यार्थीहरूमा शारीरिक स्वास्थ्य, टिम भावना, अनुशासन र समग्र व्यक्तित्व विकासको समझदारीअन्तर्गत पूर्वाधार विकास र शारीरिक शिक्षाको प्रवर्द्धनमा सहकार्य हुनेछ ।
उद्देश्यहरू–
खेलकुदमा सहभागिता प्रवर्द्धन– प्याब्सन–एफिलियटेड विद्यालयहरूमा विद्यार्थीहरूको खेलकुद तथा शारीरिक गतिविधिमा सक्रिय सहभागिता बढाउने ।
खेलकुद प्रतियोगिता आयोजना– जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरमा एनएसएसएफ प्याब्सन कप, आईएसएफ प्याब्सन कप, आईएसएफ प्याब्सन कम्ब्याट गेम्स, आईएसएफ प्याब्सन गेम्स र स्कूल प्रिमियर लिग (एसपीएल) लगायतका प्रतियोगिताहरू संयुक्त रूपमा आयोजना गर्ने ।
खेल पूर्वाधार सुधार– निजी तथा आवासीय विद्यालयहरूमा खेलकुद उपकरण र संरचना सुधारमा सहयोग गर्ने ।
प्रतिभा पहिचान तथा विकास– युवा खेलाडीहरूलाई पहिचान गरी उनीहरूलाई विशेष तालिम र प्रतिस्पर्धामार्फत विकास गर्न आवश्यक अवसरहरू प्रदान गर्ने ।
कोष तथा स्रोत परिचालन– पक्षहरूले खेलकुद कार्यक्रमहरूको लागि आवश्यक आर्थिक तथा भौतिक स्रोतहरूको परिचालनमा सहकार्य गर्नेछन् । सरकारी निकाय, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य गरी स्रोत जुटाउने कार्य गरिनेछ ।
अनुगमन तथा मूल्याङ्कन– कार्यक्रमहरूको प्रभावकारिता सुनिश्चित गर्न नियमित रूपमा संयुक्त अनुगमन तथा मूल्याङ्कन प्रणाली लागू गरिनेछ । आवश्यक सुधार र रणनीतिहरूको पुनरवलोकन समयसमयमा गरिनेछ ।
अवधि तथा समाप्ति– यो समझदारीपत्र हस्ताक्षरको मिति (२०८२ असार १८) बाट प्रारम्भ भई प्रारम्भिक रूपमा तीन (३) वर्षको लागि मान्य हुनेछ । पक्षहरूको पारस्परिक सहमतिमा यसको अवधि नवीकरण गर्न सकिनेछ । कुनै पनि पक्षले एमओयू समाप्त गर्न चाहेमा कम्तीमा ३० दिनअगाडि लिखित सूचना दिनुपर्नेछ ।
FACEBOOK COMMENTS