काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड’ बारे नयाँ तथ्य खुलासा गरेका छन् ।
उनले विधेयक पारित हुने दिन दुईजना सचिवले उक्त व्यवस्था हटाइदिन आफूसँग अनुनयविनय गरेपछि कुरा बिग्रिएको सङ्केत गरेका छन् । एक टेलिभिनलाई अन्तर्वार्ता दिने क्रममा उनले सङ्घीय मामिला तथा सामान्य प्रशासन र कानुन मन्त्रालयका सचिवले ‘कुलिङ अफ पिरियड’ को व्यवस्था हटाउन भन्दै आफूसमक्ष हात जोडेरै बिन्ती गरेको बताएका हुन् ।
उनले उक्त अन्तर्वार्ताका क्रममा उल्लेख गरेअनुसार सचिवद्वय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका रविलाल पन्थ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका पाराश्वर ढुङ्गानाले उक्त व्यवस्था नराख्न आफूलाई बिन्तीभाउ गरेका थिए ।
‘विधेयक पारित गर्ने दिन कानुन र सामान्य प्रशासन मन्त्रालयका सचिवज्यूले माननीयज्यूहरू मेरो अन्तिम आग्रह छ, बिन्ती छ, अरू सबै गर्नुहोस् यो एउटा चाहिँ (कुलिङ अफ पिरियड) नराखिदिनुहोस् भनेर भन्नुभएको थियो,’ सभापति खतिवडाले भने, ‘सामान्य प्रशासन मन्त्रालयका सचिव अहिले जो हुनुहुन्छ रविजी (रविलाल पन्थ) ले त हातै जोडेर अरू सबै कुरामा मेरो सहमति छ हजुर, यत्ति कुलिङ अफ पिरियडचाहिँ नराखिदिनुहोस् । आज अब पारित हुँदैछ, मेरो अन्तिम वक्तव्य/भनाइ यत्ति हो भनेर नमस्ते गर्नुभयो ।’
सचिवद्वय पन्थ र ढुङ्गानाले गरेको सो आग्रह आफूले अस्वीकार गरेको सभापति खतिवडाको भनाइ छ । तर, उक्त अस्वीकारबाट विधेयकको व्यवस्थामा फेरबदल गरिन पनि सक्छ भन्ने कुराको हेक्का नराखेकोमा उनले पश्चात्ताप गरेका छन् ।
‘उहाँ (रविलाल पन्थ) ले नमस्ते गरेपछि मलाई पनि खुसी लाग्यो । तपाइँहरूजस्तो काविल कर्मचारी पनि छन् । यो तपाइँका लागि होइन, अब नयाँ जेनेरेशनका लागि हो । ३० वर्ष काम गरिसकेपछि नाती हेर्नुहोस्, बाख्रा चराउनुहोस्, घरमा बसेर लुँडो खेल्नुहोस् भनेर होइन रि–फ्रेस भएर आउनुहोस् भन्नका लागि हो । त्यही भएर पनि योचाहिँ राख्नैपर्छ है हजुर भनेर मैले भनेँ । मैले भनेँ तर, तल ल्याप्सेस गरेर काट्छन् भन्ने कुरा अनुमान नै गरिनँ,’ अन्तर्वार्ताका क्रममा खतिवडाले भनेका छन् ।
उनले यो अपराध राजनीतिक तहबाट नभइ कर्मचारीतन्त्रबाटै भएको सङ्केत पनि गरेका छन् । ‘राजनीतिक लेभलबाट हुँदा मेरै तहबाट हुने हो, मैले गरेको छैन । मैले नगरेपछि कहाँबाट भएको हो छानबिन गरौँ भनिरहेको छु,’ उनले भने ।
यस्तै, उनले यो घटनामा आफू दोषी देखिए राजनीतिबाटै सन्न्यास लिने घोषण पनि गरेका छन् । घटना छानविनका लागि आफ्नो पनि केही दायित्व र भूमिका आवश्यक रहने ठानेर तत्काल राजीनामा नदिएको उनले स्पष्ट गरे ।
‘राजीनामाको विषयमा म धेरै विमति राख्न चाहान्नँ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिले निर्णयमा हस्ताक्षर गरेको छ । सर्वसम्मत भएको निर्णय हो त्यो । सर्वसम्मत भएको निर्णयलाई सभापतिले परिवर्तन गरेको रहेछ कि अरुले गरेको रहेछ पहिला थाहा पाउने अवसर प्राप्त होस्,’ उनले भने, ‘मेरो इमानदारिता र निष्ठामा कतै प्रश्न उठेछ भने म राजीनामा मात्रै होइना त्यो भन्दा बढी सजाय भोग्न पनि तयार छु ।’
उनले आफ्नो टेलिफोनका कल रेकर्डलगायत अन्य आधारहरूमाथि छानबिन गर्न खुला रहेको बताएका छन् ।
यी समाचार पनि पढ्नुहोस्–
‘कुलिङ पिरियड’ मा भएको हेरफेर छानबिन गर्न सभामुखलाई सङ्घीय मामिलामन्त्री गुप्ताको आग्रह
कुलिङ पिरियडमाथिको बद्मासीबारे कता घुम्दैछ शङ्काको सुई ? यस्तो छ सांसदहरूको धारणा
FACEBOOK COMMENTS