काठमाडौं । भारतले इङल्याण्डविरुद्धको दोस्रो टेस्ट जितेको छ । गएराति सम्पन्न सिरिजको दोस्रो टेस्ट भारतले ३३६ रनले जितेको हो ।
भारतले दिएको ६०८ रनको लक्ष्य पछ्याएको इङल्याण्ड दोस्रो इनिङमा २७१ रन बनाएर अलआउट भएको थियो ।
यसअघि भारतले दोस्रो इनिङमा ६ विकेट गुमाएर ४२७ रन बनाएपछि आफ्नो इनिङ घोषणा गर्दै इङल्याण्डलाई ६०८ रनको लक्ष्य दिएको थियो । भारतले इङल्याण्डमाथि पहिलो इनिङमा १८० रनको अग्रता बनाएको थियो ।
दोस्रो इनिङमा भारतका लागि कप्तान शुभमन गिलले सानदार शतकीय पारी खेल्दै १६१ रन बनाएका थिए । त्यस्तै, रवीन्द्र जडेजाले ६९ र ऋषभ पन्तले ६५ रन बनाएका थिए । त्यस्तै, के एल राहुलले ५५ रनको योगदान दिएका थिए ।
यस टेस्टमा भारतले पहिलो इनिङमा ५८७ रन बनाएको थियो भने इङल्याण्डले ४०७ रन बनाएको थियो ।
यस खेलमा पहिलो इनिङमा २६९ र दोस्रो इनिङमा १६१ रन बनाएका भारतका कप्तान गिल खेलको प्लेयर अफ द म्याच बनेका थिए । बर्मिङ्घममा भारतको यो ऐतिहासिक जित हो, किनभने भारतले यहाँ पहिले कहिल्यै टेस्ट खेल जितेको थिएन ।
शुभमन गिलको नेतृत्वमा रहेको भारतीय टोलीले बर्मिङ्घमको एजबास्टन टेस्ट जितेर नयाँ रेकर्ड बनाएको छ । एजबास्टनमा यस अघि भारतले आठ टेस्ट खेलेकोमा सात टेस्टमा हार बेहोरेको थियो भने एक टेस्ट ड्र भएको थियो ।
यो जितपछि ५ खेलको टेस्ट सिरिज १–१ ले बराबरी भएको छ । अब सिरिजको तेस्रो खेल आगामी बिहीबारदेखि लर्ड्स क्रिकेट मैदानमा हुँदै छ ।
FACEBOOK COMMENTS