काठमाडौं । देशभरका सुनचाँदी व्यवसायी आन्दोलनमा उत्रिएपछि एक साता यता सुनको दैनिक मूल्य निर्धारण स्थगित भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले नियमित रूपमा सार्वजनिक गर्दै आएको सुनको भाउ असार १९ यता सार्वजनिक भएको छैन ।
महासंघका वरिष्ठ उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार सरकारले नयाँ आर्थिक विधेयकमार्फत सुनका गरगहनामा २ प्रतिशत विलासी कर र बहुमूल्य हिरा तथा पत्थरमा १३ प्रतिशत भ्याट लगाएको विरोधमा व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।
‘देशभरका सुनचाँदी पसलहरू बन्द छन्, हामी आन्दोलनमा छौं,’ उनले भने, ‘कारोबार नै नभएपछि मूल्य निर्धारण र सार्वजनिक गर्नुको औचित्य रहँदैन ।’
असार १९ गते अन्तिमपटक सुन प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही घटेको छ ।
व्यवसायीहरूका अनुसार सरकारले २ प्रतिशत कर थपेपछि सुनका गरगहनाको खुद्रा मूल्य करिब ६ प्रतिशतसम्म महँगिने देखिएको छ, जसले अवैध कारोबारलाई समेत प्रोत्साहन गर्ने चिन्ता उनीहरूको छ ।
FACEBOOK COMMENTS