काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता नवराज सुवेदीले पार्टीमा आन्तरिक अन्याय भएको बताएका छन् ।
निर्वाचन आयोगमा पुगेका सुवेदीले अध्यक्ष राजेन्द्र लिङदेनले स्वेच्छचरिताले आफुलाई हटाएकोले आफु न्यायका लागि आयोगमा आएको बताएका हुन् ।
उनले भने, ‘अध्यक्ष राजेन्द्र लिङदेनले स्वेच्छचरिता हो, केन्द्रीय समितिबाट निर्णय भएको छैन । प्राकृतिक न्यायको खिलापमा उहाँ निर्णय गर्नु भयो । निर्णय गर्नु अगाडी मलाई सोध्नु पर्थ्यो । मलाई चिठी पनि दिएको छैन । मैले त मिडियाबाट थाहा पाए । मलाई निकाल्नुभयो र अर्कोलाई नियुक्त गर्नु भयो, त्यसैले म निर्वाचन आयोगमा ऊरी गर्न आएको हुँ ।’
अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते पार्टीको अनुशासन समितिमा रोशन कार्कीलाई नियुक्त गरेका थिए भने सगुन लावतीलाई प्रवक्ताबाट हटाएपछि विवाद बढेको हो । यसअघि अनुशासन समितिको अध्यक्षमा नवराज सुवेदी रहेका थिए । सुवेदी हाल राजसंस्था फर्काउने जनान्दोलन समितिको संयोजक रहेका छन् ।
सुवेदीसहित राप्रपाका नेताहरु डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर राणासहितका नेताहरु आइतबार आयोगमा पुगेर अध्यक्ष लिङदेनको निर्णय विरुद्ध उजुरी दिएका छन् ।
FACEBOOK COMMENTS