झापा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एकता र प्रतिबद्धता बलियो बनाउन सके अरू कसैले पनि एमालेलाई पराजित गर्न नसक्ने दाबी गरेका छन् ।
झापामा आयोजित नेकपा एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विगतमा पार्टीभित्रका स्वार्थी समूहहरूले पार्टी फुटाउन र समाप्त पार्न खोज्दा पनि कार्यकर्ता र जनताको विश्वासले एमालेलाई पुनः राष्ट्रिय शक्तिका रूपमा उभ्याएको बताएका हुन्।
‘एमाले विनाको देश र केपी ओली विनाको एमाले चाहने प्रतिक्रियावादीहरूको सपना कहिल्यै पूरा हुँदैन,’ अध्यक्ष ओलीले भने, ‘एमाले कुनै सानो स्वार्थ बोकेको पार्टी होइन, यसले राष्ट्रिय हितका लागि बलिदान दिएको छ। एमालेविरुद्ध जाल बुन्नेहरू कहिल्यै सफल हुँदैनन्।’
पार्टीभित्र र बाहिरका षड्यन्त्रहरूको सामना गर्न कार्यकर्तालाई आग्रह गर्दै उनले माकुरोको जालोमा भैसी कहिल्यै नफस्ने उदाहरण दिए। उनले एमाले र आफूलाई भ्रष्टाचारका आरोपमा भ्रामक प्रचार गर्दै हिँड्नेलाई लक्षित गर्दै भने, ‘हामी सहकारी ठगी गरेर मुद्दा खेपेर आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो होइनौं।’
प्रधानमन्त्री ओलीले नेपाललाई एमालेलाई बाहेक अरू कुनै शक्तिले विकास र समृद्धितर्फ लैजान नसक्ने जिकिर गरे। आफू प्रधानमन्त्री भएपछि फलामखानी र पेट्रोलियम उत्खनन, सुरुङमार्गजस्ता विकासका महत्वाकांक्षी योजना अघि बढेको र यसको प्रतिफल देखिन थालेको उनले बताए। साथै, हालैको आफ्नो स्पेन भ्रमणलाई लिएर विपक्षीहरूले भ्रामक प्रचार गर्दै गलत हल्ला फैलाएको आरोप पनि उनले लगाए।

कार्यक्रमको अवसरमा अध्यक्ष ओलीले सयौं युवाहरुलाई पार्टी प्रवेश गराएका थिए।
