काठमाडौं । अमेरिकाको केन्टकीस्थित लेक्सिङ्टनको एक चर्चमा भएको गोलीकाण्डमा दुई महिलाको मृत्यु भएको छ । त्यस्तै, सो गोलीकाण्डमा दुई पुरुष घाइते भएका सीएनएनले उल्लेख गरेको छ ।
प्रहरीले सन्दिग्ध आक्रमणकारीलाई पनि गोली हानेको बताएको छ, जसका कारण उनको घटनास्थलमै मृत्यु भएको छ ।
लेक्सिङ्टनको ब्ल्यू ग्रास विमानस्थलमा एक प्रहरी अधिकारीलाई गोली हानेर आक्रमणकारी भागेका थिए । घटनामा प्रहरी अधिकारी गम्भीर घाइते भएका छन् । यद्यपि, अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ । विमानस्थलमा भएको गोलीकाण्डले यात्रुहरूमा पनि त्रास फैलाएको थियो ।
अधिकारीहरूले घाइते प्रहरी अधिकारीले बिहान ११:३० बजे ब्ल्यू ग्रास विमानस्थल नजिकै चेकजाँचका लागि कार रोकेको बताएका छन् । त्यसपछि कारमा रहेका सन्दिग्ध व्यक्तिले उनलाई गोली हानेका छन् । त्यसपछि सन्दिग्ध त्यहाँबाट भागेको बताइएको छ ।
उनले विमानस्थलबाट करिब १६ किलोमिटर टाढा रहेको कार लुटेका थिए । त्यहाँबाट उनी लेक्सिङ्टनको रिचमन्ड रोड ब्याप्टिस्ट चर्चमा भागेर मानिसहरूमाथि गोली चलाउन थालेका थिए । चोरी भएको कारको स्थान पत्ता लगाउँदै प्रहरीले चर्च पुगेर आक्रमणकारीलाई मारिदिएको रिपोर्टमा उल्लेख छ ।
FACEBOOK COMMENTS