काठमाडौं । नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को पोस्टर सार्वजनिक भएको छ ।
निर्माणपक्षले आज सार्वजनिक गरेको पोस्टरमा अभिनेता कामेश्वर चौरासियालाई फरक भूमिकामा देख्न सकिन्छ ।
पोस्टरमा चौरासिया खुसीले कराइरहेको जस्तो देखिन्छ भने उनको तलतिर विराटनगर कारागारको दृश्य छ । कारागारको तारबारभन्दा माथि उनी चिच्याइरहेका छन् र अगाडि खैरो रंगको मनी ब्याग राखिएको छ । पोस्टरको दृश्यले उनी फिरौती रकम तिर्दैछन् कि उठाउँदैछन् भन्ने जिज्ञासा बढाएको छ । शान्त निलो रङको प्रयोगले कथावस्तुमा थप रहस्य जोडेको छ ।
निर्माणपक्षका अनुसार ‘अभिमन्यु : च्याप्टर–१’ आउँदो भदौ २७ गते नेपालभर प्रदर्शनमा आउँदैछ भने यसको हिन्दी भर्सन असोज ६ गते अर्थात् सेप्टेम्बर २२ मा रिलिज हुनेछ । फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फसेको र त्यहाँबाट उम्किन संघर्ष गर्ने पात्रको कथा भन्ने बताइएको छ ।
पोस्टप्रोडक्सनमा रहेको फिल्ममा कामेश्वर चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौलाले अभिनय गरेका छन् ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो सिनेमालाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । यो गौतमको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको फिल्मका क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी छन् भने रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता हुन् । कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् ।
‘अभिमन्यु’का लाइन प्रोड्युसर जीवन शाक्य, मुख्य सहायक निर्देशक आकाश उखेडा, सम्पादक मदन घिमिरे र निर्माण नियन्त्रक सरोज श्रेष्ठ हुन् । शरद महतोले सिनेमाटोग्राफी गरेका छन् ।
निर्माणपक्षले पोस्टरमार्फत फिल्मप्रति दर्शकको कौतुहलता अझ बढाउने विश्वास लिएको छ ।
FACEBOOK COMMENTS