काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख प्रोफेसर मुहम्मद युनुसले भारतलाई एक हजार किलो ‘हरिभङ्गा’ प्रजातिको आँप पठाएका छन् । यी आँपहरू प्रधानमन्त्री मोदी, भारतीय कूटनीतिज्ञ र अन्य अधिकारीहरूलाई उपहार दिइने छ ।
भारतसँग सम्बन्ध सुधार गर्ने प्रयासमा बङ्गलादेशको यो पहललाई ‘आँप कूटनीति’ भनिएको छ । यसअन्तर्गत अन्तरिम सरकारले केन्द्र सरकारलाई मात्र नभई पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जी र त्रिपुराका मुख्यमन्त्री माणिक साहलाई पनि हरिभङ्गा आँप पठाएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
यी आँपहरू ६० वटा बक्समा प्याक गरेर अखौरा भूमि बन्दरगाहबाट पठाइएको बताइएको छ । ‘हरिभङ्गा’ बङ्गलादेशमा एक प्रिमियम आँप मानिन्छ । यसको गुणस्तर धेरै राम्रो मानिन्छ । यो भारतमा धेरै मन पराइन्छ ।
बङ्गलादेशी पत्रिका डेली सनको रिपोर्टअनुसार बङ्गलादेशले यी आँपहरू सद्भावनाको प्रतीकको रूपमा पठाइएको बताइएको छ ।
बङ्गलादेशबाट भारतमा आँप पठाउने यो परम्परा नयाँ होइन । पहिलेका सरकारहरूले पनि भारतमा आँप पठाउँदै आएका थिए । यसपटक यो कदमलाई विशेष मानिएको छ, किनभने गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा ठूलो प्रदर्शनपछि प्रधानमन्त्री शेख हसिनाले सत्ता छोड्नु परेको थियो ।
उनलाई हटाइएपछि भारत र बङ्गलादेशको सम्बन्धमा केही दूरी आएको थियो, किनभने हसिनालाई भारतको नजिक मानिन्थ्यो । यस्तो अवस्थामा यो परम्परालाई निरन्तरता दिइने वा बन्द हुने भन्ने प्रश्न उठिरहेको थियो ।
आँप कूटनीति भनेको राजनीतिक वा कूटनीतिक सम्बन्ध बलियो बनाउन आँप जस्ता फलफूललाई ‘उपहार’ को रूपमा प्रयोग गर्नु हो । यसलाई ‘सफ्ट पावर कूटनीति’ को एक हिस्सा मानिन्छ ।
यो पहल बङ्गलादेश–भारत सम्बन्धमा न्यानोपन ल्याउने उद्देश्यले सुरू भएको थियो । भारतबाहेक बङ्गलादेशले श्रीलङ्का, नेपाल, बेलायत, साउदी अरेबिया, कतार, कुवेत, यूएई, इटली, जर्मनी, फ्रान्स, स्विडेन, क्यानडा, फिलिपिन्स, स्विटजरल्याण्डमा पनि आँप पठाउने गरको छ ।
बङ्गलादेशले २०२१ मा विश्वभर १,६३२ टन आँप पठाएको थियो । ती आपँ प्रजातिहरूमा हरिभङ्गा, लाङ्ग्रा, हिमसागर, फाजली र आम्रपाली समावेश थिए ।
FACEBOOK COMMENTS