काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनका लागि आवश्यक संरचना र पूर्वाधार निर्माणको तयारी भइरहेको बताएका छन् ।
गए राति बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मुस्ताङका संघीय सांसद र स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री ओलीले कोराला नाका सञ्चालनलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले यही असार २४ गते गोसाइकुण्ड गाउँपालिका–२ मा आएको बाढीले रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाउँदा नेपाल–चीन आवागमन अवरुद्ध भएको बेला स्थलगत निरीक्षण गरी वैकल्पिक मार्गसहित नाका सञ्चालनका लागि निर्देशन दिएको स्मरण गराए ।
उनले आफ्नो नेतृत्वमा बेनीघाट–कोराला सडक निर्माण सुरु गरेको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुक्तिनाथ भ्रमण गराएको, मुक्तिनाथ केवलकार सञ्चालन प्रक्रिया अघि बढाएको, स्याउ सुपर जोन निर्माण र च्याङ्ग्रापालन जस्ता योजनालाई प्राथमिकतामा राखेको पनि बताए ।
प्रतिनिधिमण्डलले माथिल्लो मुस्ताङका लोमान्थाङ र लो–घेकार दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा पर्यटक शुल्कका कारण पर्यटन घटेको गुनासो गर्दै प्रति विदेशी पर्यटक ५०० अमेरिकी डलर शुल्क लिने नीति पुनरावलोकन गर्न माग गरेका छन् ।
कालिगण्डकी करिडोरको कागबेनी–कोराला सडक खण्डमा कालोपत्रे र अन्य पूर्वाधार निर्माण गरी कोराला नाका पूर्ण रूपमा सञ्चालन गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराइएको छ। कोराला नाकामा भन्सार, अध्यागमन, एकीकृत सुरक्षा पोस्ट, सुख्खा बन्दरगाहलगायत भौतिक संरचना आवश्यक रहेको जनप्रतिनिधिहरूको माग छ ।
प्रतिनिधिहरूका अनुसार सडक निर्माण ढिलो हुनु र निषेधित क्षेत्रको कार्यान्वयनका कारण माथिल्लो मुस्ताङका होटल तथा स्थानीय व्यवसायीहरू घाटामा जान बाध्य भएका छन् । कागबेनी–कोराला सडक खण्डका ९७ किलोमिटर भाग कालोपत्रे गर्न ठेक्का प्रक्रियामा बाँकी रहेको छ भने तातोपानी खोला, दाना खोला, पाण्डा खोला र तान्ग्बे खोलामा पुल निर्माणको ठेक्का रद्द भएकाले पुनः सुरु गर्नुपर्ने देखिएको छ ।
छलफलमा संघीय सांसद योगेन्द्र गौचन थकाली, लोमन्थाङ गाउँपालिका अध्यक्ष टासी न्हर्वु गुरुङ, लोप्साङ छोम्पेल विष्टलगायतको सहभागिता थियो ।
FACEBOOK COMMENTS