काठमाडौं । एम्बार्क अनम्याथ प्रा. लि.ले आफ्नो एक वर्षे ‘उद्यमी गणित’ कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको घोषणा गरेको छ। कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी तयार गरिएको यो कार्यक्रमले परम्परागत गणित शिक्षालाई व्यावहारिक व्यापारिक तालिममा रूपान्तरण गरेको छ।
कार्यक्रमले गणितीय सिद्धान्तहरूलाई व्यापारिक सफलतासँग जोड्ने तरिका सिकाउने लक्ष्य लिएको छ। विद्यार्थीहरूले केवल गणितको सूत्र र सिद्धान्त बुझ्ने मात्र होइन, ती ज्ञानलाई लगानी विश्लेषण, वित्तीय योजना, बजार अनुसन्धान र डेटा व्याख्या जस्ता व्यावहारिक पक्षमा कसरी प्रयोग गर्ने भन्ने कुरा पनि सिक्नेछन्।
एम्बार्क अनम्याथ स्कूलका सह–संस्थापक दिवेश बठिजाले कार्यक्रममा बारेमा जानकारी दिंदै भन्नुभयो, “हामी यस प्रोग्राममार्फत विद्यार्थीहरूलाई गणित मात्रै सिकाइरहेका छैनौं, बरु व्यापारिक निर्णयहरूमा गणितले कसरी महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा सिकाइरहेका छौं।” उनले थप्दै भने, “हाम्रो उद्देश्य गुणस्तरीय शिक्षामार्फत नेपाललाई शैक्षिक गन्तव्यमा रूपान्तरण गर्नु हो। यसले प्रतिभाशाली विद्यार्थीहरूलाई देशमै रोकेर आर्थिक विकासमा योगदान दिनेछ।”
उद्यमी गणित कार्यक्रमले विद्यार्थीहरूलाई सामान्य कक्षाकोठामा सीमित नराखी विभिन्न विद्यालय भ्रमण गराउने व्यवस्था गरेको छ। कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले छवटा रणनीतिक विद्यालय भ्रमणमार्फत वास्तविक व्यापारिक चुनौतीहरूलाई गणितसँग जोडेर बुझ्नेछन्। यस प्रक्रियामा उनीहरूले स्टार्टअप मानसिकता, बजार विश्लेषण, प्रोटोटाइप निर्माणदेखि व्यापारिक योजना तयार पार्नेसम्मका सीप सिक्नेछन्।
यो कार्यक्रम आगामी डिसेम्बर २०२५ मा एम्बार्क कलेजमा आयोजना हुने स्टार्टअप फेस्टमा समापन हुनेछ। फेस्टमा विद्यार्थीहरूले आफ्ना व्यावसायिक योजना र उत्पादनहरू सार्वजनिकरूपमा प्रस्तुत गर्नेछन्।

हालसम्म संस्कृति इन्टरनेशनल स्कूल, युरो स्कूल हात्तीगौडा र आलोक विद्याश्रमजस्ता प्रतिष्ठित शैक्षिक संस्थानहरूले यो कार्यक्रम सञ्चालन गरिसकेका छन् र सकारात्मक नतिजा प्राप्त गरेको एम्बार्क अनम्याथले जनाएको छ।

उक्त कार्यक्रम लागू गर्न इच्छुक विद्यालयहरूले एम्बार्क कलेज परिसरभित्र रहेको एम्बार्क अनम्याथमा +९७७ ९७०७०८७९४४ नम्बरमा सम्पर्क गर्न वा info@embarkunmath.com मा इमेल पठाउन सक्ने व्यवस्था गरिएको छ।