काठमाडाैं ।आईएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ ।
यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।
यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ । मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने छ । यी दुई वालेट मर्जरमा जानुअघि झण्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए ।
ब्याज दिने एक मात्र वालेटका रूपमा चिनिएको आइएमई पे रेमिटेन्स, इनड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो भने खल्ती मूभि बुकिङ, इभेन्ट टिकटिङ र आफ्ना इनोभेटिभ फिचरका कारण युवापुस्तामा रुचाइएको थियो । अब यी दुवै वालेट मर्ज भएर आ(आफ्ना उत्कृष्ट सेवालाई अझ परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा प्रदान गर्नेछन् ।
साबिक आइएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आईएमई’ मा माइग्रेट हुने सुविधा उपलब्ध छ । यो प्रक्रियामार्फत आइएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन् । खल्ती प्रयोगकर्ताहरूले चाहिँ आफ्नो एप अपडेट गरी नयाँ अनुभव लिन सक्ने छन् ।
आइएमई पे- आईएमई ग्रुपअन्तर्गत सञ्चालन हुँदै आएको थियो । अर्कोतर्फ चार जना सह(संस्थापकद्वारा स्थापना गरिएको खल्तीमा पछि वर्ल्डलिंक, त्रिवेणी ग्रुपजस्ता कर्पोरेट लगानीकर्ताहरू आबद्ध भएका थिए । आइएमई डिजिटल सोलुसन्सका अध्यक्ष कृष्णप्रसाद शर्माले आइएमई पे र खल्तीबीचको मर्जरबाट बनेको आइएमई खल्ती लिमिटेडले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
खल्तीका अध्यक्ष मनोजकुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि मर्जर ऐतिहासिक कदम भएको र आइएमई खल्ती लिमिटेडले देशभर वित्तीय पहुँचको नयाँ युग सुरु गर्ने बताए ।
आईएमई खल्ती लिमिटेड का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजनाहरू रहेको जानकारी दिए ।
FACEBOOK COMMENTS