काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आईसीटी अवार्डको १०औं संस्करणको लागि अनलाइन नोमिनेशन (आवेदन) आज साउन १ गतेदेखि खुला भएको छ ।
सन् २०१६ देखि लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आईसीटी अवार्ड’मा यस वर्ष १५ विधाहरूमा अनलाइन नोमिनेशन खुल्ला गरिएको हो । नोमिनेशन आफैं स्वयम् वा अन्य उपयुक्त व्यक्ति वा सस्थाहरूलाई विधाअनुरूप सिफारिस समेत गर्न सकिनेछ ।
प्रविधि क्षेत्रका स्टार्टअप, इननोभेशन, प्रडक्टसँगै सरकारी तथा निजी संस्थाहरूका डिजिटल रूपान्तरणका प्रयासहरूलाई समेटेको छ । यसैगरी सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा पुर्याएको योगदानको आधारमा व्यतीहरूलाइ पनि यस अवार्डले सम्मान गर्ने गरेको छ ।
नेपालमा मात्र नभएर आईसीटी अवार्ड अन्तर्राष्ट्रियस्तरसम्म विस्तार भइरहेको छ । विगत ३ वर्षदेखि दक्षिण एसियाली देशहरूलाई लक्षित गरेर ‘साउथ एसिया स्टार्टअप अवार्ड’ पनि सन्चालन भइरहेको छ भने अन्य डब्ल्युएसए लगायत अन्य अन्तरास्ट्रिय अवार्डहरूसँग पनि यसको सहकार्य रहेको छ ।
६ महिनाको विशेष तयारी पश्चात आईसीटी अवार्डको ग्रान्ड फिनाले पुस पहिलो साता आयोजना हुनेछ । अनलाइन नोमिनेशन २५ बढी छनाेट प्रक्रियाको मिटिङ, दर्जनौं प्रि–इभेन्ट, टेलिभिजन शो लगायतको तयारी हुने ग्रान्ड फिनाले नेपालको सबैभन्दा ठूलो र भव्य अवार्ड समरोहको रूपमा आयोजना हुनेछ ।
१५ अवार्ड विधामा सर्वोत्कृष्ट छनेट गर्नको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट २० विज्ञ जुरी सदस्य रहनेछन् भने सरकारी र निजी क्षेत्रका सम्मानित १२ बढी व्यक्तिहरूको सल्लाहकार समिति गठन गरिनेछ ।
सन् २०१६ बाट सुरू भएको आईसीटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रूपमा आयोजना हुँदै आइरहेको छ । २ वर्षदेखि आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्ने गरी ‘प्रोभिन्सियल आईसीटी स्टार्टअप रिकग्निशन’ मार्फत सम्मान पनि गर्दै आइरहेको छ । यस वर्ष पनि सातै प्रदेशका स्टार्टअप र इननोभेशनलाई समेट्नेगरी स्टार्टअप फेस्ट, ह्याकाथन र टेलिभिजन शो पनि सञ्चालन हुनेछ ।
अवार्डमा क्याटेगोरी ए अन्तर्गत स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इननोभेशन आईसीटी अवार्ड र सोसल इन्नोभेशन आईसीटी अवार्ड विधाहरू रहेका छन् । यी विधाहरूमा स्वयम् प्रतिस्पर्धी आफैंंले आवेदन दर्ता गर्नुपर्नेछ ।
क्याटेगोरी बी अन्तर्गत आईसीटीमार्फत समाज र राष्ट्रको लागि पुर्याएको योगदानको आधारमा अवार्डमा आवेदन लिने गरिन्छ । यस विधाअन्तर्गत पायोनियर आईसीटी अवार्ड, प्रोफेशनल एक्सिलेन्स आईसीटी अवार्ड, आन्टरप्रेनर्स आईसीटी अवार्ड, वुमन आइकन आईसीटी अवार्ड र नेपाली डायस्पोरा आईसीटी अवार्ड विधाहरू रहेका छन् । यी विधाहरूमा स्वयम् आफैं वा अरू कसैले पनि व्यक्तिको विवरण उल्लेख गरेर नोमिनेशन दर्ता गर्न सकिने छ ।
यसैगरी क्याटेगोरी सी अन्तर्गत सरकारी र निजी संस्थाहरूको डिजिटल रूपान्तरण तथा यसको लागि भएका प्रयास र अभ्यासहरूलाई हेरेर नोमिनेशन लिइने छ । यस अन्तर्गत डिजिटल गभर्नेन्स आईसीटी अवार्ड, डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल सर्भिसेस आईसीटी(इन्टरप्राइज सेक्टर) र डिजिटल सर्भिसेस आईसीटी (नियो सेक्टर) अवार्ड विधाहरू रहेका छन् ।
यस्तै क्याटोगोरी डी अन्तर्गत रहेको साउथ एसिया स्टार्टअप आईसीटी अवार्डमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, नेपालका, अफगानस्थानका स्टार्टअपहरूले आवदेन दिन सक्ने छन् ।
यी सम्पूर्ण अवार्ड विधाहरूमा आजैदेखि अनलाइन आवेदन खुला भएको छ । अवार्डको आधिकारिक वेबसाइट ictaward.org बाट अनलाइन नोमिनेशन दर्ता गर्न सकिने आयोजक लिभिङ विथ आईसीटीले जानकारी दिएको छ । नोमिनेशन साउन ३१ गतेसम्म खुला रहने छ ।
आईसीटी अवार्डमा आवेदन दिने विधि र प्रक्रियाहरू–
आईसीटी अवार्ड २०२५ मा १५ विधामा अनलाइन नोमिनेशन खुल्ला गरिएको छ । सबै विधामा उत्कृष्ट छनैटको लागि २० जना विज्ञ जुरी सदस्यहरूमार्फत कम्तीमा ५ चरणको छनैट प्रक्रिया सञ्चालन गरिने छ–
१. स्टार्टअप आईसीटी अवार्ड २०२५
आईटी प्रडक्ट, सर्भिस तथा इननोभेशन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाइ प्रवर्द्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ५ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।
२. प्रडक्ट आईसीटी अवार्ड २०२५
आईसीटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह वा व्यक्तिले विकास गरेको आईटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ । वि.सं. २०८१ सालदेखि २०८२को असारसम्म सार्वजनिक भएका आईटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ ।
३. राइजिङ स्टार इननोभेशन आईसीटी अवार्ड २०२५
राइजिङ स्टार इननोभेशन आईसीटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाहरूको इन्डस्ट्री प्रोजेक्ट रिसर्च, आइडिया, इननोभेशन तथा प्रडक्टहरूलाई लिएर नोमिनेशन दर्ता गर्न सकिनेछ ।
४. सोसल इन्नोभेशन आईसीटी अवार्ड २०२५
सोसल इन्नोभेशन आईसीटी अवार्ड सामाजिक क्षेत्रमा भइरहेका इन्नोभेशनलाई प्रवर्द्धन गर्नको लागि हो । जुन इन्नोभेशन तथा डिजिटल इनिसिएटिभ्सले समाज र राष्ट्रको लागि सकारात्मक प्रभाव पारिरहेका छन्, उनीहरूले यसमा आवेदन दिन सक्नेछन् । सरकारी सस्था, विकास साझेदार, सामाजिक संस्थाहरू लगायत उद्यमीहरूले विकास गरेर विगत ५ वर्षदेखि प्रयोगमा ल्याइरहेका इननोभेशनहरूलाई यसमा विधामा समावेश गरिनेछ ।
५. प्रोफेशनल एक्सिलेन्स आईसीटी अवार्ड २०२५
प्रोफेशनल एक्सिलेन्स आईसीटी अवार्ड विधामा आईसीटी क्षेत्रसँग सम्बन्धित रहेर कम्तीमा ५ वर्षको अनुभवसँगै आईसीटी क्षेत्रका विभिन्न टेक डोमेनहरूमा पुर्याएको योगदान, विज्ञता र कामको आधारमा सम्मान गरिने यस विधामा जो कोही आईटी प्रोफेशनलले आवेदन दिन सक्नेछन् ।
६. पायोनियर आईसीटी अवार्ड २०२५
यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाई प्रदान गरिन्छ । यस विधामा कम्तीमा २० वर्ष बढीको योगदान र कामको आधारमा आवेदन दिन सकिनेछ ।
७. नेपाली डायस्पोरा आईसीटी अवार्ड २०२५
नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि आईसीटीको माध्यमबाट नेपालको डिजिटल इकोसिस्टम, समाज र राष्ट्रको लागि पुर्याएको योगदानको आधारमा यस विधामा नोमिनेशन दर्ता गर्न सकिनेछ ।
८. अन्टरप्रेनर आईसीटी अवार्ड २०२५
अन्टरप्रेनर आईसीटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइने छ । नोमिनेशनको लागि आईसीटी उद्यमीको रूपमा कम्तीमा ७ वर्षको अनुभव आवश्यक पर्नेछ ।
९. वुमन आइकन आईसीटी अवार्ड २०२५
वुमन आइकन आईसीटी अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेशनल तथा आईसीटीको क्षेत्रमा उदाहरणीय काम गरेका महिलाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् ।
१०. डिजिटल गभर्नेन्स आईसीटी अवार्ड २०२५
यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्दै नागरिकलाई सहज, सरल किसिमले प्रविधिमैत्री सेवा दिन प्रयासरत सरकारी सस्था, प्राधिकरण, विभाग, निकाय वा स्थानीय पालिकाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् ।
११. डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिक सेक्टर) २०२५
डिजिटल एजुकेशन आईसीटी अवार्ड आईसीटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउँदै शिक्षण सिकाइ तथा व्यवस्थापनमा उदाहरणीय काम गरेका सरकारी तथा सामुदायिक शैक्षिक संस्थाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् ।
१२. डिजिटल एजुकेशन आईसीटी अवार्ड (प्राइभेट सेक्टर) २०२५
डिजिटल एजुकेशन आईसीटी अवार्ड आईसीटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउँदै शिक्षण सिकाइ तथा व्यवस्थापनमा उदाहरणीय काम गरेका निजी शैक्षिक संस्थाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् ।
१३. डिजिटल सर्भिसेस आईसीटी अवार्ड २०२५ (इन्टरप्राइज सेक्टर)
यस विधामा निजी क्षेत्रका कर्पोरेट संस्थाहरू, लिमिटेड वा कम्पनीहरूले सर्वसाधारणलाई दिने सेवाहरूको आधारमा अवार्डको नोमिनेशनमा सहभागी हुन सक्नेछन् ।
आफ्नो परम्परागत सेवा प्रणालीलाई आधुनिकीकरण गर्दै प्रविधिमार्फत सेवा दिने लक्ष्यसाथ केन्द्रित रहेका कम्पनी, बैंक तथा वित्तीय सस्थाहरू, अस्पताल तथा स्वास्थ केन्द्रहरू, इन्स्योरेन्स, कर्पोरेट लगायतका संस्थाहरूले अवार्डको लागि प्रक्रियामा सहभागी हुन सक्नेछन् ।
१४. डिजिटल सर्भिसेस आईसीटी अवार्ड २०२५ (नियो सेक्टर)
यस विधामा प्रविधिमा आधारित डिजिटल प्लेटफर्म (डिजिटल सिस्टम, एप्लिकेशन, वेबसाइट) मार्फत प्रदान गरिने सेवाहरूले आवेदन दिन सकिनेछ । परम्परागतभन्दा फरक प्रविधिमा आधारित रहेर सर्वसाधारणलाई सेवा प्रदान गर्ने निजी कम्पनी तथा संस्थाहरूले अवार्डको नोमिनेशन प्रक्रियामा सहभागी हुन सक्नेछन् ।
१५. साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२५
यस विधामा दक्षिण एसियाली देशहरू भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, अफगानिस्तान र नेपालका स्टार्टअपहरूले सहभागिता जनाउन सक्नेछन् । ५ वर्षसम्मका स्टार्टअपहरूले यस विधामा नोमिनेशन दर्ता गर्न सकिने छ ।
यी अवार्डका विधाहरूसँगै सातै प्रदेशका स्टार्टअपहरूका लागि पनि बुटक्याम्प, प्रदर्शनी र प्रदेशको उत्कृस्ट स्टार्टअपको सम्मानका लागि पनि आवेदन खुला गरिने छ । अवार्डको नोमिनेशनका लागि आधिकारिक वेबसाइट ictaward.org मा लगइन गरी उल्लेखित विवरणहरू समावेश गरेर फारम बुझाउनु पर्नेछ ।
FACEBOOK COMMENTS