काठमाडौँ – कार्यक्रममा बोल्दै अनेरास्ववियूका संयोजक ऐन महरले निजी विद्यालयहरुले अहिले अनलाईन कक्षाहरु बन्द गरेर गैरजिम्मेवारीपन र उदासिनता देखाएको आरोप लगाएका छन् । ‘प्याव्सन र एनप्याव्सनको निर्णयले लाखौं विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । राज्यले यसको उपाय र समाधान खोज्नेछ भन्ने विश्वास छ ।’–उनले भने ।
संविधानले निजी विद्यालयहरुलाई नचिन्ने उनको टिप्पणी छ । उनले भने,‘हामी त विद्यार्थीहरुको पक्षमा छौं । उनीहरुलाई शिक्षाबाट बञ्चित गर्ने काम नहोस् । हामीले अहिलेको सबै समस्यालाई एउटै बास्केटमा राखेर एकीकृत समाधान निकाल्नुपर्छ भनिरहेका छौं । अर्थमन्त्री र शिक्षामन्त्रीको कुरा सुन्दा मैले उहाँहरुलाई यो समस्याप्रति पोजिटिभ पाएको थिएँ ।’
निजी विद्यालय सञ्चालकहरुका कतिपय मागहरु संवदेनशील रहेकोले यी समस्याहरु समाधानको लागि राज्यले पहलकदमी लिनुपर्नेपनि महरको जोड छ । उनले भने,‘उहाँहरुको विद्यालय घरभाडाको समस्या, लोन लिनुभएको छ, त्यसको व्याजको समस्या, यी समस्या समाधान हुनुपर्छ ।’ उनले अनलाईन शिक्षा अविलम्ब सुचारु हुनुपर्ने माग गरे । उनले भने,‘अनलाईन कक्षाहरु निरन्तर हुनुपर्छ, प्याव्सन र एनप्याव्सनले आफ्नो निर्णय फिर्ता लिनु्पर्छ । विद्यार्थीहरुलाई शिक्षा लिनबाट बञ्चित गरेर तपाईहरुले के गर्न खोजेको हो ? यसले समाजलाई बिर्गाछ ।’
उनले शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुले विद्यालय सञ्चालकहरुसँग चन्दा असुल्ने गरेको भनेर लगाएको आरोपको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको जिकिर गरे । र, यदि संगठनका कोही कसैले यस्ता गलत काम गरेको पाईए कडा कारबाही गर्ने पनि उनले चेतावनी दिए । उनले भने,‘हामी चन्दा र आर्थिक सहयोग लिँदैनौं । यदि हाम्रो संगठनका कोही नेता तथा कार्यकर्ताहरुले लिएको पाईए कारबाही गर्छौं । त्यसरी चन्दा दिने निजी शैक्षिक संस्थाहरुलाई पनि छोड्दैनौं ।’
उनले नेपालमा विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो भन्नु गलत हुने टिप्पणी गरे । उनले भने,‘अहिले यो कोभिडको महामारीका कारण हामी सडक मुभमेन्टमा छैनौं । तर, हामीले गर्नुपर्ने खबरदारी र पहलकदमी गरिरहेकै छौं । लकडाउनका कारण पठनपाठन नहुँदा र परीक्षा कार्यतालिका सारिँदा विद्यार्थीहरु धेरै मानसिक समस्यामा परेको कुरापनि यहाँ पत्रकार मित्रले भन्नुभयो, यो ईस्युलाई हामीले गम्भीर रुपमा लिएका छौं । यसको समाधानको लागि पनि पहल गर्छौं ।’ उनले विद्यालयहरुले अनावश्य शुल्क तिर्न र टर्चर दिनु अपराध भएको उल्लेख गर्दै त्यस्तो कार्य तत्काल बन्द गर्न पनि आग्रह गरे ।
FACEBOOK COMMENTS