काठमाडौँ , श्रावण ४- बर्दीको आडमा श्रीमतीको जघन्य हत्या गरेका सशस्त्र प्रहरीका पूर्वडीआईजीलाई प्रधानन्यायाधीश सम्मिलित सर्वोच्च अदालतको संयुक्त इजलासले भारी कैद छुट दिएको छ । श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी रञ्जन कोइरालालाई जन्मकैद हुने सजाय घटाएर सर्वोच्च अदालतले साढे आठ वर्ष मात्रै कैद सजाय सुनाएको हो । सर्वोच्चले असार दोस्रो साता गरेको फैसलाका आधारमा कोइराला आगामी साता कैदमुक्त हुँदै छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको काममा ‘आवेश’ देखिएको र घरमा बालबच्चाको संरक्षणको मानवीय पक्ष पनि जोडिएको भन्दै कैद मिनाहाको राय सुनाएको हो । फैसलामा भनिएको छ, ‘आमाको मृत्युपछि नाबालक छोराहरूको हेरचाह, संरक्षण र शिक्षादीक्षामा अभिभावकविहीनताको कारणले अनिश्चय र अन्योलता हुन गएकाले उनीहरूको हितमा समेत प्रभाव पर्न जाने कारण जन्मकैदको सजाय चर्को पर्न जाने हुँदा आठ वर्ष ६ महिना कैद सजाय गर्दा सजायको उद्देश्य पूरा हुने देखिएको ठहर्छ ।’
सर्वोच्चले धकेलाधकेलमा रञ्जनकी श्रीमती गीता ढकालको मृत्यु भएको भन्दै आवेशमा आई गरेको रिसबाट हत्याको अवस्था देखिएको भनी व्याख्या गरेको हो । नियोजित हत्याभन्दा आवेश र आक्रोशमा हुने हत्यामा कम सजाय गर्ने फौजदारी न्यायको सिद्धान्त हो ।
FACEBOOK COMMENTS