मौद्रिक नीतिले लगानीकर्ता उत्साहित हुँदा सेयर बजार उच्च अंकले वृद्धि
काठमाडौँ — चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भएपछिको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ८४.२६ अंक बढ्यो । मौद्रिक नीतिका कतिपय व्यवस्था बजारमैत्री भएकाले लगानीकर्ता उत्साहित भएपछि बजार उच्च अंकले बढेको हो ।
बजार खुलेदेखि नै उच्च वृद्धिको गतिमा रहेको नेप्से १२:०८ बजे बन्द भयो । ११ देखि खुलेर १२:०८ बजे बजार बन्द भए पनि त्योबीचमा ८ मिनेट २२ सेकेन्ड मात्र लगानीकर्ताले सेयर किनबेच गर्न पाए । यसको अर्थ आइतबार ८.२२ सेकेन्डमा मात्र नेप्से ८४.२६ अंकले बढेको हो । सम्भवतः छोटो समयमै यति धेरै अंकले बजार बढेको हालसम्मकै उच्च भएको जानकारहरू बताउँछन् ।
हरेक दिन बजार खुल्दा अघिल्लो दिनको बन्द मूल्यभन्दा ५ प्रतिशत घटबढ गरी कारोबार गर्न पाइन्छ । तर आइतबार सो अवधिमा १९ प्रतिशतले बजार बढिसकेको थियो । यसको अर्थ लगानीकर्ता कतिखेर बजार खुला र कारोबार गरौंला भनेर आतुर थिए भन्ने हो । मौद्रिक नीति सेयर बजारमैत्री भएपछि लगानीकर्ताको उत्साह अकासिएको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए ।
‘मौद्रिक नीतिका व्यवस्थाबाहेक पनि अधिक तरलताका कारण बैंक तथा वित्तीय संस्थाबाट एकल अंकको ब्याजदरमा कर्जा पाइन थालेको छ,’ उनले भने, ‘तत्कालको अवस्थामा लगानी गर्ने अन्य राम्रो क्षेत्र छैन । मौद्रिक नीतिमा बजारलाई सपोर्ट गर्ने कार्यक्रम आए ।’ मौद्रिक नीतिले सेयरबजारमा सकारात्मक प्रभाव पार्ने विभिन्न व्यवस्था गरिएकाले बजारमा सकारात्मक प्रभाव पारेको बताइएको छ । सेयर बजारमा सकारात्मक प्रभाव पार्ने मौद्रिक नीतिका कार्यक्रम यस्ता छन् । पहिलो, अब सेयर धितो राखेर कर्जा लिँदा सेयर मूल्यको ७० प्रतिशतसम्म ऋण लिन पाइन्छ । यसअघि यस्तो सीमा ६५ प्रतिशत थियो । यो व्यवस्थाले पहिलेभन्दा धेरै कर्जा पाइन्छ ।
दोस्रो, ‘सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्यांकन गर्दा विद्यमान १ सय ८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ, त्यसैका आधारमा गर्नुपर्ने व्यवस्था परिवर्तन गरी १ सय २० दिन कायम गरिएको छ,’ मौद्रिक नीतिमा भनिएको छ । यो व्यवस्थाले पनि सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा २ देखि ३ प्रतिशतसम्म ऋण लिने क्षमता वृद्धि हुने अनुमान गरिएको छ । यसले पनि बजारमा सकारात्मक प्रभाव परेको जानकारहरू बताउँछन् ।
तेस्रो, मौद्रिक नीतिमा कर्जा निक्षेप तथा पुँजी अनुपात ९सीसीडी० सीमा ८५ प्रतिशत पुर्याइएको छ । यो व्यवस्थाले बैंकको कर्जा दिने क्षमता बढ्छ । बैंकसँग पर्याप्त क्षमता भएपछि सबैभन्दा छिटो र महँगो ब्याजदरमा कर्जा जाने सेयर बजार नै हो । यसकारण बजार उच्च अंकले बढेको हो ।
चौथो, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरणमा कडाइ गरेको छ । जसमा यो आर्थिक वर्ष बैंकले वितरणयोग्य रकमको बढीमा ३० प्रतिशत मात्र वितरण गर्न पाउँछन् । नगद वितरण गर्न नपाइपछि बैंकले सेयरधनीलाई बोनस सेयर वितरण गर्नुपर्छ ।
बोनस सेयर आउने आसले पनि लगानीकर्ता बजारमा धेरै आकर्षित हुनेछन्, जुन बजार वृद्धिको अर्को कारण हो । पाँचौं, यो वर्ष पनि राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनमा जाने वित्तीय संस्थालाई थप सुविधा दिएको छ । सुविधाकै कारण मर्जरमा वित्तीय संस्थाको वित्तीय अवस्था राम्रो हुने अनुमान गरिएको छ । वित्तीय अवस्था राम्रो भएपछि आकर्षक लाभांश तथा प्रतिफलको आसमा लगानीकर्ता उत्साहित भएका हुन् । मौद्रिक नीतिअघि नै राष्ट्र बैंकले सेयर कारोबारमा लाग्दै आएको १० लाखको सीमा हटाएको छ ।
हाल कनेक्ट आईपीएसमार्फत सेयर कारोबारको भुक्तानी गर्दा जति रकमको पनि सेयर किनबेच गर्न सकिन्छ । यसले पनि बजारमा सकारात्मक प्रभाव परेको बताइएको छ । आइतबार सकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको छ । कारोबार सुरु भएको पहिलो सवा १ घण्टामा नेप्से ६ प्रतिशत बढेपछि सकारात्मक सर्किट ब्रेकरमार्फत सो दिनको कारोबार बन्द गरिएको हो ।
आइतबार बजार खुलेदेखि नै उच्च दरले नेप्से बढ्न थालेको थियो । यही कारण १२ः८ बजे ८४।२६ अंक बढ्यो । योसँगै समग्र नेप्से १ हजार ४ सय ७९।०३ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा ६।०४ प्रतिशतले बढी हो । सो दिन बजार ४ मिनेटले बढ्दा २० मिनेट, त्यसपछि ५ मिनेटले बढ्दा ४० मिनेट र पछि ६ प्रतिशतले बढ्दा दिनभरकै लागि सर्किट ब्रेकरमार्फत कारोबार बन्द गरिएको हो । जम्मा १ घण्टा ८ मिनेट बजार खुलेपछि करिब ८ मिनेट मात्र कारोबार भएको हो ।
सो अवधिमा नेप्सेमा ६ सय ६३ वटा कारोबारमा १ सय ११ कम्पनीका १ लाख ८० हजार ६ सय कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ करोड २५ लाख ६६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सो दिन कारोबारमा आएकामध्ये प्रायः सबै समूहको उपसूचक बढेका छन् । नेप्सेको वर्गीकरणमा ‘क’ वर्गका कम्पनीका सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ५।८९ प्रतिशत र व्यापारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक ६।२२ प्रतिशतले बढे । सो दिनको कारोबारमा सेयर बजारको आकार ९कुल बजार पुँजीकरण० १९ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको छ ।
साना कम्पनीका सेयर कारोबार गर्न छुट्टै ‘प्लेटफर्म’
अब दोस्रो बजारमा साना तथा मझौला उद्यम (एसएमई) कम्पनीका सेयर कारोबारका लागि छुट्टै कारोबार प्रणाली ९प्लेटफर्म० बनाइने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आइतबार धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सानो पुँजी, कम सेयर र कम सेयर धनी भएका कम्पनी छनोट गरी तिनको सेयर कारोबारका लागि एसएमई प्लेटफर्म बनाइने जानकारी दिए ।
अहिले तीनै कम्पनीको सेयरमा ‘कर्निरिङ’ गरी सेयर बजारमा चलखेल हुँदै आएको निष्कर्षका आधारमा उक्त व्यवस्था गर्न लागिएको हो । ‘अब ती कम्पनीको सेयर कारोबार मुख्य कारोबार प्रणालीमा नहुने भएपछि, चलखेलको सम्भावना हुँदैन,’ उनले भने, ‘यसले चलखेलमार्फत हुँदै आएको बजारमा अस्वाभाविक घटबढ नियन्त्रण गर्छ ।’ हाल दोस्रो बजारमा सूचीकृत केही कम्पनीको सेयर सीमित व्यक्तिको पहुँचमा मात्र छ । दैनिक खरिद–बिक्रीमा ती सेयर आउँदैनन् । आइहाले नियोजित तरिकाले ९बजार बढाउन वा घटाउन० आउने गरेका छन् । यसले बजारमा कारणबिनै कहिले उच्च वृद्धि त कहिले गिरावट हुने गरेको छ । यस्तो प्रवृत्ति नियन्त्रणका लागि ‘एसएमई प्लेटफर्म’ को स्थापना गरी छुट्टै कारोबार हुने व्यवस्था गर्न लागिएको हो । ‘साना तथा मझौला कम्पनीका लागि छुट्टै कारोबार हुने गरी एसएमई प्लेटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मुख्य बोर्ड ९मेन बोर्ड० को व्यवस्था गर्नका लागि नेप्सेलाई सहजीकरण गर्ने,’ सेबोनको नीति तथा कार्यक्रममा भनिएको छ ।
हाल कारोबार भएको तीन दिन (टी प्लस थ्री) भित्र राफसाफ तथा फर्छ्योट हुने व्यवस्था परिमार्जन गरी ‘टी प्लस टु’ मा झार्ने तयारी पनि सेबोनले गरेको छ । ‘नेप्सेको कारोबार प्रणालीलाई धितोपत्रका लगानीकर्ताको बैंक खाता तथा डिम्याट खातासँग आबद्ध गर्ने, धितोपत्र कारोबार राफसाफ तथा फर्छ्योट प्रणाली टी प्लस टुमा हुने तथा नेप्सेको कारोबार प्रणाली (टीएमएस) लाई प्रभावकारी बनाउने,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
सेयर कारोबारलाई अन्तर्राष्ट्रियस्तरको बनाउन विभिन्न संघसंस्थासँग सहकार्य गर्ने, पुँजी बजारसम्बन्धी आवधिक रणनीतिक योजना तयार गरी लागू गर्ने, वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी स्थापना गर्न अनुमति दिने र वस्तु कारोबार व्यवसायीलाई अनुमतिपत्र दिने नीति पनि बोर्डले अघि सारेको छ । वस्तु विनिमय बजार सञ्चालन गर्ने र त्यसका लागि वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी र वस्तु कारोबार व्यवसायीलाई अनुमति दिने विषय पुरानै हो । वस्तु विनिमय बजार सञ्चालनका लागि सरकारले सेबोनलाई जिम्मा दिएको धेरै वर्ष भइसक्दा पनि न त कुनै कम्पनीले अनुमति पाएका छन् न त पुराना कम्पनीको कारोबार रोकिएको नै छ ।
धितोपत्र केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाउने, सूचीकृत सरकारी ऋणपत्रको पूर्ण रूपमा अभौतिकीकरण गरी सरकारी ऋणपत्र तथा संस्थागत ऋणपत्रको दोस्रो बजार कारोबार हुने व्यवस्था मिलाउने, धितोपत्र व्यापारी ९स्टक डिलर० लाई अनुमति दिने, विशिष्टीकृत लगानी कोष सञ्चालन अनुमति दिने कार्यक्रम पनि सेबोनको नीति तथा कार्यक्रममा परेका छन् ।
धितोपत्र ब्रोकरले लगानीकर्ताको घरघरमा गएर पनि सेवा दिन पाउने व्यवस्था गर्न लागिएको छ । यसका लागि सम्बन्धित क्षेत्रमा ब्रोकरले आफ्नो आधिकारिक प्रतिनिधि ९एजेन्ट० राख्न पाउने छन् । ती प्रतिनिधिमार्फत लगानीकर्तालाई ब्रोकरेज सेवा दिन सकिनेछ । केन्द्रीय तथ्यांक भण्डारणसम्बन्धी सफ्टवेयर विकास गरी तथ्यांकको नियमित प्रशोधन तथा अभिलेख राख्ने व्यवस्था गर्ने र बोर्डको आन्तरिक कार्य प्रणालीलाई प्रविधिमैत्री बनाउन आवश्यक सफ्टवेयर खरिद तथा विकास गर्नेलगायत काम पनि सेबोनले अघि सारेको छ ।
-यज्ञ बञ्जाडे (कान्तिपुर दैनिक)
FACEBOOK COMMENTS